tag:blogger.com,1999:blog-81141804703145758772024-03-08T06:21:16.740-08:00शब्दखेलप्रवीण राई जुमेलीका कथाहरुPravin Rai Jumelihttp://www.blogger.com/profile/11540945451909399270noreply@blogger.comBlogger7125tag:blogger.com,1999:blog-8114180470314575877.post-8661362350152714592011-05-11T03:10:00.000-07:002011-05-11T03:10:15.714-07:00खेलिबस्छु खेल कति‘ढ्वाङ्SSS’

बजेको सुन्छु बजारिएको स्वर निकाल्दै एउटा ठूलै ढुङ्गा, छानामा। वर्षौंदेखि त्यसमुनि निद्रा, सुरक्षा र साइनोको भ्रान्तिमा अल्मलिँदै बाँचेको तीन प्राणी नराम्रै घतले तर्सिन्छौं। आँगनको कुकुर त अचानक भुकिउठ्ने भो नै।

दैलो खोलिएर पल्लो कोठाको, स्वर उछिटिन्छ आँगनमा, ‘को हौ?’, बाबुको।

चकमन्नता।

कुकुरलाई थाहा छैन, मानिसले त्यसको पुर्खालाई इमान्दारिताको परम्परित शब्दले बाँधिदिएको छ भनेर। त्यसकारण नै तर आफ्नो भुकाइको स्वर सडक र बारीभरि छरिदिएको होइन त्यसले। नत्र त जब हीनता र नगण्यताको प्रतिकस्वरुप कसैलाई ‘कुकुर’ पुकारिन्छ – त्यसको स्मृतिबोधले नै पनि त्यो मानिसप्रति उग्र र विद्रोही बन्नपर्ने हो। यसो भनौं, भुकाइ एउटा सुरक्षाबोध मानिसको लागि दुइ गाँस जुठोसित साटिएको।

मुटुको रोगी आमा खोकेकी स्वर कुकुरको चर्को भुकाइसित मिसिँदै विलिन भएको सुन्छु। हान्नेले मान्छेतिर पो ताकिदिन्छ कि कतै? आशङ्काले आँगनमा पुऱ्याउँछ बाबुको स्थिति हेर्न। त्यस्तो तर केही छैन।

एउटा उपकथा जोडौं, यस्तो:

एक. भौतिक दुःखवादको सङ्घर्षमा होमिएर आमा-बाबुले हामी छोरा-चोरीलाई शिक्षाको उज्यालो भ्रमतिर धकेले। जीवनयापनको युक्तिस्वरुप उनीहरुलाई र आफैलाई पनि सघाउन चाकरीको दहमा हाम फाल्यौं।

दुइ. सामाजिकता शिक्षितको प्रकार्य हो – सन्देशहरु बुद्धी कोट्याउँथ्यो। अबुद्धिको ऋक्थ बिसाउन सक्रियताको उत्स जगायौं। गाउँ, संस्कृति र राजनीतिको वैशाखीले दुरी केही हिंड्यौं।

तीन. दृश्यका हेत्वाभासहरु कतिपय दुःख्दो अनुभूत गर्छौं। लेखनको युक्तिले हल्का बन्न खोजियो।

अहा अनेकौं लप्काहरु यतै ओइरियो। नवपरिभाषावादीहरु पनि अचुक शब्द-संज्ञाहरुको पगरी लिएर उभिए। गायकहरुको कब्बालीमा थपिएको शब्दले दरबारै उचाल्यो। (उपकथाको समाप्ति)

आफ्नो एक अन्तर्वार्तामा किन उल्टो सोद्धछन् त मिलन कुन्देरा – ‘व्हाट पस्सिबिलिटिज रिमेन फर म्यान इन अ वर्ल्ड व्हेर दि एक्सटर्नल डिटरमिनेन्ट्स ह्याव सो ओवरपावरिङ द्याट इन्टर्नल इम्पल्सेस नो लङ्गर क्यारी व्हेट?’ त्यसैमाथि इन्द्रबहादुर राई भारी चिठ्याउँछन् – ‘व्यवगारिकताको खण्डित जीवन बाँच्न बाध्य छौं होला, स्थूल एक स्थितिमा बाँधिएर बित्दछौं।’ ज्ञानको विपना पाउन समय बित्दै जान्छु म चाहिँ।

को हुनसक्छ त दुश्मन हाम्रो? स्मृतिको रुढले गलाउँदै लान्छ मलाई पनि। सोंच्दाको गहिरोभित्र अनेकौं सम्भावित दैलाहरु खोलिन्छ। केलाउँदा केस्रा सबै दिक्क होला, नजाऔं त्यतातिर।

नजिक आउँदैगरेको बोध थियो कुनै चुनाउ। एकार्कामा ढुङ्गा-मुडा र लाञ्छना लगाउने वैश्वीकृत खेलमा होमिएका थिए पक्ष र प्रतिपक्षहरु। स्मृतिमा मेरो पनि त्यो बोझ छँदैछ। यसो भनौं – स्मृतिले नै मानिसको वर्तमानमा ठूल्ठूला खेलहरुको आयोजन गरिरहेको हुन्छ सधैँ। हाम्रो क्रियाकलापहरुको आधार नै त्यही स्मृति – जोडिएको छ जो परम्परासित। यसैले नयाँको अवधारणा पनि भ्रम मात्र। आविष्कारको उद्घाटनमा छक्कहरेको त ज्ञान नै मानिसको।

पेटमा अचानकनै एउटा चल्मल थाहा पाउँछु यतिखेर नै। असीम पीडाको बोधसँगै वरपर र घचेटिँदै पनि उँभो मुखतिरै आइरहेको – ‘केही’। केहीक्षणमै एउटा स्वरुप मुख च्यात्दै छाद्छु ‘ह्वाल्ल’। झण्डै बेहोसिएको अवस्थामा देखिरहन्छु त्यो स्वरुप अर्थात प्र.लाई, जो मभित्र मेरै रगत पिएर बाँच्छ र मसँगसँगै घटबढ हुँदै गइरहन्छ। अनि यस्तै एकान्तमा मलाई उसको भ्रमको सास्ती दिन बाहिर आउँछ।

यो प्र. काफ्काको उपन्यास (दि क्यासल)को पात्र जोजफ के. भन्दा फरक छैन, जो भ्रमको सञ्जालभित्र आफ्नो हास्यात्मक खेलको साक्षी हो। यो भनाइ ‘मनुष्य हुइ अस्तितवमानतामा छ : व्यष्टि र मानिस। व्यष्टिपक्षको र मानिसपक्षको अन्तर्क्रियात्मक सामग्रिकता छौं प्रत्येक मानिस’ (इन्द्रबहादुर) – मा व्यवहारिक कति छु होला यो उपकथा बाँच्दा?

‘कसले अह्रायो कथा लेख्न तिमीलाई?’ भित्तामा झुण्डिएको तौलिया उठाएर अनुहारको रगत पुछ्दै सोध्छ उसले।

म बोल्ने तरान खोजिरहेको हुन्छु।

‘कथा लेखिनँ - लाग्छ तिमीलाई? यो के हो?’ कागजको पन्नाहरु उठाउँदै भन्छ उसले, कथा कहिल्यै नपत्याउनू–लाई पढेको छौ कतै?’

कथाहरु उहिल्यैदेखि लुकेर बसेको छ – नलेखिनुको कालो भित्तापछाडि। लेखिनु त उद्घाटन मात्र। साधारण बोधले छाम्न नसकेको कथाहरु, उत्कृष्टताको उचाइ त लेखकीय बुद्धिवेगको छल मात्र? नपत्याइनुलाई पनि हुनपऱ्यो बस्तुको अस्तित्वमा कथारुप। कवितालाई लिएर चेक कवि जेन स्केसल यो के भन्छन्? सुनौं :

पोएट्स डोन्ट इन्वेन्ट पोएम्स

दि पोएम इज् समव्हेर बिहाइन्ड

इट्स बिन देयर फर अ लङ्ग-लङ्ग टाइम

दि पोएट मियरली डिस्कवर्स इट।

अन्ततः भन्छु प्र.लाई यसो, ‘बाँचिरहेको व्यवहारिकताकै स्मृतिमा प्राप्त छ आवेगक्षेत्र लेखनको। चिमोट्दा दुःख्छ, दुःखेकोले पिरोलिन्छु – अभ्रान्ति त्यै होला लेखिनलाई अनेकौं भ्रान्ति। घटनाहरु साना-ठूला अभ्रान्ति सबै – त्यो अनिश्चिततालाई निश्चितता लेख्नु मात्र भ्रान्ति।’

हाँस्छ मात्र प्र. यहाँ।

‘तिर्खाएको छु म, भोकाएको पनि’, भन्दै किताबको अम्मारीतिर गइरहेको देख्छु उसलाई।

‘थालभरि अक्षर पस्केर बस्छ उ, भन्दै, हो, भ्रमकै लागि पनि लेखिरहन पऱ्यो। तब पो अन्यले पनि भ्रमलाई देख्नसक्छन्।’ गीत पनि गुन्गुनाउँदै हुन्छ उ। गुन्गुनाएर मौन हन्छ फेरि।

सत्य त भोक पो रहेछ मानिसको। शब्दका अरबपतिहरुले यहाँ बनाएका रहेछन् भलभलैया असिम। शब्दहरुले आफ्आफ्नै आनुभूतिक प्रक्षेपहरुको चक्रव्यूह बुनिएको भ्रम छ। आफ्आफ्नो ज्ञानको अहम आफ्आफ्नै शाब्दिक अडान, अहा! तर जो अन्य शब्दहरुको सहयोगबिना अर्थवान् हुँदैन। विचार वा अनुभूतिको तीव्रताले आकार खोज्ने होड गर्छ – अर्थ स्मृतिमा जडित छ तमाम शब्दहरु डोको-डोकोमा। सम्वेदन वा बोधको अमूर्तता त्याग्दै शब्दहरुले शब्दसित मिली स्वरुपको संसार एउटा रचिदिन्छ। सोंच्छु।

‘लेखक नहुनुको कस्तो होला आनन्द?’ आफैलाई सोधे झैं गर्छु म।

उसले पनि उल्टा सोध्छ, ‘सोंच्छौ किन त्यस्तो अमेलता?’

‘बोँचेको बोध गर्न’, भनिदिन्छु, ‘मेरो पनि घर, परिवार र सपनाको व्यवहारिकता भएकोले।’

प्रत्युत्तरमा बोल्दैन प्र.।

म फेरि थपनी पस्किन्छु, ‘मेरो घरको छानामा ढुङ्गा हानियो आज। आमा-बाबु डराएका छन् मेरा। भोलि के होला?’

उ हाँस्छ, हाँसिसकेर भन्छ, ‘आज तिनीहरुलाई यसो गर्न ठीक लाग्दैछ। भोलि त्यसलाई सम्झेर किन गरेछु नी पनि लाग्नेछ।’ मुखमा उसको कऱ्याप-कऱ्याप बज्छ अक्षर, फेरि भन्छ, ‘त्यसरी नै विभिन्न प्रकार्यहरु नै वाहक हो व्यर्थताको।’

‘आभास गरिएको, देखिएको र सोंचिएकोहरु चाहिँ के होला?’, कुनै अनाम नेपथ्यलाई सोधेजस्तो गर्छु म।

चबाइरहेकै अभिनयमा देख्छु उसको मुख, नबोलेको पनि धेरैबेरसम्म।

‘एउटा कुरा थाहा छ तिमीलाई?’, निक्कै भरैतिर सोध्छ उसले।

म उसको रक्तिम अनुहारमा नियाल्छु।

‘भादास, चारद र कधोजहरु तिम्रो अलिखित उपन्यासका पात्रहरु होइनन्?’, अर्को प्रश्न पनि थप्छ प्र.ले।

‘हो’ भनेर ‘किन?’ पनि सोध्छु।

अलिक सानो स्वरमा उसले रहस्य खोल्छ, ‘तिनीहरुलाई तिम्रो पछाडि लगाइएका छन्। बुझ्यौ?’

आश्चर्य र रोमाञ्चले कान ठाडो हुन्छ। अलिक भरै, ‘किन र कसले सोध्छु?’

‘त्यो त म पनि जान्दिनँ’, भन्दै हुन्छ उ, ‘तर ती तीनजनालाई मैले धेरैपल्ट तिम्रो पछि-पछि लुक्दै पछ्याइरहेको देखेको छु।’

त्यसपछि म केही सोद्धिनँ। मन अनेकौं प्रश्नहरुसित लठारिँदै अघि घरको छानामा ढुङ्गा हानिएको कुरासम्म आएर ठोक्किन्छ। थकाइले गर्दा निदाउँछु त्यतिकै। आफ्नो कार्यबाट निवृत्त भई कहिले मभित्र समाहित भयो प्र.? थाहै पाइनँ।☻

एउटा बिहानसित सुरु हुने सामान्यता माथिको चिन्हहरुबाट जान्न सहज होला? बिहान भन्नाले सूर्यको लालिमा, चराको गान र केही यस्तै नमूनाहरुको वृतान्त नभन्दा कसो हुन्छ? जे होस्, आजको दिनको सूर्यसित रातका डरहरु भागेको प्रतीति मसित छ।

प्र.ले भन्थ्यो, मेरो निगरानी गर्न तीनजना व्यक्तिहरु खटाइएका छन्। मेरै अलिखित उपन्यासबाट झिकिएका पात्रहरु ती। म घर वरिपरि घुमेर तिनीहरुको पाइलाछाप र चिन्हहरु खोज्ने प्रयास गर्छु। कहीं-कहीं झार माडिएको र माटोमा जुत्ताको छापहरु छ। एक ठाउँ सिग्रेटको ठूटा र मोबाइल फोनको रिचार्ज भाउचर पनि लडिरहेको देखेर भित्रतिर जिरिङ्ग हुन्छु।

समयभित्र दिनहरु बित्दो छ।

फेरि-फेरि छानामा कुनै ढुङ्गा हानिएको छैन। ती तीन जासुसहरुको पाइलाछाप खोजिहिंड्ने फुर्सद पनि भएन। तर मनभित्र गाडिएको आतङ्कको सियो चाहिं बढेर झ्याम्पल बन्नलागेको बोध थियो। घरबाहेक वरपर, तलमाथि र बजारहरुतिर जाँदा पनि सतर्कता स्वरुप पछिल्तिर/कुना-काप्चातिर ती तीनजनालाई देखिहाल्छु कि भनेर अवलोकन गरिबस्ने बानी बस्यो। घरैभित्र पनि बाहिरको सानो आवाजलेसम्म तर्साउन थाल्यो। यसरी आफू हर्दम कुनै न कुनै आँखाबाट निरन्तर चिहाइएको र कुनै न कुनै मुखद्वारा सुनाइएको यो अवस्था बढो संशयात्मक वा भनूँ एम्बिगस थियो।

एउटा कुरोसित भने म अन्योलमा छु; कि मेरो अलिखित उपन्यासका तीन पात्रहरु :- (१) भादास, (२) चारद, र (३) कधोज – को तयदारी त भयो तर तिनीहरुको जीउडाल, अनुहार इत्यादिको बारेमा चाहिं कुनै इतिवृत्ति (प्रोफाइल) तयार पारिएको छैन। यसरी त देखिए पनि चिन्न कठिन हुनेभयो। के गरौं? यी तीनजनाको चरित्रको बारेमा त सङ्केतहरु तयार पारिएकै छ, चरित्र र अनुहारको बनौट लाक्षणिक रुपमा मिलाउन सकिँदैन र? अनि म त्यसै अनुरुप तिनीहरुको अनुहारको नाक-नक्सा तयार पार्छु। भादास र चारद चापलुस र कुटिल छन्, कधोज चनाखो र जाली छ। अब मेरो अन्तर्मनमा यिनीहरुको अनुहार र व्यवहारको छाप बस्यो। मलाई लाग्छ कि अब म यिनीहरुलाई ठिम्याउनसक्छु। यति कुराले पनि केही स्नतोष दियो मनलाई।

एकदिन गान्तोक जाने काम पऱ्यो, र गएको थिएँ। गान्तोकको एमजी मार्गमा हिंड्दा बढो सतर्कतासित हिंड्नपर्छ. रङ्गी-विरङ्गी मानिसहरुको लागि चियोचर्चा गर्ने एउटा प्रमुख ठाउँ यो पनि हो। यहाँ वरपर गर्नेहरुको एउटा न एउटा खेल हुन्छ नै। म पनि त्यहीं हिंड्दै थिएँ। मेरो खेलको भ्रम थियो, ममाथि जासुसी गर्ने ती तीनजनाको दृष्टिमा नपर्नु। तर्किनु र भाग्नु।

यदि पात्रहरु साँच्चै लेखकको नियन्त्रणमा रहन्छन् भने मैले तिनीहरुबाटै भागिरहनपर्ने कस्तो वाद्यता हो यो? अर्थात, म पनि स्वायत्त छुइनँ र कसैको नियन्त्रणमा कलम नचाउँछु? नियन्त्रितहरुको यो अपार भीड्मा आफू नियन्त्रक झैं लाग्नु पनि कत्रो भ्रम, अहा!

गान्तोकमा आफूलाई अड्याउनसक्ने ठाउँको कमीले लावारिस बनाउँछ मलाई। यही अभावको मुजाहरु लिएर यो एमजी मार्गमा फ्रान्ज काफ्का र विन्सेन्ट वान्गोफहरु भौंतारिरहेका भेटिन्छन्। यो सहरको लावण्यमा भिज्न जान्नेहरुलाई त्यो अभावले दुखाउँदैन। कुनै स्यामुएल बेकेटले कुनै गोदोलाई भेट्न नसक्नुको दुरत्वभित्र हुर्किन्छ गान्तोक। दुरत्व – यहाँको जीवनशैली।

‘कसो त लेखकज्यू!’ एउटा लटरी दोकानअघि उभिरहँदा यो वाक्यले झसङ्ग बनाउँछ। अगिल्तिर उभिरहेका छन् – चारद, कधोज र भादासहरु, जोहरुसित म केही अगिसम्म लुकिहिँड्दै थिएँ। म तिनीहरुलाई झुक्याउनसक्छु भन्ने कुरामा जति विस्वस्त थिएँ, त्यसै विश्वासदंशको अवस्थाले दङ्गदास पनि भइरहेको थिएँ।

‘करोड्पति बन्ने खेलमा होमिने विचार छ कि कसो लेखकज्यू?’ लटरी खेल्न उभिरहेका मानिसहरुतिर हेर्दै बढो अर्थपूर्ण हाँस्छ भादास।

कधोज बोल्छ, ‘लेखेर रुपियाँ कमाउन सकिने होइन नै, फेरि मानिसलाई चाहिएको त्यही रुपियाँ। यो खेल पनि अति जीवन्त खेलनै हो। करोडौं रुपियाँको भ्रम सजाइदिन्छ, अनन्त भोलिहरुमा त्यसलाई पाउने कल्पनाको रोमाञ्चले आजलाई बाँचिइन्छ। त्यसरी नै सबै भोलिहरु आजहरुमा अनुवाद हुँदै गइरहन्छ। अभावको वितृष्णाले जीवन खल्लो बनेको बोध डामिएको लाग्दैन।’

‘विज्ञान र तक्निकीले आज जसरी कब्जा गऱ्यो समयलाई, त्यसले ज्ञानको अवधारणामा चुनौतीको नयाँ बाटोहरु खोलिदियो। इमान्दारिताले यसको सामना गर्न समय लाग्ने भो’, हातको छालाको ब्याग मुसार्दै भन्यो चारदले, ‘तपाईं त लेखक हुनुहुन्छ। छाड्न सक्नुहुन्न इमान्दारिता, छाड्न सक्नुहुन्न स्वाभिमान!’

‘छाड्ने लेखक पनि देखेका छौं’, भादासले मुख खोल्यो, ‘तपाईंको कट्टरता कतिको खपाउ छ नि?’

यी तीनजनामा आघात गर्नसक्ने क्षमता तीव्र रहेछ।, त्यसै त जासुसमा नियुक्ति पाएका होइनन्, सोंच्छु। तिनीहरुको प्रश्न मलाई बढो प्रताडित गर्ने किसिमको लागिरहेथ्यो। मेरो क्रियाकलापबाट हरक्षण सुसुचित रहन चाहने व्यक्ति धेरै खतरनाक वृत्तिको रहेछ। प्रश्नहरुको आघातबाट कसैको इतिवृत्ति दोहन गर्नसक्ने मानिसहरु त क्रूर हुने गर्छन् नै। लेखक हुनुको नीयती कति सास्तिपूर्ण छ? – सोंच्छु।

क्रिस्चियन सालमनसित आख्यानकला(दी आर्ट अफ दी नोवल) नामक ग्रन्थमा मिलन क्नदेरा बोल्छन्, ‘हाम्रो जीवन एक चक्रव्यूह सदृश छ। हामी कसैले नभनीकनै जन्मेका छौं, कहिल्यै नचुनिएको एउटा शरीरमा कैद छौं, अनि मर्नलाई वाद्य छौं। अर्कोतिर, संसारको विशालताले हामीलाई मुक्तिको लागि एउटा स्थिर सम्भावना पनि दिइरहेछ।’

शायद, त्यही मुक्तिको इच्छाले हामीलाई यो एउटा खेलमा होमिदिएको छ। मुक्ति, जसलाई सन्तहरु ‘बन्धनबाट छुट्नु’ भन्छन्। संसारका यी जञ्जाल, जसको मोहमा जर्जर छ जीवन। रीस, राग, शत्रुता, घृणा र लालचबाट माथि उठेर पाइएको ‘कैवल्य’ नै मुक्ति! हजारौं-हजार जीवनहरु कुदिरहेछन् त्यसकै पछि युगान्तरहरुमा। अहा, म पनि त्यही हजारौंकै एक कण!

कुन्देराले व्याख्या गर्नखोजेको उम्काइसित अरु तन्तुहरु जोडेर हेर्नखोज्दा मलाई ती तीन प्राणीहरु रहस्यमयी लाग्छ।

‘यसको आँखा हेर, आँखा!’ चिच्याउँछ कधोज।

भादास र चारद मतिर निहुरिन्छन्।

अघि बोलेकैमा थप्छ कधोज, ‘अघिभन्दा चिम्सियो हैन? त्यसको माने हो बुद्धि घुम्दैछ है यसको, बुद्धि। रुपियाँ नभए पनि बुद्दि त छ होला नी यसको?’

निहुरिने दुइजना आँखा फुकालेर एकार्कालाई हेराहेर गर्दै उभिन्छन्।

‘खुट्टा पनि चलाउँदैछ ऊ ς ς......भाग्ने दाउमा रै’छ’, अर्को चिच्यायो।

‘त्यसै त यो मान्छे शङ्काको घोरोभित्र पसेको होइन, बुझ्यौ?’ अझै अर्को स्वरले भन्यो, ‘समातौं साथी हो, समातौं यसलाई।’

दुइ हातहरु काखीमा आई कसिन्छन्। तेस्रो हत्केलाले तालुको केश मुठ्याउँछ। म घिस्सिँदै हुन्छु। छेउछाउका मानिसहरु मज्जा मानेर हेरिरहेका हुन्छन्। पुलिसले नदेखेको स्वाङ गर्छ। राख्ने ठाउँ नभएर होला धेरै प...र रहेछ उनीहरुको सोफिस्टिकेटेड गाडी। घिस्सिँदा जुत्ताहरु कता छाडिए, पत्तो छैन। मोजा छेंडिएर कुर्कुच्चा र औंलाहरु पिल्सिएका लाग्यो। म मेरो झोला हराउन नचाहेर च्याप्प समातिराख्छु- जहाँ मेरो डाइरी, लटरीका टिकटहरु र एउटा फेरफारे पाइजामा छन्। येनकेन गाडीमा कोचारिएपछि त्यो गुड्न लाग्छ। गान्तोकको आवादी छोडिएर कता हो कता जङ्गलतिर गइरहेछौं लागिरहेछ। रोकिएको अघिल्तिर एउटा ‘हरर’ सिनेमाको झैं घर रहेछ- त्यहीभित्र लगिइन्छु म। वरिपरि रुखहरुबाहेक केही छैन। सिक्किममा पनि घनत्वलाई कायम राख्ने जङ्गल रहेछ अझै, सोंचेर खुशी लाग्यो।

मलाई राखिएको कोठा गोदामजस्तो लथालिङ्ग र वरपर भाँचिएको, भत्किएको र फुटेकाहरु छरपस्ट थिए। झ्यालहरु भेट्न नसकिने गरी अग्लोमा भएको। त्यो घरको सबैभन्दा तल्लो तला हो यो। माथिलेलो तलामा पनि कोठाचोटाहरु त होलान् तर त्यतातिर उक्लिने भऱ्याङ वा सिंडी भने यताबाट थिएन।।

‘हड्डी र छाला मात्रै देखिए तापनि गह्रौं नै पो रहेछ मोरो’, भन्दै हात टक्टकायो चारदले।

‘दैलो राम्रोसित चुकुल लगाएर माथि आऊ है साथी हो’, टाउको मात्रै भित्र छिराएर भन्यो कधोजले, ‘चढाऔं चिरिप अलिकति।’

म आफ्नो दुःखेका अङ्गहरु छाम्दै हुन्छु।

‘ल त आराम गरौं, लेखकज्यू! बात गर्न आऔंला भरै’, भादासले त्यसो भन्यो र उनीहरु बाहिरिए। दैलो ढप्काइयो।

म आफ्नो झोला खोसिने डरले त्यसलाई सुरक्षित राख्ने फिराकमा हुन्छु। कुनाको मैलैकुचैलाले छोपेर राखिदिँदा नदेख्ने रहेछ। खोच्याउँदै उठेर त्यहीं लुकाउँछु। घर नयाँ नभए पनि आफू फुत्किनेसक्ने सम्भावना थिएन। रात त्यतै कहीं बिताउनुपर्ने होला सोंचेर ढल्किनसम्म सकिने ठाउँ हेर्छु, तर त्यस्तो केही देखिँदैन। माथिल्लो तलाको भुईं पनि काठकै रहेछ, ती तीनजनाका पदचापहरु सुनिन्छन् बजिरहेका। आफू लाचार हुनुको खेलले धेरै थकाएको छ शरीर र मन दुवै। खुट्टा भाँचिएको चौकीमा ठडिँदा झपक्क-झपक्क भइरहन्छु।

‘ए... भुस् भएछ मोरो त।’

कता-कता स्वर बजेको लाग्छ। तर मात छुट्न केहीक्षण लाग्छ निद्राको। अघिल्तिर उही तीनजनाका खेलाडी अनुहार छन्। हाँसिरहेका। हँसाइलाई सुन्दरताको कसीमा जोख्नेहरु धेरै छन् विश्वमा तर यो हँसाइलाई कुन वर्गमा राखूँ म? खेलका अनेक रुपहरु हुनसक्छन् यहाँ-त्यहाँ, तर कुनै खेलको पछि मास्टरमाइन्ड होला कुनै खेलाडीकै- विश्वास गरिहाल्न मन मान्दैन। एकै निमेषमा जिएको लामो जीवनलाई नारदले पछिबाट मात्र विष्णुको लीला चिनेको थियो। कुनै अरबपति व्यापारीले कतै भनेको सुनेको थिएँ : ‘मनी इज् नेवर अ बिग मोटिवेसन फर् मी। द रियल एकसाइटमेन्ट इज प्लेइङ्ग द गेम।’ खेलमा रमाउनेहरु पनि ठूलासाना हुँदा रहेछन्। यहाँ खेल शब्दको मिस्टिफिकेसन गर्नमा सफल भएता छन् स्थानीय खेलाडीहरु।

‘म यो कुन ठाउँमा ल्याइएँ’, सोध्छु।

कधोज हाँस्दै हुन्छ बस्दै कुनाको काठमा, ‘यहाँ तिमी झैं लेखन्तेहरुको पूजा गर्छौं हामी।’

पूजा शब्दोच्चारणले केही डर निकास्छ मनमा। बढो अर्थगम्भिर छ यो शब्द। प्रयोक्ताहरुले यसलाई विभिन्न प्रतिकहरुको रुपमा चलाउँछन्। भगवान एवं तत्-तत् समकक्षका देवीदेवतालाई गरिने पूजा र भुक्तभोगीहरुलाई गरिने पूजामा आकाश-पातालको फरक पाइन्छ। वर्गिकरणको गणनाले म दोस्रो कित्तामा पर्छु र मलाई गरिने पूजा वैद्य र भक्तिमय हुँदैन भन्ने कुरा म जान्दछु। यस्तै पूजाहरूको रसस्वादनपछि धेरै जुझारुहरु लुला-लङ्गडा भई दिनहरु गन्ति गरिरहने भएका छन्। यसलाई समयका अधिनायकहरुले उनीहरुको सफलता मान्छन्।

‘मेरो अपराधको भ्रम चाहिँ के हो?’ आफैलाई सोधे झैं मधुरो हुन्छ मेरो स्वर।

साँझ ढल्किनलागेको छ शायद बाहिर, कोठामा पनि अँध्यारो पस्नलागेको छ अहिले। मोबाइल फोन बजिरहन्छ पालैपालो उनीहरुको। जवाफ बोल्न बाहिरतिर जान्छन् उनीहरु। उनीहरुको सम्वादको प्रक्रमलाई बुझ्दा कधोज नाइके हो कि लाग्छ त्यस टोलीको।

‘किन लेख्छौ, लेखकज्यू?’, शब्दभन्दा बेसी रक्सी गन्हाउँछ कधोजको प्रश्नमा।

‘आफैमा अति बोझ छु म, चरा र बादल हेरेर छक्क पर्छु’, उत्तरमा त्यो भन्छु, ‘गह्रुँगोपन फ्याँक्न प्रजातान्त्रिक अधिकार हो कि सोंच्छु।’

‘त्यो गह्रुँगोपन यति कष्टसाध्य किन छ त?’, सोध्छ चारद।

‘कसलाई त्यो अनुभूति भो?’ जिज्ञासा छ मनभरि, ‘मलाई त ती सब व्यर्थ लाग्छ। पढ्नुभयो?’

कधोज नै अघि लागेर बोल्छ, ‘नपढिए पनि अर्थ्याउनेहरु धेरै छन्। पहिलो कालखण्डबाट बसाईं सरिआएका। अर्थहरु बेच्छौं हामी, बोध जरुरी छैन हामीलाई।’

‘लेख्यौ अरे नी यताउति पत्रपत्रिकातिर? त्यसको अनर्थमा शुभलाभ जोड्छौं हामी’, सिग्रेटको धुआँले पुरिएको अनुहार बोल्छ।

‘तिम्रो लेखनले आहत छैनौं। तर त्यसको लागि एउटा व्यूह रचिएको छ यहाँ। अनर्थको खेतीमा नाच्ने जीवन प्राप्त छ हामीलाई। परम्परितहरुमा धेरै आक्षेप छ आज। परिभाषित शब्दहरु बिथोलिएको छ। लेखनी आदर्शताको प्रत्यारोपबाट मुक्त भयो। हरेक लगामको अन्त्यमा त्यही शक्तिको हत्केला छामिन्छ’, भन्दै हाँस्छ कधोज।

शब्दको आविष्करणले मानिसमा द्वन्दको कथा रचेको छ। संसारको भौतिकी र अमूर्त्तताको सञ्चालनमा शब्द र त्यसको अर्थको भूमिका बढो सत्य छ। अकाट्य पनि। विश्वमा नाचेको भ्रम शब्दका अय्यारहरुको खेती भो। स्वरुप मानिसको लिएको तर भित्री विश्वास र आचरणहरुको विभिन्नता नै जटिल कथा यसैले, यहाँको।

मेरो अलिखित उपन्यासका तीन पात्रहरु जान्न चाहन्छन् मेरै लेखनीको उद्देश्य। लेख्नुको उद्देश्य कति ठूलो हुनसक्छ र? आफूभित्र बाँच्ने कुनै एउटा त्यस्तो जीवन्त चिज छ जो रुन्छ, हाँस्छ र नाच्छ पनि कहिले-काहीं। अनुभूतिको रस कतिपय परिवारमा, साथीभाइमा, शत्रुमा बाँडेर उब्रिएको बसिरहन्छ त्यहाँ। बोझ लाग्छ बोकिरहँदा आफैभित्र त्यो। लेखनीमा फुटेर झर्ने त्यही बोधको तरलता त होइन? कोही भन्छन् समाज, कोही प्रेम चिच्याउँछन् त कोही मानवता र ईश्वरत्व बखान्छन्। म वकालती र व्यवहारको फरक हेरेर अन्योलित बन्छु। एउटा सकारात्मक अस्तित्वमानताको आधार नै त्यसकै नकारात्मक अस्तितवमानताले जन्माएको सत्य देख्छौं। नजान्नु, नजानेर जानेको जस्तो गर्नु, एउटा जानेकोलाई सबै जानेको ठान्नु... भ्रमको ढडेनीमा एउटा जीवनको मस्तिष्क अपर्याप्त लाग्छ।

पक्कै, राजनीतिलाई लेखन बनाइयो केही वर्षअघि। प्रजातन्त्रको अवधारणागत हो कि सोंचेर लेखन। छापिएको धेरैवटामा केहीलाई लिएर कुरा झिकौं कि अहिले?

क. विलय विषयान्तर छापिएको १३ मार्च २०००को सुनचरीमा। सिक्किम-दार्जीलिङको विलयको बौद्धिक अवधारणाको जवाफ खोज्दै लेखियो। भूमिहरु कसैको थियो पनि, थिएन पनि। स्मृति र तर्कको सञ्जाल भ्रम कति बन्नसक्छ।.....भन्न खोजियो।

ख. क्रान्ति गर्ने र गराउनेहरु पनि सञ्चालित छन् भ्रमले नै। भ्रमको यो कार्यावधिमा कति खोक्रो देखिन्छ राजनीतिक पाटो? छायाँको जुलाई २००० अङ्कमा छापिएको अर्थात नसोधौं गीतहरुमा क्रान्तिलाईमा लेख्न खोजियो त्यही।

ग. लेखिएको सिक्किमेली अर्थतन्त्रका गहन विषमताहरु, भाग १ र भाग २ गरेर क्रमशः ३ जनवरी र २६ फरवरी २००१मा छापियो सुनचरीमै। सामाजिक सिक्किमको अर्थतान्त्रिक त्यान्द्राहरु केलाउने प्रयास भयो यी लेखनीहरुमा। शक्ति कुनैको ध्रुवीकरण हुन्छ कि हुँदैन- वरिपरिको यत्रतत्रलाई गर्दै प्रभावित पनि? भएको कुनै स्थितिलाई त्यस शक्तिको, मान्न सकिन्छ परिणाम? कि त्यहाँ पनि धागोहरु छन् अदृश्य, नाचिरहन कठपुतली?

घ. भाषिक अस्मिताको कारणले राजनीतिक अधिकारको सेरोफेरोमा पनि ठाँउ बनिनुपर्छ नेपालीको भन्दै लेखियो सीट आरक्षणको मधुमास। जो छापियो ३० नोभेम्बर २०००को सुनचरीमा।

‘यता बाहिर जाऔं लेखकज्यू, म केही देखाउँछु तिमीलाई’, भनिरहेको हुन्छ कधोज। साँच्चै त्यो घर जङ्गलको बीचमा रहेछ।

‘त्यो डाँडामा एउटा भित्ता देख्दैछौ?’ सोध्छ उ।

साँझको धमिलोलाई छेंडेर पनि आँखाहरु त्यहाँ उभिएको कालो पर्खालमा ठोक्किन पुग्छ। ‘देखें’ भनिदिन्छु।

‘तिम्रो चरमता त्यही पर्खाल हो’, आफ्नो कुटिलतालाई हाँसोमा अनुवाद गर्दै भन्छ कधोज, ‘कुनै लेखकले पनि नाघ्नसकेको छैन त्यसलाई। भोलि बिहान तिमीले पनि आफ्नो यात्रा शुरु गर्नेछौ, नाघ्नलाई त्यो पर्खाल।’

‘त्यहाँसम्म पुग्नअघि तिमीले पाँचवटा कविता लेख्नपर्नेछ, आफ्नै महाविश्वासको भर्त्सना गर्दै’, थप्छ चारदले, ‘अनि फर्किनसक्नेछौ तिमी तिम्रो घर।’

‘नत्र हामी एन्काउन्टर गर्नेछौ तिम्रो’, सुन्छु स्वर भादासको पनि।

बढो अनौठो लाग्छ मलाई परिस्थिति त्यो। तर डर पट्टकै छैन मनमा। सोध्छु बरु एउटा जिज्ञासा, ‘नाघ्नसकें भने नी त्यो पर्खाल?’

‘आफ्नो घर फर्किन सक्नेछैनौ कहिल्यै तिमी’, उत्तर निर्धक्क छ कधोजको।

को त्यहाँ बाँच्न सकिने ठाउँ होला? फेरि आफैलाई सोधिरहेको हुन्छु म। उत्तर नपाउनुको अज्ञानता पिरोलिन्छु मनभरि।

‘अलिखित एउटा उपन्यासको इतिवृत्ति छ मस्तिष्कमा मेरो’, बोल्छु, ‘त्यसैभित्रबाट तानिएका तीन कुटिल पात्रहरु मात्र हौ तिमीहरु। हरेकको प्रोफाइल कोरेको छु मैले।’

‘के भो त अनि?’ भादास पड्किन्छ, ‘हामी तिम्रो उपन्यासबाट निस्काषित छौं, बुझ्यौ?’

ज्ञानको ठूलो-सानो पोकोले अल्मलिने प्रक्रिया पनि ठूलो-सानै, हरे! गहिरो हाँस्न मनपर्छ र हाँसिदिन्छु पनि भन्दै, ‘आफ्नो हात-खुट्टा र शरीरमा हेर नियालेर। नदेख्दा छामिहेर पनि।’

केहीक्षण रोकिएर फेरि थप्छु, ‘आफैलाई मात्र होइन, अरुलाई पनि हेर। मेरो यो कलमलाई पनि हेर। खेलको पदक्षेप दर्शक बिना पनि छ, मुख्य अतिथि र सभापति बिना पनि छ। आऊ..... नाचौं राजनीति, नाचौं कथा, नाचिरहौं द्वन्दको स्वाङ।’

उनीहरु अलमल्ल पर्छन्।

म कोठाभित्र पसेर बिहानको प्रतीक्षा गर्न लाग्छु।।

साभार: ऋतुखेल (२००९)Pravin Rai Jumelihttp://www.blogger.com/profile/11540945451909399270noreply@blogger.com0tag:blogger.com,1999:blog-8114180470314575877.post-7349268930673176432011-05-03T22:03:00.001-07:002011-05-03T22:03:27.710-07:00प्रगमनक्रन्दनहरुझैं निरीह थिए ती आवाजहरु।.....क्रमशः पोख्खिँदै, क्रमशः छरिइँदै अनि क्रमशः फिजिइँदै वरिपरिभरि, एउटा जुलुसको पदयात्रा हिंडिरहेको कहीं। एउटा चौराहमा त्यो आवाजको अदृश्य जुलुसलाई छेकेर केही नरभक्षीहरु उभिए। मुखबाट लगातार बगिरहेको रगतलाई खस्रो जिब्रोले चाट्दै त्यो आवाजको अदृश्य जुलुसलाई नरभक्षी नायकेले सम्बोधन गऱ्यो, ‘आकारमा आओ पाजीहरु!’

अकस्मात आवाज शान्त भयो अनि भयपूर्ण चकमन्नता छायो। धुवाँको एउटा बादल उठेर छरियो अनि छाँटिइदै गएपछि एउटा भयातुर जमात दृष्टिगोचर भयो। तिनीहरु घावै-घाउले भरिएका, हड्डी र छाला मात्र भएका, लुब्धा-नाङ्गा आकृतिहरु थिए जसलाई ‘मानिस’ भनिन्थ्यो। तिनीहरु सबैका आँखाहरु बन्द थिए अनि सीरहरु पनि झुकेका थिए। त्यो अदृश्य रहेर आवाज निकाल्नसक्ने मानिसहरुको चमत्कारी-शक्ति देखेर नरभक्षीहरु पनि हतप्रभ थिए। तत्क्षण नरभक्षीहरुका आँखाहरुले दन्किँदो आगो उगेल्न थाले। नरभक्षीहरुद्वारा गरिएका बर्बरता र क्रूरताहरुले हर्दम सताइएका मानिसहरुमा एउटा अन्जान डर निहित थियो...भनौं वस्तुतः मानिसहरुले डरको जीवनलाई बाँचिरहेका थिए। तथापि मानिसहरुले त्यति चमत्कार गर्न जानेका भए तापनि त्यो चौराहसम्मको पदयात्रा कहिल्यै गरेका थिएनन्.....झन् त्यस्तो विद्रोहको जुलुस उठाउनु त नसोंचिएको विषयनै थियो।

‘हे लुब्धाहरु, यो कुन अनर्थको पछि लागिरहेछौ?’...एक पाइला अघि सरेर प्रश्न गऱ्यो नरभक्षी-नायकेले।

मानिसहरु जड भए। पुनः तिनीहरुका घाउहरुबाट रगत बहनथाल्यो। रगतको दुर्गन्धले हावालाई पनि प्रदुषित पाऱ्यो...र त्यो प्रदुषित हावालाई सुँघेर खुशी भए नरभक्षीहरु। मानिसहरुका घाउहरुबाट जति रगत बहँदै गयो त्यतिनै तिनीहरुका घाउहरु पनि बढ्दै गए.....अनि नरभक्षीहरु बहेका ती रगत चाट्नलाई ठेल्लमठेल परे। हिज...कुनै दिन, जब पृथ्वीमा मानिसको राज थियो तब नरभक्षीहरुका अपराधहरु माफ भएका थिए...तर अहिले उनीहरुको राजमा त्यस्तो कुनै सम्भावना थिएन।

अन्ततः लुब्धा अनि घाउटे मानिसहरुको त्यो विद्रोही तर तुच्छ जमातलाई नरभक्षी-सम्राटअघि उभ्याइए। अति भव्य थियो त्यो महल.....मानिसहरुकै हाड, रगत र मासुले निर्मित थियो त्यो महल। मानिसहरुको स्मृतिमा हुनसक्छ त्यो बर्बरता, क्रूरता र शोषणका अमेट छापहरु दुःख्ने गरी बिझ्दा हुन् तर तिनीहरुमा आवाजको विलोपन-गाथा पनि प्राचीन नै हो। एकाधले बोलेका थिए विद्रोहका आवाजहरु.....फगतः शारीरिक मृत्यु मर्न बाध्य बनेका थिए। विद्रोहको एउटा आवाज बोलेर शारीरिक मृत्यु मर्नु त ठूलै कुरो थियो...इतिहासमा पनि नाम लेखिन्थ्यो। तर आजका मानिसहरुले इतिहासनै पढ्दैनन् यसैले ती महान आत्माहरुलाई पनि चिन्दैनन्। रुढ मानसिकताले विकलाङ्ग छन् आजका मानिसहरु। त्यसैले निरन्तर एउटा मानसिक मृत्युलाई बाँच्दैछन् पनि। त्यसबेला त मानिसहरु निश्चयनै बहुसङ्ख्यक थिए...आज कति अल्पसङ्ख्यक भइसके!

महलमा...नरभक्षी-सम्राटको शयनकक्ष बाहेक अन्य तमाम कक्षहरुमा धातुका ठूल्ठला पिपाहरु राखिएका छन् जहाँ मानिसका रगत टम्म भरिएको छ। नरभक्षी-सम्राटले मानिसहरुको अदृश्य रहनु भन्दा पनि बढी आवाज निकाल्नुलाई बतायो। दण्डको रुपमा त्यसले मानिसहरुलाई हाँस्न लगायो। त्यसले जान्दथ्यो कि मानिसहरुले हाँस्न बिर्सिसकेका छन्.....यसैले बिर्सिसकेको वा कहिल्यै नगरेको कुरो गर्न तिनीहरुले मानसिक प्रताडना भोग्नैपर्छ। मानिसहरुलाई मानसिक प्रताडना दिएर तिनीहरुका दयनीयता हेर्नु पनि नरभक्षीहरुको मनोरञ्जनकै बहाना थियो। अनि मानिसहरुले तिनीहरुको आज्ञा पालन गर्नैपर्छ किनकि तिनीहरु मानसिक रुपले नरभक्षीहरुका वशमा थिए। तर ‘हाँस्नु’ जस्तो जटिल दण्ड निभाउन कठिन मात्र होइन तर असम्भवनै थियो मानिसहरुको निम्ति।

‘हाँस’- नरभक्षी-सम्राटको भयानक आवाज उच्चियो।

तर मानिसहरु पटक्क हाँस्नसकेनन्। हाँस्ने प्रयासमा तिनीहरुका आँखाबाट आँसु निचोरिएर बगे। अनुहारभरि विभिन्न प्रकारका रेखाहरु अङ्कित भए.....तर अहँ हाणस्न भने पटक्कै सकेनन्।

‘हाँस.....सम्पूर्ण हाँस!’

मानिसहरुका भग्न अवस्था हेरेर नरभक्षी-सम्राट खुब खुशी भयो। त्यसको भयावह अट्टहासले व्याप्त त्यो कक्षमा मानिसहरु एक अंश पनि हाँस्न नसकेर बरु रोइरहेका थिए। आजसम्मको त्यो मृत्युसदृश बचाइमा मानिसहरुले पीडाको अनुभूतिलाई पनि बिर्सिसकेका थिए...तर आज भने तिनीहरुमा त्यसलाई अनुभूत गर्नसक्ने क्षमता पनि बाँचेको त्यो सत्य कतै लुक्नसकेन। तथापि नरभक्षीहरुले त्यसलाई थाहा पाउन सकेनन् किनकि यसघडी तिनीहरु हाँस्नमै तल्लिन थिए। फलतः रुनुको त्यस अनन्त प्रक्रियाले मानिसहरुका आँखाका आँसु पनि सिद्धिए.....र त्यपछि रगत बहन सुरु भयो। अनि ती लाचार नरभक्षीहरुले चाहिं त्यही रगत चाट्न थाले। तर मानिसका रगत त कहिले हो रङ्गहीन र स्वादहीन भइसकेको थियो। अनैतिकता, स्वार्थता, लोभ, ईर्ष्या र भौतिक मनोरञ्जनका तत्वहरुमा फिटिएर मानिसले आफ्नो मौलिक रगतलाई गुमाएका हुन्। वस्तुतः मानिसहरु जीवनका तमाम स्पर्शबाट पलायन हुँदै गए अनि लम्पसार परे...र तिनीहरुका ज्योतिहीन आँखाहरु बन्द भए। नरभक्षीहरुका बेपर्वाह अट्टहास मात्र चुलिँदै गए त्यहाँभरि।

बस् अचानक...त्यही प्रक्रियामा ती नरभक्षीहरुका दाह्राहरु, सीङहरु, नङ्ग्राहरु भुईंभरि खस्दै गए। अनि.....जब तिनीहरुका आवाज पनि अचानकनै रुवाइमा परिणत भए, तिनीहरु झस्किए र एकार्काप्रति हेराहेर गर्नलागे। अनि.....तिनीहरु पनि त्यसबेला त फगतः लुब्धा मानिसहरुस झैं देखापरे...अति दयनीय र अति निरीह पनि! अब यहाँ यो प्रमाणित हुन्छ कि संसारमा मानिसहरु अल्पसङ्ख्यक भएको कारण तिनीहरुको नाश भएर होइन.....तर आफ्नो मौज, लोभ र स्वार्थसिद्धिको निम्ति नरभक्षीहरुमा परिणत हुँदै गइरहेछन्। मानिसहरुले दया, धर्म, प्रेम र कर्तव्य जस्ता अमूल्य निधिहरु केवल पैसासित साटिसकेका छन्। अनि.....नरभक्षी बनिसकेपछि तिनीहरु सत्ता र शक्ति-सञ्चालनतिर उन्मुख बनेका छन्।

भईँभरि छरिएका नरभक्षीका नक्कली वस्तुहरु पुनः धारण गरेपश्चात तिनीहरु पुनः नरभक्षीहरुझैं देखिए।

‘यिनीहरु कसैको आँखामा दृष्टि-शक्ति त बाँचेको छैन?’

तिनीहरुको असली रुपको रहस्य मानिसहरुमा खुल्यो कि भन्ने त्रासले सशङ्कित भएर नरभक्षी-सम्राटले मानिसका आँखामा दृष्टि-शक्ति खोज्ने आज्ञा दियो। नरभक्षी सेवकहरुले आशा बमोजिम मानिसहरुलाई ओल्टाइ-पल्टाइ हेरे। एकाध मानिसहरुका आँखाहरुमा एकांश ज्योति थियो र...तिनीहरुका आँखाहरुबाट रगतको बहाइ पनि रोकिएको थिएन। त्यसैले तिनीहरुलाई नरभक्षी-सम्राट सम्मुख उभ्याइए।

‘जीवन भनेको के हो?’.....नरभक्षी-सम्राटले सोध्यो।

‘शताब्दीअघि बाँचेका थियौं। दशकौंअघि कथा सुनेका थियौं...त्यसको।’

मानिसको मुखबाट निस्केको आवाज सुनेर नरभक्षी-सम्राट चनाखो/आशङ्कित भयो.....र भन्यो, ‘यिनीहरुले सम्पूर्णरुपमा आवाज गुमाएको छैनन्। जीवनको स्मृति अझसम्म पनि बोकिराखेका रहेछन्।’

नरभक्षी-सेवकहरुबीच निस्तब्धता छायो। आश्चर्य पोतियो। तिनीहरुले आजसम्म कायम राखेको प्रभुसत्ता मानिसहरुको ‘जीवन’सम्मुख खतरामा जाकिनसक्छ। यसैले आफ्नो सत्तालाई हरतरहले बचाइराख्न मानिसहरुबाट ‘जीवन’को आग्रहलाई समाप्त गर्नैपर्छ- यो कुरा तिनीहरुले जान्दछन्। यहाँ... जीवन भन्नाले सास फेर्नु र चल्मलाउनु मात्र नबुझेर आफ्नो अस्तित्वको सही पहिचान र त्यसका मूल्यहरुको लागि कार्य अनि सङ्घर्ष गर्नुलाई बुझ्न पर्दछ।

‘हाम्रो परिचय जान्दछौ?’- प्रश्न।

‘तिमीहरु?.....तिमीहरु मानिसबाट झरेका भक्षकहरु हौ। कुशल प्रशासकहरु त पटक्कै होइनौ।’

मानिसहरुमा विद्रोहको भावना सम्पूर्णरुपले नसिद्धिएको तथ्य असहनीय भयो नरभक्षीहरुलाई। अन्ततः नरभक्षी-सम्राटले मानिसहरुको चेतनाको माप लिने विचार गऱ्यो....तर आफ्नो उत्तेजनालाई दबाएर जिज्ञासालाई प्राधान्य दिँदै।

‘आजको यो अदृश्य जुलुसलाई के अर्थ्याउनु त.....?’

‘हामी युद्धरत छौं।’

‘मृत्युमा पनि?’

मानिसहरु केही बोलेनन्। तिनीहरुलाई यो डर भयो कि कतै तिनीहरुको पोल खुल्यो भने खतरा अझै बढनसक्छ। अर्कोतिर...नरभक्षी-सम्राटलाई पनि मानिसको चेतना-शक्ति उनीहरुको ताजसत्ता र नश्लप्रति खतराजनक लाग्यो। त्यसको मनमा चिन्ता बास बस्यो। तर मानिसहरुले जे-जति बोलिरहेका थिए.....केवल तन्द्रावश बोलिरहेका थिए जसको बोध तिनीहरुको चेतनामा कतै थिएन।

‘लौ यो सिंहासन तिमीहरुको हातमा सुम्पियौं!’- त्यसो भन्दै गर्दा नरभ्7-सम्राटका आँखाहरु चम्किरहेका थिए।

मानिसहरु ट्वाल्ल परे। सिंहासन र प्रशासन जस्ता कुराहरु तिनीहरुको निम्ति अन्जान जिसाहरुझैं थिए। निर्बल मानिसहरुले तिनीहरुका चेतनामा बल गरे..... तर तिनीहरुले कुनै त्यस्तो बोधनै गर्नसकेनन् जहाँ उनीहरुको अवस्थाले परिवर्तनको मुलुक देक्नसकोस्। त्यो थाहा पाएर नरभक्षी-सम्राटले अट्टहास गर्नथाल्यो...किनकि अब यो प्रमाणित भइसकेको थियो कि मानिसहरुको त्यो अबोधता नरभक्षीहरुको सिंहासन र प्रशासनको लागि बाधक थिएन। नरभक्षी-सम्राटको सिको गर्दै अरि नरभक्षीहरु पनि अट्टहास गर्न थाले।

तर.........अचानक-

‘नहाँस मूर्खहरु! मानिसको विनाशनै तँहरुको पनि विनाश हो’, अचानकनै त्यहाँ शून्यमा एउटा आवाज गिञ्जियो।

कक्षमा निस्तभ्दता व्याप्त भयो। नरभक्षीहरुले एकार्काप्रति हेराहेर गरे। मानिसहरुले त्यो आवाजनै तिनीहरुको आत्मा भनेर चिने.....तर आत्माले तिनीहरुसित सम्बन्ध विच्छेद गरेको शताब्दी बितिसकेको थियो। त्यही आत्माको स्मृरणमा तिनीहरुका आँखाहरुबाट रहलपहल रगत पनि चुहेर सकिए। अनि त्यसपछि त्यहाँ एउटा डरलाग्दो निस्तब्धता मात्र व्याप्तिँदै गयो।

मानिसहरुको विनाशले नरभक्षीहरुको पनि विनाश हुने कुरा नरभक्षी-सम्राटले बुझेन। एउटा द्विविधाबीचनै त्यसले त्यसका सेवकहरुलाई मानिसहरुभित्र बाँचेको रगत पनि निचोरेर निकाल्न अह्राएर बाहिर निस्क्यो। तिनीहरु बस्ने त्यो धरती अति बन्जर थियो....हरियाली र जीवन नभएको कहीं पनि। माटोमा पनि केवल रगतको आर्द्रता मात्र थियो। मानिसहरुको राज्यकालमा स्थापित सुन्दरता र हरियाली साँच्चै कहाँ हराए कुन्नि? आजसम्म नरभक्षीहरुको वर्चस्व र नश्लको रक्षा गर्नलाई अनेकौं मानिसहरु बली चढिसकेका छन्। नरभक्षीहरुको जीवनश्रोत नै मानिसहरुमाथि आश्रित भएको हुनाले तिनीहरुको खात्मानै नरभक्षीहरु स्वयंको पनि सम्बन्धमा पनि खतरापूर्ण थियो।

नरभक्षी-सम्राट फर्केर पुनः महवभित्र प्रवेश गऱ्यो। सबै मानिसहरु निश्चल लडिरहेका थिए।

‘मानिसहरुको शरीरमा अब एक थोपा पनि रगत बाँकी रहेन’- रिपोर्ट सुनाइयो।

मानिसहरुको शारीरिक मृत्यु अथवा तिनीहरुको विघटनले नरभक्षीहरुका जीवन र भविष्य अन्धकारमय थियो भन्ने कुरा अब बुझ्यो नरभक्षी-सम्राटले। अनि प्रतिफलको कल्पनाले थर्कमान भइउठ्यो त्यो। तिनीहरुको आफ्नो नश्ल, जीवन र सत्ताको रक्षार्थ मानिसहरुको नितान्त आवश्यकता थियो....जसको निम्ति मानिसहरुलाई जीवित राख्न र तिनीहरुको वंश वृद्धि गर्न पनि आवश्यक थियो।

अन्ततः मानिसहरुलाई तिनीहरुका बस्ती-बस्तीमा सुरक्षित पुऱ्याउने आदेश दियो त्यसले.....र तिनीहरुको उपचारको र सुरक्षाको पनि व्यवस्था गऱ्यो।

त्यसरी एउटा अनिश्चित काल बितेर गयो। मानिसहरुबाट फेरि-फेरि त्यस्तो विद्रोही जुलुस निकालिएको थाहा भएन। अनि जब नरभक्षीहरुको भण्डारमा रगत सिद्धियो तब नरभक्षी-सम्राटले आफ्ना सेवकहरुलाई मानिसहरुको बस्तीमा पठायो। तर नरभक्षी सेवकहरुले मानिसको बस्तीमा पुगेर पनि मात्र आफू सरह नरभक्षीहरु देखे.....जहाँ तिनीहरुको अट्टहास गुञ्जिँदै थिए। सम्भवतः पहिला त्यहाँ छाडिएका मानिसहरु पनि नरभक्षीहरुमा परिणत भइसकेका थिए। तिनीहरुले एकार्कालाई घरिघरि भोकाएका आँखाहरुले हेर्दथे अतः तिनीहरु आक्रामक रुपमा उभिरहेका थिए।

तब के मानिसहरु कहीं पनि रहेनन्?.....अनि अब नरभक्षीहरुले बाँच्नको निम्ति के उपाय खोज्नपर्ने हो? फगतः तिनीहरुले आफैलाई धिक्कारे?

ती अपरिचित नरभक्षीहरुलाई त्यहाँ देखेर त्यस बस्तीका नरभक्षीहरुका आँखाहरु चम्किए...अनि तत्क्षण तिनीहरुमाथि आक्रमण गरे। यसरी तिनीहरुले पनि आफ्नै महल निर्माण गरे। सिंसाहनको निम्ति कुटाकुट परे, अनि अन्तमा सधैँझैं सबैभन्दा बलवानले सबैलाई पछारेर जबरजस्ती सिंहासनमा बस्यो। त्यसको आज्ञाको विरोध र उल्ङ्घनगर्नेलाई नरभक्षीका नक्कली अङ्गहरु खोसेर निर्धो मानिसमै परिवर्तन गरिदिने झम्की दियो। सबै जराए सायद.....त्यसपछि सबै चुपचाप बसे, सन्तुष्ट बसे।

ती नरभक्षीहरुले धेरै वर्षसम्म मानिसका बस्ती खोजे तर कहीं भेट्टाएनन्। त्यसपछि तिनीहरुले पनि नरभक्षीहरुकै बस्ती-बस्तीमा आक्रमण गर्नथाले।।Pravin Rai Jumelihttp://www.blogger.com/profile/11540945451909399270noreply@blogger.com0tag:blogger.com,1999:blog-8114180470314575877.post-34767013500173822722011-04-25T23:51:00.000-07:002011-04-25T23:51:17.162-07:00रोटीको विडम्बनाविडम्बना एक

समय उसको यात्रामा लीन थियो।

केही बाँदरहरु धेरै बिरालोहरुका रोटी बाँट्ने प्रक्रियामा लागिपरेका थिए। तराजुका पल्लाहरुमा भएका रोटीहरु चोइटिँदै बाँदरहरुका मुख-मुखमा ठोसिएका दृश्यहरु हेर्नैमा मस्तराम थिए बिरालोहरु। एकदिन त रोटीका ती टुक्राहरु बराबर बाँटिएर तिनीहरुसम्म पनि पुग्नेनै छन् भन्ने आशा पनि धेरै-धेरै पुरानो थियो बिरालोहरुका। बिरालोहरु झुक्केका-झुक्केकै थिए तबसम्म।

धेरै-धेरै वर्षहरुपछि बिरालोहरुले बाँदरहुरको त्यो चालाकी बुझेछन् क्यारे ? त्यस दिनदेखि यता भने बिरालोहरुले बाँदरहुरमाथि विश्वास गर्नछाडे। तर बाँदरहरुसित के त्यस्तो जादु थियो कुन्नि ? कसरी हो कुन्नि, हरेक पाँच वर्षपछि देखापरेर बिरालोहरुलाई तराजु देखाई झक्काइछाड्थे र हरेकपल्टै रोटीका टुक्राहरु बिरालोहरुका हात-हातबाट फुत्केर बाँदरहरुकै मुखमा पुगेका हुन्थे।

यो निश्चित थियो कि बिरालोहरुले तराजुको लालचबाट निजात नपाएसम्म बाँदरहरुको रजाईं रहिरहनेछ।

विडम्बना दुइ

खरेडी अति भयानक थियो। यसैले जङ्गलमा पनि हरियाली थिएन। तरै पनि मान्छेको बारीमा चाहिँ गहुँ हरियै उम्रिएको थियो अनि वर्षौंअघि झैं रोटी खानपाउने कल्पनाले आच्छादित थिए उनीहरुको मन।

हरेक पाँच वर्षको अन्तरालपछि त्यो बस्तीमा एउटा गधा जङ्गलबाट निस्किआएऱ राजा बनाइदिने आग्रह गर्थ्थो मान्छेहरुसित।

मान्छेहरुले पनि उनीहरुको गहुँबारीमा नचरिदिने वाचा गराएर गधालाई राजा स्वीकार्थे र त्यो साल भने मनग्गे रोटी खानपाउने आशा साँच्थे। तर हिजका दिनहरुमा झैं कताबाट हो एउटा बाघ गर्जिँदै आएर मान्छेका गहुँबारीमा निर्धक्क चरिदिन्थ्यो। मान्छेहरु घरका झ्याल-ढोका थुनेर अचम्भ मान्दै बाघले गहुँ चरेको हेरिरहन्थे र आजसम्मै हेरिरहेछन्। उनीहरु बाघसित रिसाउँथे तर गधासित खुशी हुन्थे। अनि उहिले-उहिलेदेखिनै बाघको खोलभित्र त्यो गधा हाँसिरहन्छ। फगतः हाँसिरहन्छ।

कठै, मान्छेहरुले त्यो गधालाई चिनेर कहिले दण्ड दिने हो ?

निनादको निम्ति निनादबाटPravin Rai Jumelihttp://www.blogger.com/profile/11540945451909399270noreply@blogger.com0tag:blogger.com,1999:blog-8114180470314575877.post-76501641781963893852011-04-20T05:18:00.000-07:002011-04-20T17:58:53.567-07:00आत्मदंशआँगनमा बसेर तीर्थमायाले नाङ्लोमा मकै छोडाउन लागेकी थिई। बलबहादुर घरभित्रबाट काखीमा छाता च्यापेर कमेजको बटन मार्दै निस्क्यो।

‘अन्त…जाने नै?’

तीर्थमायाको त्यस प्रश्नको उत्तर नदिई बलबहादुरले हतियार उद्याउने ढुङ्गामा खुट्टा टेकाएर पेन्टको मोहोरी दुइ-तीन फेरा उँभो पल्टायो।

‘भरै केटाहरु स्कूलबाट आएपछि तल्लो गरामा मल ओसार्न लगाउ है। सकेभर म छिट्टै आउँछु’, भन्दै उ छाता टेक्दै घर उकालो लाग्यो।

‘फर्किन्दा नयाँबजार निस्केर बिद्देसागरकोबाट दुइ-तीन सेर पिठो पनि लेउँदै आऊ है’, भन्ने तीर्थमायाको आग्रहलाई पनि त्यति वास्तै नगरेजस्तो उसलाई गइरहेकै देखियो। तर घरमाथि गाडिएको त्यो अग्लो बाँस जहाँ उसको प्यारो पार्टीको झण्डा फर्फराइरहेको थियो- को छेउमा केहीक्षण गर्वले उभिनु चाहिँ बिर्सेन र मनमनैमा, ‘झण्डा पनि नयाँ सिलाउने बेला भइसकेछ’ सोंच्दै बाटो लाग्यो।

प्रिय पाठक, तपाईंलाई बलबहादुर कहाँ जाँदैछ भन्ने जिज्ञासा होला? अब तपाईंको उत्सुकतालाई यो लेखन्तेले कसरी मार्न सक्छ र? भनिदिऊँ न त.....बलबहादुर अहिले वीरमानको भाषण सुन्न बजार झर्दैछ। वीरमान उनीहरुको विधायक हो र कुन्नि के-केको मान्त्री पनि हो, बलबहादुरले त्यति जान्दैन। वीरमानको भाषण भनेपछि बलबहादुर पहिल्यैदेखि हुरुक्क हुन्थ्यो। पहिलेको एकलकाँटे पार्टीलाई हराउनपर्दा पनि गाउँका केटाहरुसित उ रात-रातभर सडक-सडक हिंडेको थियो। भएन राँकेजुलुस अरे, हड्ताल अरे.....सबैतिरनै एउटा अपूर्व जोशसित कुदिहिंदेको थियो। त्यो जबरस्वाँठ पार्टीको शासनकालमा त्यसरी उखरमाउले कामहरु गर्नु पनि फलामको चिउरा चबाउनै बराबर थियो तर अरु आन्दोलनकारी युवकहरु जस्तै उ पनि रत्तिभर डराएन। पहिलो पार्टीको त्यस्तो जगजगी हुँदाहुणदै पनि उसले तीस फुट जति अग्लो बाँसमा अहिलेको पार्टीको झण्डा लगाएको थियो जसलाई उसले अझसम्म फुकालेको छैन चाहे त्यसको रङ्गनै किन निक्कै उडिसकेको नहोस्। एकपल्ट त मध्यराततिर पार्टीका मान्छेहरुसित उसको घरमा बास बस्न पनि आइपुगेको थियो वीरमान। त्यस्तो गरेरै अहिले उसको प्रिय पार्टीको शासन बहाली भएको हो। अब उ निर्धक्कसित हिंड्छ। घरमा आएका मान्छेहरुलाई पनि उसकोमा भएको पार्टीका पर्चाहरु बाँडिदिन्छ। उसको प्रिय पार्टीले जितेपछि वीरमान बोलेको सुन्न पाउने मौका यो प्रथमपल्ट हो बलबहादुरको निम्ति। उसलाई पार्टीका नयाँ-नयाँ कार्यक्रमहरु सुन्ने ठूलो इच्छा छ जसलाई उसले गाउँमा आएर धाकसित सुनाउन सकोस्।

विहान मान्छे ओसार्ने गाडी त पठाइएको थियो तर तल पात्तले अन्तरेकोमा सिरुको हिसाब मिलाएर फर्किँदा ढिलो भइहाल्यो बलबहादुरलाई। निक्कै पर्खेर हिंडेछन् अरुहरु चाहिँ। सडक उत्रेर तेर्सै लाग्यो बलबहादुर। पर.....रमितेडाँडा पुगेर उसले जोरथाङतिर फर्काई कान ठाडो पाऱ्यो। कताकता माइक बजेको सुनेपछि डाँडाघर ओह्रालोको चोरबाटो लाग्यो उ। दस बजेतिर बलबहादुर जोरथाङ पुग्दा वीरमानको भाषण सुरु भइसकेको थियो। बजारको पूर्व भागमा स्थित खेलामैदानभरि एकत्रित भएका मान्छेको बगुन्द्रो जमातभित्र पसेर बलबहादुरले पनि एउटा ठाउँमा गत्ताको फ्याङ्ला बिछ्याइवरी आफ्नो ठाउँ सुरक्षित बनायो र भाषण सुन्न थाल्यो। मैदान सत्तारुढ पार्टीको झण्डा र तोरणले झिलिमिलि थियो...अनि बलबहादुर चाहिँ त्यत्रो मान्छेको जमात देखेर एकप्रकारको हर्ष र आत्मगौरवले आल्हादित बन्दै गएथ्यो।

सडकदेखि मुनि र मैदानदेखि माथि अलिकति उठेको खाली भागमा बढेमाको मञ्च तयार पारिएको भित्र सत्तारुढ पार्टीका मन्त्री र विधायकगण बसेका थिए। मञ्चको बाहिर-भित्र टाइसुट लगाएका रवाफिला व्यक्तित्वहरु ओहोरदोहोर गरिरहेका थिए भने मञ्चभित्र विद्यमान मन्त्री र विधायकहरुलाई चाहिं चियाचमेना घुमाउने नवयुवतीहरु पनि देखिन्थे।सडकको एकातिर चाहिँ तिनीहरुकै होला.......छानामा रातो बत्ती भएका सेता गाडीहरु लस्करै थिए। हो त.....बलबहादुरका आँखाहरुले ती दृश्यमान वस्तुहरु एउटैलाई पनि छोड्न हुँदैन है! नत्र उसले कसरी गाउँमा गएर ती विपक्षी पार्टीका साथीहरुलाई ती सब सुनाउनसक्छ? ‘वाह’, बलबहादुरले मनमनै सोंच्यो, ‘भाग्गे भन्नेले पनि मन्छेलाई काँदेखि काँ पुराइदिन्छ नि!’

‘जितेको महिना-दिन भएको छैन...सरकारी गाडीमा तरुणी घुमाउन थाल्यो, के गर्छ भाषण?’

एक्कासी छेवैमा बोलिएको उक्त वाक्यले बलबहादुरलाई नराम्रोगरी तर्सायो। उसले त्यो बोल्ने मान्छेको अनुहार ठिम्याउनलाई पछिल्तिर फर्केर हेऱ्यो पनि।

‘त्यस्तै हो। भोट माङ्नु आउँदा भिजेको बिरालो...अहिले भेट्नु जाऊ त चिन्दैन हौ चिन्दैन’। अर्को झन् डरलाग्दो बोलेको सुन्यो बलबहादुरले।

‘तेसपछि इनारुलाई यो लुगाहरु काँ फिट हुन्छ र? ...सप नयाँ सिलाउनुपर्छ।’

ग-ल-ल-ल। हँसाइको प्रवाहले मञ्चबाट प्रसारित भइरहेको भाषणलाई पनि जितेर लग्यो। बलबहादुरले कान थुन्न चाह्यो तर सकेन। अन्ततः उ एउटा आन्दोलित मन लिएर त्यहाँबाट अर्को ठाउँमा सऱ्यो तर त्यहाँ पनि त्यस्तै टिप्पणीहरु मात्र सुनेपछि भाषणको क्रम पूरा नभईनै बलबहादुरले बजारको चिया-दोकानमा गएर एक गिलास चिया पियो.....तर त्यसले पनि उसको खिन्नतालाई पटक्कै पखाल्न सकेन।

‘देश चल्नुलाई नेताको मात्तै हात हुँदैन तर एउटा काम बिग्रिँदा जनताले उसैलाईनै सप्पै कुराको दोषी किन मान्छ?’...दिलाशाका ती व्यर्थ कुराहरु सोंच्दै बलबहादुर सरासर घरतिर लाग्यो। अनि त्यही मानसिक उथलपुथलले गर्दानै नयाँबजार विद्यासागरकोबाट पिठो किन्न पनि बिर्सेर उ साँझ नपर्दै घर पुग्यो। पिठो विषय लिएर तीर्थमायाले गरेकी मधुर गनगनतिर त्यति ध्यान दिन पनि सकेन बलबहादुरले।

त्यो बेलुकी बलबहादुरले सधैँकोभन्दा निक्कै कम्सल खाएर सुतेको घरकाहरुले थाहा गरे।

बलबहादुर र तीर्थमायाका ६जना मन्तानहरु भएकामा जेठाले आठ पढिसक्दै बुहारी भित्राएपछि घरमै छन्...र अरु ३जना छोराहरु र २जना छोरीहरु चाहिँ स्कूल जान्छन्। घरमा बस्ने जेठा छोरा र बुहारी त दिनभरिनै बारीमा खटिन्छन् भने स्कूल जानअघि र फर्किएपछि अरुहरु पनि त्यही बारीमै पुग्नपर्छ। कान्छीलाई मात्र घरमा आमालाई सगाउन भनी छुट छ। बलबहादुरको सम्पूर्ण आयश्रोत त्यही पाखुरीमै निर्भर परेको हुँदा र जहान पनि ठूलो भएकोले गर्दा घर चलाउन गाह्रै छ...तर कर्खनले गर्दानै दुइ छाक खान र एकसरो फेर्न चाहिँ धौधौ छैन।

त्यसरी धेरै दिनहरु बितेर गए।

‘औ, पञ्चेतले भनेको एस्तो भिरालो बारीमा त देवल लाउने पैसा दिन्छ अरे त सरकारले? एमेलेको सिफारिश मात्तै चाहिन्छ अरे। भयो भने यो आइतबार झरन है बजार...एमेले आउँछ अरे त’, एकदिन तीर्थमायाले भनी।

त्यो कुरा बलबहादुरलाई पनि थाहा थियो। तर उ केही बोलेन त्यसबेला। आइतबार आउनलाई अझै निक्कै दिन बित्नपर्ने थियो। त्यसको भोलि पनि त्यतिकै बित्यो तर पर्सी बेलुकी भने बलबहादुरले छोरो जेठालाई अर्तीपत्र धस्काउन लगाइवरी पञ्चातकोमा गएर सिफारिश पनि लेखन लगायो। अनि आइतबार विहानै सब्जीको भारीसित बाबु-छोरा बजार झरे। छोरोलाई सब्जीलाइनमा छोडिराखेर उ सधैँ विधायक आएर बस्ने दोकानमा गयो। बाहिर रोकिराखेको सेतो गाडी विधायककै हो भन्ने चिनेपछि उ दोकानभित्र पस्यो...त्यहाँ उसका चम्चेहरु र भेट्नआउनेहरुको भीड थियो।

‘तपाईंहरुले आज भेट्नु पाउँदैन एमेले सा’पलाई’, निक्कै पर्खिसक्दा भोटअघि खिनौरे र विनम्र देखिने अनि भोट सकेपछि चाहिँ बलियो-बाँका र घमण्डी भएको एकजना चम्चेले बाहिर आएर भन्यो, ‘अब...अर्को आइतबार आउनुस्।’

हँ? छक्कै पऱ्यो बलबहादुर। मान्छेहरुले भनेको ठीकै हो कि क्या हो? त्यत्रो दुःख गरेर, भोट लाएर जिताएर, गाउँको साधारण मान्छेलाई विधायक बनाएर.......भेट्न नपाउनु? यस्तो त कहिल्यै सोंचेको थिएन बलबहादुरले। हन...मुख पड्काएजस्तै केही गरेर पो देखाइदिन्छ कि भनेर सोंचेको त के हो यस्तो? बलबहादुरलाई आफ्नो अघिको स्तितिको विश्वास गर्न निक्कै गाह्रो पऱ्यो...तर आफूलाई सक्दो नियन्त्रण गरेर उ भीड्बाट पन्छिँदै बाहिर आयो।

‘तपाईंको चाहिं के काम थियो?’ बाहिर एउटा बूढोले उसलाई सोध्यो।

‘एउटा सिफारिश लिनु थियो’, बलबहादुरले भन्यो, ‘...खासमा चाहिं एमेले सापले के गर्दैछ हौ?’

त्यो बूढोले स्वर अलिक मसिनो पारेर भन्यो, ‘तास खेल्दैछ अरे हौ! जनताले जिताएपछि त्यही जनताको काम गर्न छोडेर हेरन पलापिएको। म त दुअपल्ट आइसकें अगि पनि...खै भेट्नु पाए पो!’

बलबहादुरले अरु केही सुन्न नसकेर त्यहाँबाट छोराले सब्जी बेच्दै गरेको ठाउँमा आयो। त्यो दिन सौदा गरिसकेर छोरालाई बोकाइपठाएपछि बलबहादुरले नयाँबजार कच्चा-गड्डीमा गई दुइ बोतल रक्सी ठाडोघाँटी लगायो। फेरि.....लड्दै-पड्दै उ आधाराततिर मात्र घर पुग्दा तीर्थमाया चाहिँ जागै बसेर उसलाईनै पर्खिरहेकी थिई।

अर्को आइतबार फेरि सब्जीको भारी बोकेर बजार झर्दा बलबहादुरले सुन्यो- उनीहरुको विधायकले कान्छी बिहा गऱ्यो भनेर। केटी चाहीँ सधैँ उसितै गाडीमा हिंडिरहनेनै हो अरे, जेठी स्वास्नी र नानीहरुलाई चाहिँ अलग्गै राखेर खर्च ठेल्ने भयो अरे.....इत्यादिहरु। त्यसपछि त धेरैवटा आइतबारहरुमा उसले छोरोलाई मात्र सब्जीको भारी बोकाएर पठायो र उ भने घरमै झोक्राएर बसिरह्यो। यसबीच छोरोले नै उसलाई विधायकले नयाँ गाडी किनेको कुरा सुनायो। त्यहीं कतै बिल्डिङ बनाउन सुरु गरेको कुरा पनि सुनायो। त्यही सूचनाहरुसितै वीरमानमाथि आश्रित बलबहादुरका तमाम आस्था र श्रद्धाहरु पनि छर्ल्याम-छुर्लुम फुटेर गए। वस्तुतः पुराना धारणाहरु सबै ढले...नयाँ केही उम्रिए- ‘समाज र व्यक्तिको आवश्यकता एवं सर्वाङ्गीन विकासको निम्तिनै यो सत्ता, यो प्रशासन स्थापित गरियो होला? यसैले जनसमूहको बहुमतलाई स्वीकारेर जनप्रतिनिधिहरु सत्तासिन गराइन्छन्। त्यही जनसमूहको प्रत्येक भोटमा अनेक सपना र आस्थाहरु आश्रित हुन्छन्। तर...जुन समाज प्रवृत्तिलेनै भाँडिएको छ, के त्यसबाट छानिएका जनप्रतिनिधिहरुबाट सही काम नहुनेनै हो त? परिवर्तनको अर्थ पनि त्यही पुरानै बिंडोलाई काँध हाल्नु भनेको हो भने यहाँ यस्ता भँडुवा नेताका व्यर्थका नीतिसित भावनात्मक सम्बन्ध किन राख्नु? हेर.....कति निर्लज्जतासित यहाँ जनताका भावनाहरुसित मुसा-बिरालोको खेल खेलिन्छ! त्यसो त त्यागबिना, निस्वार्थ सेवाबिना र दुरदर्शिताबिना...यो हाम्रो समाजको रुप बद्लिन कहिल्यै सक्ने होइन। साँच्चै.....संस्कार भन्ने कुरो पनि मान्छेको व्यक्तित्वभित्र समाहित रहेको हुनु कति आवश्यक छ.....’ इत्यादि-इत्यादि।

त्यसपछि त...झनै उदास रहन थाल्यो बलबहादुर।

एक साँझ.....बलबहादुरले चारैजना छोराहरुलाई बोलाएर परिश्रम र इमान्दारिता माथि केही भन्न चाह्यो। राजनीति र समाजलाई बुझाउने कोशिस गऱ्यो। भिखारी होइन योद्धा हुनुपर्छ भन्ने कुरा बुझाउन चाह्यो तर केही अस्पष्ट शब्दहरु बाहेक उप्रान्त बोल्न सकेन। त्यही साँझ.....तल बारीको पुच्छरमा गएर खुब रोयो बलबहादुर।

फेरि एकदिन.....बलबहादुरले घरमाथिको सत्तारुढ पार्टीको झण्डा उठाइराख्ने त्यो अग्लो बाँस उखेलेर टुक्रा-टुक्रा पार्दै आँगनमा थुपाऱ्यो र घरभित्रबाट पार्टीका पर्चाहरु पनि सोहोरेर त्यहीं थुपाऱ्यो र...डडाइदियो।

प्रिय पाठक!

त्यस दिनदेखि यता उ कहिल्यै कुनै पनि आइतबार बजार झरेन। उसको जेठा छोरा मात्र भारी बोकेर हाटहरु धाइरह्यो। बलबहादुरले गाउँघरतिर घुम्न पनि छोड्यो.....बारीमा काम गर्न पनि छोड्यो। उ दिनभरि घरमै झोक्राइरहन्थ्यो। फलतः दुइ-तीन महिना पनि नबित्दै बलबहादुर सुकेर सिट्ठा भयो र वर्षदिनभित्रमा त थला पनि परिहाल्यो। अस्पताल जान उ मानेन र डेढ वर्षको लामो अज्ञात रोग खपेपछि मृत्युसित पनि हाऱ्यो उ।।

निनादको निम्ति निनाद(२००१)बाट।।Pravin Rai Jumelihttp://www.blogger.com/profile/11540945451909399270noreply@blogger.com0tag:blogger.com,1999:blog-8114180470314575877.post-45171016848420404152011-04-19T22:20:00.000-07:002011-04-19T22:20:35.360-07:00बिन्दुको गाइनोएक्जाइलत्यस दिन बिन्दु सुटुक्कै नै ड-सित पसेकी थिई – फुड-कोर्टमा । ढ भने कता छाडियो, त्यो अहिलेको उसको चासो भएन। भनूँ अहिलेको यो क्षण उसले ड-लाई नै समर्पित गरिदिई। तापनि उसको आइफोनमा ढ-को कल घरि-घरि आइरहेथ्यो जसलाई उसले काटिदिइहाल्दथिई। ड-ले उनीहरु दुवैजनाको लागि फलको रस र पकौडा मगाइसकेको थियो।

उनीहरुको गफमा त्यस्तो खासै गहिराइ थिएन। तर बिन्दु आज केही असहज जस्ती देखिन्थी। ड-ले उसको आइफोन हेर्दै ‘बजारमा आउने सबै नयाँ-नय़ाँ ग्याजेटहरु तिम्रो क्रेज होइन?’ सोध्यो।

मुस्कुराई बिन्दु, त्यसपछि ‘रहर अब केको छ त्यो पनि सोधन’ पनि भनी। ड-ले प्रश्नमय आँखाहरु बिन्दुको अनुहारभरि छरिदियो।

‘आइप्याड्को ’, भन्दै छातीमा हात राखेर ‘थ्याङ्कयु एप्पल’ पनि जोडेकी थिई।

‘एप्पललाई चाहिँ किन थ्याङ्कयु?’, सोध्यो ड-ले।

‘आइप्याड्को सिर्जना नै त त्यसकै होइन अन्त?’ भनिनसक्दै बिन्दुको आइफोनमा म्यासेज-टोन बज्यो। ढ-ले ‘निष्ठुरी, अब म तिमी जहाँ छौ त्यहीं आउँदैछु’ भन्ने एसएसएस पठाएको रहेछ। बिन्दु सतर्क भई।

ड-ले उसको तनाउको कारण बुझे जस्तै गरी ‘कसको म्यासेज रहेछ?’ सोध्यो।

बिन्दुले उसको जन्मयसो नै ढ-सित पनि अफेयर चलाउँदै आएको कुरा सार्वजनिक विषय थियो। विशेषतः उसको जन्म नेपाली समाजमा भएकोले यी दुइभन्दा बाहेक अरुसित भने उसको लहसाइ थिएन भनिदिँदा असत्य हुँदैन। नेपाली स्त्रीहरुले बिन्दुबाट केही सिक्नपरे त्यही लहसाइको द्वैतताबाटै त्यस ‘केही’लाई दोहन गर्न सक्दथे। जसरी पुरुषहरुले धेरैजना बिहा गर्दा पनि सहजै स्वीकार गरिने समाजमा द्रौपदीले पाँच-पाँचजना पुरुषहरुसित सम्बन्ध कायम राखेर अपवाद सिर्जना गर्ने साहस जुटाएकी थिई, त्यसै दृष्टान्तबाट हेर्दा बिन्दुको द्वैत सम्बन्ध कतै अजायज लाग्दैन। यसलाई हामी द्रौपदीको उछृङ्खलता भनेर परिभाषित नगरी वर्षौंसम्म स्थापित मूल्य र मान्यता भञ्जित भएको यथार्थको दूर्पिनबाट हेऱ्यौं भने केही पाउनसक्छौं। विशेषतः समाज बनिनुको प्रागैतिहासिक कालदेखि नै नारीमाथि शोषण गरिँदै आइनुको पितृसत्ता यहाँ चुनौतीको घेराभित्र बाँधिन पुग्दछ। वास्तवमा बिन्दुको ड र ढ-सितको द्वैत सम्बन्ध पनि परम्पराको विनिर्माण थियो। परम्परा रुचाउनेहरु विनिर्माण, भञ्जन, परिवर्तन, ध्वंश आदि घटकहरुसित डराउँदछन्। यसलाई वर्जिनिया वुल्फले ‘कल्चर-कन्डिसनिङ’ भनेकी थिइन्। किनकि परिवर्तनपछिको अनाम विस्व र व्यवस्था जानिएकै हुँदैन। परम्पराले मानिसलाई अभ्यस्त बनाएको हुन्छ। विरोध र परिवर्तनको स्थापनाले नयाँहरुसित परिचित र अभ्यस्त बन्नपर्ने चुनौती थोपर्छ। चुनौतीका मोहीहरु कमै जन्मिन्छन् समाजमा। यसैले उनीहरु वर्षौंसम्म शोषण र पीडामा बाँचिरहन्छन्। हरेक जीवनको अर्थ मृत्यु नै हो भनेर जान्दा-जान्दै पनि मानिसहरुले बाँच्नको निम्ति हजार कायरताहरु उमारेर बस्ने गर्दछन्। तर बिन्दु कायर छैन।

अहिले भने ड-तिर फर्की उ खिसिक्क मात्र हाँसी र ढ-को एसएमएसको उत्तर स्वरुप ‘म अहिले गान्तोक बाहिर जाँदैछु। फर्केर बात गरौंला’ फर्काई। ढ-को पानीखेदोबाट बाँच्ने उसले खोजेकी यो डिजिटल उपाय भनौं। त्यति गरेपछि उ ढुक्क भई र ड-ले मगाएको जुस र पकौडातिर जाइलागी।

‘तिमी अब साँच्चै किताबहरुबाट उम्किएकी हो त?’, जुस पिउँदै सोध्यो ड-ले र फेरि ‘सुन्दैछु कम्प्युटरिकृत गर्ने क्रममा तिमीलाई त अर्कै keyमा जडान गरिएको छ अरे’ पनि थप्यो।

‘पृथ्वीबाट तारालाई तिमी के देख्छौ? पानीको अथवा माटोको सबैभन्दा सानो कणलाई के भन्छौ तिमी?’, सोधी बिन्दुले। सोधेर पकौडा चबाइरही, जुस पिएर अरु शब्द जोड्न मुख खोली, ‘उ त्यो स्त्रीको निधारको टीकालाई हेर। हेर उर्दुको फ़, ख़, क़ औ अङ्ग्रेजीको i र j लाई पनि। बिन्दुको बचाइको फाँटवार त्यहाँ-त्यहाँ पनि त पुगेकै छ।’ अझ बोल्दै गई उ, ‘तापनि म सोंच्दैछु यति र यसरी बाँच्नु मात्र पर्याप्त छैन मलाई। मैले मैभित्र उम्रिनलागेको विद्रोहको ताप बोध गर्दैछु अहिले-अहिले। म एउटा त्यस्तो आवाजको कल्पना गर्दैछु जो मबाटै जन्मियोस् र विस्वलाई थर्कमान पारोस्।’

‘आज मात्राहरुको बैठक बस्यो अरे यहींनेर। उनीहरुलाई तिम्रो निष्कासनले सतर्क बनाएको होला हगी?’ बिन्दु रोकिँदा अरु भन्दै गयो ड-ले र ‘के तिमीलाई आफू मात्रा औ वर्ण नहुनुको दुःख छ?’ पनि जोड्यो।

‘के तिमीलाई चाहिँ आफू वर्ण हुनुमा गर्व लाग्छ?’ सोधाइमाथि सोधाइ थपेर टेबलको सनग्लास र वालेट उठाउँदै दैलोतिर स्निकरयुक्त पयरहरु लम्काई बिन्दुले। फेरि केही पर पुगेर पछाडि फर्किँदै ‘प्लिज डोन्ट फर्गेट टु पे द बिल’ भनिराखी। ड-ले काउन्टरमा बिल तिरिसक्दा बाहिर एमजि मार्गमा लागेको टन्टलापुर घाममा सनग्लास चढाइएका उसका आँखाहरु पयरहरुभन्दा छिटो-छिटो कुद्नलागेका थिए। साथसाथै वरपरका मेस्कुलिन-आँखाहरु पनि उसले धरेकी जिन्स र टिसर्टमा टाँसिएर हिंडिरहेका थिए। ड-लाई पर्खिने उसित जँच्दो अर्थ थिएन। वल्लोपट्टिको ओह्रालो जाने सिंडी झरेर उ ‘राजश्री’को छेउ हुँदै ‘गुड बुक्स’तिर गई।

‘मेरो किताब आइपुग्यो?’, सोधी पुगेर। काउन्टरको अनुहारले अहँ-सूचक टाउको हल्लायो। किन? - भन्ने प्रत्युत्तरमा शब्द अफालेन तर बिन्दुले। के-के सोंच्दै उ फर्की सडकमा। उसले ज्याक लकाँ र जुलिया क्रिसटेवाद्वारा साइकोएनालिसिस र न्युरोसिसमाथि लेखिएका किताबहरु मगाएकी थिई त्यहाँ जो तर कुनै कारणवश आइपुगेको थिएन। नआइपुग्नुको कारणमा उसको चासो छैन किनकि दोकानेहरु बहाना बनाउन खप्पिस् हुन्छन् र त्यस्ता बहानाबाजीको शब्दविनिमयबीच अल्झिरहनु समय खेर फाल्नु हो बिन्दुको दृष्टिकोणमा। ड कतातिर लाग्यो होला – नसोंची हिंडिरह्यो उ।

पर्यटन कार्यालय अगाडि उभिएर उसले पुनः आफ्नो आइफोनमा एउटा नम्बर डायल गरी। अर्कोतिर ढ-को स्वर सुनियो। ‘म एमजि मार्गमै छु, आउँदैनौ……टुरिजम अफिस अगिल्तिर’ बिन्दुले भनी।

एकै मिनट पनि नबित्दै ढ बिन्दुको अगिल्तिर उपस्थित भयो र सोधिहाल्यो पनि, ‘अगि त कहाँ पो जाँदैछु भन्दैथ्यौ त?’

‘जोतिदिएको नी तिमी जस्तो हुस्सुलाई त्यस्सै’, मुस्कुराई उ।

‘अब मेचीपारि तिम्रो अस्तित्व नै हराइसक्यो भन्दा पनि हुन्छ। यता वारि पनि तिम्रो निष्कासन र वरण सम्बन्धमा ठूलो विवाद चलिरहेको छ। हामी जस-जसले तिमीलाई माया गर्छौं……..तिम्रो वकालती र चाहना गरिबस्छौं’, ढ-ले उसको मन खोल्न चाह्यो।

‘जसको भाग्य कलमको निबमा अल्झिएर बसेको छ उनीहरुको न त बोली छ न त आग्रहको शक्ति नै। त्यसो त हामी पनि आफूलाई जड होइन भन्ने किटान गर्छौं भने भञ्जन र परिवर्तनलाई स्वीकार्न पनि तयार हुनु जरुरी छ होइन र? कुनै न कुनै रुपमा त अस्तित्व हाम्रो पनि रहिरहला नी!’ केही उदास स्वर झिकेर भनी बिन्दुले।

ढ पनि त्यही ओवरटोनमा बोल्यो, ‘दुःख त केमा पो लाग्यो भने जोहरुले तिम्रो अस्तित्व बचाउने कुरा गरे उनीहरुले नै तिमीलाई भुले पनि।’

‘तिमीहरु बाँचे त भइगयो त होइन, अचानक बिन्दुले आफ्नो आवाज खिरिलो बनाई, वर्ण र मात्रा बिना नेपाली भाषाको लेखन कदापि पनि पूर्ण हुँदैन। यतिसम्म कि म जस्तै भएर पनि रेफ, चन्द्रबिन्दु र अनुस्वरहरुको पनि केही महत्व त म भन्दा बेसी नै रहिरहेको छ। म पो कहाँ तिमीहरु जस्ता निजाङ्ग्रेहरुको पुच्छरमा व्यर्थै झुन्डिनु पुगें त!’, हाँस्दै भनी बिन्दुले।

‘म त ब-को कथा पढेर छाँगाबाट खसेको थिएँ, बुझ्यौ? त्यहाँ त बिन्दु अहिले कोमामा छ बनेर पो लेखिएको छ त’, ढ छक्क परेको अभिनयसित भन्दैथ्यो, ‘अनि तिमी चैँ किन हाँसिरहेकी त?’ पनि सोध्दै।

‘अन्त रोएर पनि त भएन होला नी साथी?’, शान्त भएरै बोली बिन्दु र ‘म अर्कै कुरा सोंच्दैछु। तिमी मलाई एउटा सानो कुराको सहयोग गर्छौ?’ पनि थप्दै गई।

‘के कुराको?’ ढ-ले पनि सोध्यो।

‘म एउटा आइप्याड किन्न चाहन्छु। तिमी मलाई केही दिनको लागि केही सापटी दिनसक्छौ?’, सहजता कायमै छ बिन्दुको बोलीमा।

केहीक्षण नबोलिरहेको ढ-लाई यहाँ देखिरह्यो बिन्दुले। हजार कसम र मायाहरु रुपियाँको कथात्ममा आइपुग्दा धुलीसात बनेका उदाहरणहरूले झस्काइरह्यो उसलाई। मानिसले लेखेका गीत र कविताहरुले आत्मा, मन र पराभौतिकताको परिपाट लगाए तापनि सरीरको उपस्थितिबिना कसैले पनि उसको इच्छा र भोकको विपना पाएको छैन। बिन्दुले पनि एउटा सरीर बोकेकी छे जुन सरीर उमेरको ढल्काइसँगै स्थूल बनेर गइरहँदा ड र ढ झैं पुरुषहरुका माया पनि ढुङ्गा हुँदै गइरहन्छ। उमेर छँदै उनीहरुको त्यस्ता कायर इच्छा र लिप्साबाट केही दोहन गरिराख्ने स्वार्थ साँच्नु पनि आफ्नो यौवनको दुरुपयोग मात्र नभएर शोषणका अरु-अरु उपकथाहरु जोड्नु होइन कसरी नभन्नु र? बिन्दु सोंच्छे, यसैले, कि उसले आफूलाई आर्थिक परतन्त्रताको घेरा तोडेर बाहिर निकाल्नुपर्छ। त्यसले मात्रै उसलाई अरु शक्ति दिनेछ र कथित पितृसत्ताको विरोधमा आफ्नो अभियान जारी राख्न सक्नेछ पनि।

‘किन चाहियो नी तिमीलाई आइप्याड चाहिँ?’…….नबोलिएका केही क्षण बितेपछि ढ-ले प्रश्न गरेको सुनियो।

बिन्दुले वालेटबाट झिकेर केही लेखिएको कागजको टुक्रा देखाई जहाँ मारी वुल्सटोनक्राफ्ट, वर्जिनिया वुल्फ, सिमोन द ब्युवो, जुलिया क्रिस्टेवा, एलेन सुवाल्टर, केट मिलेट, टोरिल मोइ, गायत्री चक्रवर्ती स्पिवाक आदि अनेक नाम र उनीहरुद्वारा लिखित किताबहरुको सूची थियो। ढ स्वयं लेखक होइन, न त पाठक नै हो उ। कतै एक नेपाली लेखक नै भए पनि उसले यस्ता तमाम किताबहरु पढेको हुनु सम्भव नभएको अवस्थामा हुनेथ्यो उ किनकि ती किताबहरु नेपाली भाषामा अनुवाद नभएको अथवा नलेखिएको जिँउदो अवस्थामा बाँचिरहेको छ उ। त्यसै पनि अङ्ग्रेजीको उपनिवेशी आतङ्कले व्याप्त समाजमा उ झैं वर्णको अस्तित्व नै पनि सङ्कटको घेराभित्र पसिसकेको छ। पाठ्यपुस्तकबाट गेसपेपर, चिट्ठीबाट एसएमएस र इमेल, ज्ञानबाट मनोरञ्जनतिर हाम फाल्दै गइरहेको समाजमा वर्ण, मात्रा र बिन्दु झैं डाइक्रिटिक्सको अस्तित्व सङ्कटमा पर्नु कुनै छक्क पर्नुपर्ने विषय होइन। अब महाकाव्य र हजार पृष्ठको उपन्यास लेखेर साहित्यको अलख जगाउने समय छैन। आज प्रायः मानिसहरु (लेखक र पाठक दुवै) पढेको ज्ञानभन्दा सुनेको ज्ञानको भरमा बोल्नथालेका छन्, ब भन्थ्यो। कुनै नयाँ कुराको बारेमा जान्नपरे आज मानिसहरु पुस्तकालय जाँदैनन् तर इन्टरनेट खोल्छन्। यस्तै लेखक र पाठक दुवै रुपमा असफल भएको ढ अहिलेलाई बिन्दुको लागि खतरा उत्पादक थिएन।

‘लौ तिमी भन, यी किताबहरु किनेर सबै एकैपल्टमा बोकेर हिंड्न सक्छु म? तिमी हिंड्नसक्छौ?’ बिन्दुले भनी, ‘तर यी सबैलाई मैले आइबुक(पिडिएफ) फर्मेटमा कुनै ल्यापटप अथवा आइप्याडमा डाउनलोड गरेर त बोक्नसक्छु नी औ जहीँ र जतिबेला पनि खोलेर पढ्नसक्छु, होइन? अनि……मैले देखेको त्यो आइप्याड चाहिँ आइबुक कम्प्याटिबल रहेछ। भनूँ ठूलो आइफोन जस्तै।’

‘अनि यो तिम्रो आइफोनमा चाहिं त्यो सबै हुँदैन?’ ढ-ले व्यर्थ बहस गऱ्यो किनकि त्यसले बिन्दुको जिद्धीपनलाई कदापि पनि जित्ने होइन। ‘फेरि ल्यापटपले नै पनि त काम चल्र्ने रहेछ त?’ बहस अझ तन्काइरह्यो उसले।

केहीक्षण नबोलेकी भइरही बिन्दु। फेरि भनी केही गम्भिरतासित, ‘दिँदैनौ भने चाहिँ लामो गफ नछाटौं होला साथी! म हिंडें है।’

‘ए पर्ख, पर्ख न ए’, भन्ने ढ-को आग्रहले हिंडेका उसका पयरहरु थामिएका झैं भए। त्यो वाक्यले केही आशा उमारेको जस्तो थियो अथवा बिन्दुको त्यसरी हिंड्नु स्वयं पनि दोकानेसित भाउ नमिल्दा पल्लो दोकानतिर गई किनूँला भन्ने धम्की जस्तो मात्रै पो थियो कि? ड-सित बिन्दुले सद्भावनाको आशा गर्न सक्तिनँ, यसैले आइप्याडको निम्ति पनि ढ-सितै सापटी आग्रह गरिनु बिन्दुको वाद्यता पो थियो कि? खेल एउटी नारीद्वारा खेलिएको थियो, उसै केही ठोस भनिहाल्न नमिलेको भनूँ यसैले। बिन्दुको जाने अभिनय र उद्वारा भनिएको वाक्यले त्यसरी अल्झाउनुमा मनोरञ्जनको भास पाइरहेथ्यो ढ-ले।

‘दिऊँला नी, रिसाइहाल्नुपर्ने त थिएन त’, फेरि ढ-द्वारा बोलिएको यति वाक्य नै पर्याप्त भयो बिन्दुको अनुहारमा मुस्कान फर्काइल्याउन।

‘हाउ प्लेजरेबल ’, बिन्दु हावामा उँडी, ‘यसलाई पो भन्छ त रियल एडमिरेसन। तिमी सफल भयौ ढ तिम्रो परीक्षामा। थ्याङ्कयु वेरी मछ्।’ फेरि झन्डै अँगाली पनि ढ-लाई। वरपरबाट अनेकौं आँखाहरु उनीहरुलाई ताक्न व्यस्त थिए, त्यसैको छ्यानले सतर्क गरायो दुवैलाई।

‘कम अन बोइ, यसको खुशीयालीमा म तिमीलाई आमिर खानको ‘पिपली लाइव’ देखाउँछु’, भन्दै हिंड्ने आग्रह गरी बिन्दुले ढ-लाई। दुवै नारायणदासको छेउ हुँदै डेन्जोङ सिनेमा-हल पुगे। १ बजिसकेको थियो तर २ बजेको ‘सो’को टिकट काट्नलाई १.४५-सम्म पर्खिनुपर्ने रहेछ।

‘अब के गर्नु?’ सोध्यो ढ-ले।

‘यतै गफ गर्दै उभिबसौं न हुँदैन?’ भनी र हल अगिल्तिरको फलामे रेलिङमा ठडिन पुगी। ढ-ले पनि त्यसै गऱ्यो। ‘तिमीलाई थाहा छ…..यस सिनेमामा नत्थू झैं एक दलित-शोषित कमनम्यानको माध्यमद्वारा मिडिया र राजनीतिको असली चित्र देखाइएको छ। वा…व, आमिर इज जिनियस।’ पनि जोडी बिन्दुले।

‘तिमीले त हेरिसकेकी पो हो?’ ढ-ले केही अचम्भसित सोध्यो। ‘अम्म्म…..वेट फर वन मिनेट ’, भन्दै उ अलिपरको पानदोकानतिर गई र केही प्याकेट चिप्स र जुस किनेर फर्की र अगिकैमा थपी, ‘फरक केही पर्दैन मिस्टर ढ। मैले आजको दिन तिम्रै नाममा लेखिदिइसकें….अन्डरस्टुड?’

ढ-को मनमा आइप्याडको दामलाई लिएर उथलपुथल अगिदेखिनै थियो। तैपनि जिज्ञासा पोखाइहाल्दा फेरि बिन्दु तर्सुवा गाई झैं बन्ने पो हो कि…..भन्ने डरले त्यसबारे सोधिहाल्न नसकिरहेको थियो। उ सोंचिरहेथ्यो कि उसले जीवनमा खाई-नखाई गरेको बचतले ठूलो मूल्य राख्दछ। कतै सापटै नतिरी बिन्दु पनि चम्पटराम भई भने? कालो कमाइको बारेमा त उसले हजारौं गफडाबाजी सुनेको भए तापनि आफ्नो पसिनाको कमाइ व्यर्थ खर्च गर्न मन नमानेको बहस पनि उसित छ। तथापि अर्कोतिर बिन्दुको इच्छाले उसको बाटो रोकिराखेको हुनु पनि तगारोकै रुपमा खडा छ अहिलेघडी। उसको के गरौं-को दोधारलाई तर बिन्दुको ‘निधारमा यी कस्ता धर्साहरु उमाऱ्यौ मिस्टर ढ?’ भन्ने प्रश्नले खज्मजाइदिएको थियो।

केही क्षण पर्खिनुपऱ्यो बिन्दुले उसकोबाट उत्तर पाउन।

‘केही होइन, म सोंच्दैथिएँ कि आइप्याडको दाम चाहिँ कति होला भनेर?’ केही घुमाएर भए पनि उसले कुरा चाहिँ भनिछाड्यो, ‘त्यति रकम ब्याङबाट झिक्नपर्ने भयो नी त, होइन?’

‘डलरमा भनूँ?’, तर उसको मनको हाउलाई हावा दिने जस्तो थिएन बिन्दुको उत्तर। सायद बाँकी दिने उ भएपछि त्यस चिजको मूल्य जान्नु पनि उसकै अधिकारभित्र पर्छ होला। बिन्दुलाई हेर्दै उ मुस्कुरायो। बिन्दुले वालेटबाट पेन झिकेर उसको हत्केलामा ‘$499’ लेखिदिई। त्यसलाई उसले मोबाइलको कन्वर्टरमा हालेर हेऱ्यो। २२९७२ रुपियाँ।

त्यसको भोलिपल्ट ढ-ले बिन्दुको हत्केलामा माथि उल्लेख गरिएको रकम ब्याङबाट झिकेर थम्याइदिएको थियो। त्यसको धेरै दिनपछि मात्र बिन्दुले ढ-लाई फोन गरेर एमजि मार्गमा बोलाई र त्यो आइप्याड देखाई। त्यो आइप्याड त थ्रिजि पनि रहेछ। अनि त्यसभित्र कैद गरिएका अनेकौं आइबुकहरू पनि देखाई। ढ-ले सर्सर्ती हेर्दा अ विन्डिकेसन अफ द राइट्स अफ वुमन, अ रुम अफ वन्स ओन, द सेकेन्ड सेक्स, फेमिनिस्ट क्रिटिसिजम इन द वाइडरनेस आदि-आदि थाहा गऱ्यो।

केहीक्षणपछि ‘सबै अङ्ग्रेजी मात्रै रहेछ’ पनि भन्यो।

‘सबै अङ्ग्रेजी होइन, कतिपय अङ्ग्रेजीमा अनुवाद गरिएका हुन् ’, जवाफ फर्काई बिन्दुले। त्यसपछि उसले प्याट्रियारकल, मेस्कुलिनिटी, जेन्डर-बायस, पर्सुएसन, विनिवोलेन्ट डिक्टेटरसिप, गाइनोक्रिटिसिज्म आदि अनेकौं शब्दहरुमाथि वक्तव्य छाँटी। त्यस दिन ढ लाटो श्रोताको रुपमा अनुवाद भएर बसिरह्यो, बस् बसिरह्यो मात्रै। अन्तमा बिन्दुले ‘म विवाह कहिल्यै कसैसित गर्दिनँ ’ पनि भनिराखी र बेपत्ता भई। उसको फोन-नम्बर नट-रिचेबल भयो र उसको इमेल प्रतिक्रियाहीन। एकदिन ड-ले उसलाई फोन गरेर भन्यो कि बिन्दुले उसकोबाट चलाएको सापटी त्यहाँ छाडिराखेकी छे भनेर।

‘हे मिस्टर ढ, म अब नेपाली वर्णहरुको रखैल रहिनँ। म डाइक्रिटिक्स भएँ।’ बितेका अनेकौं दिनहरुपछि फेरि ढ-ले यो खबर आफ्नो इमेलको इनबक्समा फेला पाऱ्यो। त्यसैदिन उसले मेट्रो-पोइन्ट नजिकै अवस्थित जैनको बुक्समा गएर भर्खरै छापिएको अक्सफोर्ड डिक्सनेरी किन्यो र घरमा गएर पल्टाउँदै हेऱ्यो। त्यहाँ हरेक i र j को शीर-शीरमा र फूलस्टपहरुमा पनि उभिएर आफ्नो गाइनोमुस्कान छरिरहेकी थिई बिन्दुले।

‘बिन्दुलाई हाम्रो खुट्टा-खुट्टामा झुन्ड्याउने व्यवस्था चाहिँ कसले बनायो होला? बिचरी, एउटी नेपाली अबला यसरी कति बिचल्नी भई?’- नेपाली वर्णमालाको गुन्द्रीमाथि पल्टिएर सोंचिरह्यो ढ-ले चाहिँ।।Pravin Rai Jumelihttp://www.blogger.com/profile/11540945451909399270noreply@blogger.com0tag:blogger.com,1999:blog-8114180470314575877.post-35619110409410175792011-04-18T01:20:00.000-07:002011-04-18T01:20:13.808-07:00भक्तेले स्कूटर किनेन‘आसकाल त जोरथाङमा पनि माङ्नेहरू कत्ति धेरै फैलिएछ हौ!' बजारबाट भर्खरै आएको भक्तेले लुगा फेर्दै गर्दा धनमायालाई भन्यो।

‘जाँगर हराएपछि तेसरी नै त पलापिन्छ मान्छे ', प्रत्युत्तरमा चाहिँ त्यसो भनी धनमायाले पनि।

तर हतारले गर्दा त्यति कुरा बढ़ाउँनै पाएन भक्तेले, लुगा फेरिसकेपछि हातमा केही सिफारिश-पत्रहरू अँठ्याएर ऊ स्कूलतिर कुदिहाल्यो।

"अब कहाँ कुदेको हौ एति हतारसित?', धनमायाले त्यो सोद्धा ऊ आँगन पनि ओर्ह्लिसकेथ्यो।

‘स्कूटर किन्ने मेलोमेसो गर्नु हौ ' भनेर हाँस्दै टाड़ियो भक्ते चाहिँ।

डाँड़ामा निस्केर स्कूलको प्रांगनतिर निक्कै चियो गर्दा उसले त्यहाँ थुप्रै मान्छेहरू सल्बलाइरहेको देख्यो। आज त्यहाँ उनीहरूको मन्त्री-महोदय आउनेवाला छ र गाउँलेहरूलाई चाहिँ आफ्-आफ्नो दुःखहरू सुनाउनुपर्ने सार्वजनिक निमन्त्रणा भएकोले नै उ पनि त्यतातिर जाँदैछ। मन्त्री-महोदय क्षेत्रीय विधायक पनि भएकाले गाउँलेहरूका ‘माङ'-हरू धेरथोर पूरा हुन्छ कि भन्ने आशा छ, भक्तेको मनमा।

भक्ते स्कूलको प्रांगनमा सेंसें र फेंफें भई पुग्दा प्रांगनभरि नै गाउँलेहरू झुण्ड-झुण्डमा बाँटिएर गफ गर्नमा मस्तराम देख्यो। तिनीहरूका व्यग्र आँखाहरू मन्त्री आउने सम्भावित दिशा - सिम्बल डाँड़ातिर घरिघरि उठिरहन्थे। अथवा मन्त्री आइपुग्नासाथ आफ्नो दुःखेसो लिएर सबैभन्दा अघि पस्रिने व्यग्रता सबै चेहराहरूमा समान्तर रूपले बसेको देख्न पाइन्थ्यो। ती झुण्डहरूमा पनि पञ्चायतहरू एकतर्फी, सरकारी नोकरीवालाहरू एकतर्फी, चेली मोर्चा एकतर्फी, लफङ्गे केटाहरू एकतर्फी र सिधा-साधा गाउँलेहरू एकतर्फी छुट्टिएर बसेका थिए। त्यहाँ भेला भएका सार्वजनिक अनुहारहरूले जात-जातका अभिव्यक्तिहरू बोकिराखेका थिए तापनि भक्तेलाई कता-कता थाहा थियो कि तिनीहरूका प्रवृत्तिमा समाविष्ट छद्म अनुहार भने एउटै छ। जुन भीड़मा उसले पनि आफ्नो अनुहार खोज्नलाई नै यसरी हाटबजारमा राम्ररी किनबेच पनि नगरी मन्त्री महोदयको एक झलक पाउने लालसासित यहाँ आइपुगेको छ।

‘आइपुगेको छैन रैछ नि बूढ़ो?' भक्तेले नजिकै उभिरहेको लालबहादुरलाई सोध्यो। लालबहादुरले चाहिँ ओंठ लोफ्राएर टाउको मात्रै हल्लायो, बोली फुटाएन। भक्ते घुम्दै पर पञ्चायतहरू उभिएका ठाउँमा पनि पुग्यो, पञ्चायतहरूले उसलाई सशङ्कित पाराले हेरे। ‘यहाँ सबैकै एउटा-एउटा दाउ छ। एउटाले अर्कोको भाग पो खोसाइदिन्छ कि... अथवा अरूले थाहा नपाई भित्र-भित्रै गर्दै गरेको धाँदली पो चाल पाइहाल्छ कि? भनेर चंखो बस्नैपर्छ। म मात्रै लाटा भएछु, सरकार दाइने हुँदा पनि केइ त खोसाई खानै सकेको छुइनँ ' इत्यादि कुराहरू भक्तेले सोंच्यो।

‘मिनिस्टर सापको लागि एसो गेट्-सेट् बनाउनु पनि सल्लै पो भइना नि?' भक्तेले केही मधुरो स्वरमा सोध्यो।

प्रत्युत्तरमा, पञ्चायत सचिवले नै ‘हिज-अस्तिसम्म गाउँमा पिरा पनि नपाउने मोरो - भाग्गेले मात्रै चौकी पाको हौ। केको गेट् र सेट् चाहियो?’ भनिदियो।

भक्तेले अरू केही सोध्न सकेन र चेली-मोर्चाका कर्मठहरू बसेका पल्लोपट्टि डीलमा गएर एउटा बिँड़ी सल्कायो। गैह्री खोल्सामा झोड़ा बॉंध्ने विषय लिएर टी.बी. सरलाई लेख्न लगाएको अर्जीपत्र एकपल्ट खोलेर हेऱ्यो उसले। ‘त्यो काम पाए....?’ उसको पनि ठूलो सपना लुकेर बसेको छ त्यहॉं - स्कूटर किन्ने सपना। यो सरकार बहाली भएदेखि यता गाउँमा थुप्रै बेकारी केटाहरूले स्कूटर कुदाउन थालेको दश्य झल्झली आँखैमा छ उसको। स्वास्थ्य उप-केन्द्रमा खाँबोहरू नलाएर हुन्छ कि, पार्टीको मिटिङमा विधायकले दिएको मान्छे ओसार्ने गाड़ीको पैसा खाएर हुन्छ कि, मेलामा ‘हउजी' खेलाएर हुन्छ कि, टेण्डर-सेन्डर हुँदा ‘युथ' बॉंधिएर ‘पर्सन्टेज' खाँदै हुन्छ कि - लाटा जनता र देशलाई नै लुट्नुपर्ने त रहेछ नि? खै, सरकारले पनि केही नगर्दो रहेछ त? उहिल्यै बाजे-बराजुको पालादेखि यता... बारीमा दशनंग्री खियाएर त कसले पो के गर्नसकेको छ र? यसरी लाटा भएर बसिरहॅंदा त सबैले नै पो छोड़िराख्ने रहेछ है...', सोंच्दा सोंच्दै भित्रैदेखि हताश भएर आयो भक्ते। त्यसरी उसले एउटा बिँड़ीको आधाभन्दा बेसी भागलाई धुँआ बनाइसक्दा मात्र ‘मिनिस्टर साप आयो है’ भन्ने हल्ला सुन्यो। एकाध मान्छेहरू ग-र-र-र सिम्बल-डाँड़ातिर कुदेर पनि गए, एकाध चाहिँ सिरीमानको घरदेखि यतै अल्याङ-टल्याङ गर्दै बसे। केही क्षणपछि-कमिलाहरूले घेरिएको किरा झैं भएर मन्त्री-महोदय स्कूलको प्रांगनमा आइपुग्यो र.. पञ्चायत र युवामोर्चाले प्रबन्ध गरेको चौकीमा बसेको देख्यो भक्तेले, त्यसपछि त गाउँलेहरूले पूरै घेरिहाले। घेरिनु मात्रै होइन तर निम्न प्रकारका शब्दाक्रोशहरू पनि वैरिन थाले-

‘पञ्चेतले बनाको लिस्टी भइना, च्यादरको लागि नयाँ लिस्टी बनाउनुपर्छ।'

‘मन परेकोलाई मात्र दिएर हुँदैना, गरीबले पैला पाउनुपर्छ।'

‘नोकरीवालहरूले चाहिँ केइ पाउँदैन भने भोट पनि नहाल्दा भयो हैन?'

‘अम्लिसो रोप्ने लोन केना मैले पाइना?'

‘बिरुवा रोप्ने पैसा एक पैसा नबाँटी पञ्चेतले सप खाको छ।'

‘एमेले भएर गाउँमा के-के हुँदैछ केना खोज्दैनौ?'

‘भाषणमा त ठूल्ठूलो कुरा गर्थ्यो... खै पुऱ्याएको?'

‘भोट नसकिञ्जेल आऊ-आऊ, भोट सकेपछि जाऊ-जाऊ, क्याउ एस्तो?'

बिचरा, मन्त्री महोदय? प्रश्नहरूको यति भयानक दहमा फॅंसेका थिए कि उनको अस्तित्व नै डुब्न लागेको थियो। उनीसित आउने केही चम्चे र सुरक्षाकर्मीहरूको प्रयास पनि भिड़लाई साम्य पार्नुबाट नाकाम भएका थिए। फेरि एक्कासी... पञ्चायत, युवा-मोर्चा र चेली-मोर्चाबीच नै भयानक भनावैरी शुरू भयो र ‘ढ्याक ', ‘ढुक ', ‘प्ल्याट' जस्ता इत्यादि हाथापाइका स्वरहरूसितै ‘अइया', ‘आत्था', र ‘माऱ्यो नि' भन्ने शब्दहरू पनि भुइँका धूलोहरूसितै उछिटिँदै बाहिर आउनथाले। कमिलाको गोला फुटे झैं भीड़ छरपस्टिँदा मात्र मन्त्री महोदय पनि फुत्केर आफ्ना सहकर्मीहरूसित सिम्बल-डाँड़ातिर कुदे जहाँ उनको गाड़ी रोकिएको थियो। यता भीड़ले चाहिँ हाथपाइ छाड़ेर अब अश्लील गाली र किसिम-किसिमका आरोपहरूले एकार्कालाई हानाहान गर्न लागेका थिए। भुइँभरि सिफारिश पत्रहरू छरपस्टै लड़िरहेका थिए र मन्त्री महोदयको कालो चश्मा पनि एकातिर कच्चाक-कुचुक परेर लड़िरहेको थियो।

भक्ते, मनभरि आशंका र डरहरू लिई अघि नै कुदेर स्कूल माथिको किम्बूको रूख छेउमा पुगिसकेको थियो। उ त्यहीं फ्यात्त बस्यो, किंकर्तव्यविमूढ़ थियो उसको दिमाग। तर निक्कै-निक्कै बेरपछि उसले त्यहीं मुनितिर लड्न-लड्न आँटेको पुरानो स्कूललाई हेऱ्यो, जसको विषयमा चाहिँ कसैले केही-केही बोलेन। उसले गाउँलेहरूले भोग्नपरेको पानीको दुःखलाई सोंच्यो - जसको विषयमा पनि कसैले मन्त्री-महोदयलाई केही नै भनेन। उसले स्वास्थ्य उप-केन्द्रको हाल पनि झल्झली देख्यो जो एकजना गुरूबाबुको घरमा कुचुक्क परेर बसेको छ। गाउँको शीर्षमा अवस्थित आहाले जङ्गलको सुरक्षार्थ ‘मस्टर-रोल'-मा मान्छे राख्ने सम्बन्धमा, स्कूलमा गणित र विज्ञान पढ़ाउने शिक्षकहरूको अभाव विषयमा, बिरुवा रोप्ने सम्बन्धमा... अहॅं कसै-कसैले पनि सिफारिश गरेन। उसलाई लाग्यो-कहींबाट पनि आउन पर्दैन रहेछ भिखारीहरू यो देशमा, तिनीहरू त यहीँबाट पो उम्रिँदा रहेछन्। तर उसको कल्पनामा चाहिँ त्यति भयानक तस्वीर आजसम्म बन्नसकेको थिएन, जस्तो भर्खरै मात्र उसले देखिसकेको छ।

ओफ! अचानक भक्तेले हातमा अँठ्याएको अर्जी-पत्रहरू च्यातेर टुक्रा-टुक्रा पारिदियो र चुपचाप घरतिर लाग्यो। उ घर छेउसम्म आइपुग्दा पनि तल स्कूलको प्रांगनबाट चाहिँ चिच्चाहटका स्वरहरू आइरहेका थिए। बेलुकीको खाना खाएर धनमाया र नानीहरू ओछ्यानमा पस्दासम्म उ अगेनाको डीलमा नै आगो ताप्दै बसिरह्यो। समयको छ्यान उसलाई रहेन, सधैं ठट्टा गरिरहने भक्तेको आज त्यस्तो गम्भीर रूप देखेर धनमाया पनि छक्क पर्दै निदाई।

त्यसरी नै धेरै दिनहरू बितेर गए। आफ्नो दैनिक क्रियाकलापमा भक्ते हिज-अस्ति भन्दा ज्यादै खट्नथालेको तर.. सधैंभन्दा निकै कम्ति बोल्न थालेको कुराहरू धनमायाले पनि थाहा गरी। त्यसपछि पनि कतै-कतै मन्त्री-महोदयहरू आएका र आउनेवाला खबरहरू सुनेर पनि उ त्यतातिर गएन। प्रत्येक दिन नभए तापनि केही दिन बिराएर.. ‘स्कूटर’ किन्ने रहर दोहोऱ्याइरहने भक्तेले त्यसउसो त्यो कुरोलाई झिकेन, धनमाया छक्क पर्थी।

एकदिन भक्तेले उसको घरको सिकुवाको खाँबोमा झुण्डिरहेको सानो ऐनामा आफ्नो अनुहार हेऱ्यो। सधैंको भन्दा निकै अर्कै-अर्कै भइसकेछ ऊ... र हेर्दाहेर्दै उसको त्यो अनुहार बिस्तारी तन्किँदै र खुम्चिँदै घरि पञ्चायत-सचिवको जस्तो, घरि चेली मोर्चाको सभापतिको जस्तो, घरि मन्त्रीको चम्चेको जस्तो.. भइरह्यो। हॅं? उसले अनुहार झट्काएर ऐनामा राम्ररी हेऱ्यो र आवेशले गर्दा मुखभरि जमिएको थुक ऐनाभित्रको त्यो आफ्नै अनुहारतिर थुकिदियो... ‘थू'। अनुहारमा भने कुनै प्रतिक्रिया आएन तर थुक चाहिँ ऐनाको सतहमाथि बग्दै-बग्दै गएर भुइँसम्म चुह्यो.... तु-यु-यु-यु। अनि भक्तेले उसको अधुरो बाल्यकाल, अधुरो यौवनावस्था... र समग्रमा भन्नु हो भने उसको अधुरो जीवनलाई नै सोंच्यो।

‘धना!' ओछ्यानमा पसेर बत्ती पनि निभाइसक्दा एकदिन भक्तेले धनमायालाई उसको फुलनामबाट बोलायो, ‘लालेले भन्थ्यो सिलगढी जान्दा प...रतिर सिभोक रोड भन्नेको छेउछाउ थुप्रै बाँदरहरू बसिरहेको हुन्छ अरे; मान्छेहरूले गाड़ीबाट फ्याँकिदिएका खानेकुराहरू पर्खिन्दै-पर्खिन्दै बसिरहन्छ अरे; फेरि.. कसैले फ्यँकिदियो भने बाझ्दै लुछाचुँड़ी गरेर खान्छन् अरे; सुन्यौ? त्यहाँ एउटा लङ्गड़े बाँदर पनि छ अरे...र त्यसले चाहिँ त्यो खोसामारमा कहिले केही पाउँदैन अरे। के त्यतातिरको जङ्गलभित्र गिठा-भ्यागुरहरू छैन र?’

कहिल्यै सिलगढ़ी नगएकी र कहिल्यै ‘सिभोक रोड’-को वरिपरि फैलिएका पटेर जङ्गल नदेखेकी धनमायालाई भक्तेको त्यो प्रश्नको उत्तर दिन निक्कै चर्को पऱ्यो, तापनि पतिदेवको मन राखिदिन ‘किन नहुनु होला र?..। तरूल, कन्दमूल नभएको जङ्गल पनि कहीं हुन्छ र?’ भनिदिई।

‘हो', केही बेर बिसाएपछि भक्तेले भन्यो, ‘ठीकै भन्यौ.. जङ्गली फल, तरूलहरू नभएको जङ्गल कहीं हुँदैन। हाम्रो बाबुले भन्थ्यो- उहिले हाम्रो गाउँमा बजारको बगड़ा खाने पनि कोही-कोही हुन्थेन अरे; बारीमै उमारेको अन्न र साग-सब्जीले मनग्गे पुग्थ्यो अरे, अनिकालमा मात्तै त मान्छेहरू यो माथिको आहाले जंगलमा गिट्ठा-भ्यागुर खन्न जान्थ्यो अरे; र पनि.. मान्छेलाई ठीकै थियो। सप्पै मान्छेहरू खुबै मिलेर बस्थे अरे गाउँमा पनि।’

बोल्दा-बोल्दै बिचमै रोकियो भक्ते। धनमायाले मात्र भक्तेको लामो निश्वासलाई सुनी। दुवै धेरै बेरसम्म केही बोलेनन्। निक्कै-निक्कै बेरपछि भक्तेले अघिकै कुरामा- ‘अहिले हेर, गाउँ-गाउँमा सरकारले विकास दिएको छ, सप्पै पढ़े-लेखेको छ, कुरा ठूल्ठूलो गर्छ... र पनि मान्छेहरू किन नमिलेको होला? किन पशुजस्तो भएको होला? हो, नभई नहुनेहरूले त पाउनैपर्छ तर पुगिसरी हुनेहरूले चैं लोभ र स्वार्थले गर्दा आफ्नो धर्म-कर्म, मान-मर्यादा सप्पै बिर्सिनु ठिक हो?' भनेर थपनी जोड्यो।

‘तर... यो सब थाहा भएर पनि कसले बुझिदिन्छ र? कि आज धनराज सरदारले खोसाउँदा टीबी सर ठगिन्छ भनेर; टीबी सरले लिन्दा लाले पछिपर्छ भनेर; लालेले माग्दा म लुटिन्छु भनेर र... मैले थाप्दा थुलुङहरू मर्छ भनेर? ....बुझेरै पनि कसले कति छोड़िदिएको छ र?’ फेरि अचानक नै भक्तेले बत्ती जलायो। ‘के मेरो अनुहार माग्नेको जस्तो छ?', उसले आफ्नो अनुहार धनमायातिर फर्काउँदै सोध्यो।

के भन्ने धनमायाले? उसले चुपचाप सानो नानीलाई झैं भक्तेलाई सुताई र बत्ती पनि निभाई।

‘धना!' अनि केहीक्षणपछि भक्तेले धनमायाको छात्तीभित्र मुख लुकाएर भन्यो, ‘म स्कूटर किन्दिनॅं ल?' कुन्नि किन हो, धनमायाले भक्तेका आँखाहरू छाम्दा, भिजेका पाई।।

साभार : निनादके निम्ति निनाद (२००१)Pravin Rai Jumelihttp://www.blogger.com/profile/11540945451909399270noreply@blogger.com0tag:blogger.com,1999:blog-8114180470314575877.post-86586716722231189432011-04-17T22:42:00.000-07:002011-04-18T01:18:20.120-07:00एउटा कविको मृत्युगाडीबाट उत्रिएपछि मनकुमारले त्यसै सहरको रैथानेझैं देखिने एकजना मान्छेसित सोध्यो, ‘विद्रोहीज्यू कहाँ बस्नुहुन्छ होला?’

‘को विद्रोही हौ?’

के भन्ने उसले? ‘विद्रोही’ले कविता लेख्थ्यो भन्ने हो भने उक्त प्रश्नकर्ता कविताको देशबाट पनि निष्कासित झैं देखिन्थ्यो। उसलाई लागेको थियो- ‘विद्रोही’को नाम लिनसाथ त्यस सहरका मानिसहरुका आँखा जिज्ञासाले चम्किनेछन् र उसलाई ‘विद्रोही’को कवि-कुटिरसम्म पुऱ्याउन हरेक कोही अघाडि सर्नेछन्। तर अहँ.....त्यस्तो कदापि भएन। मनकुमारसित ‘विद्रोही’को अरु प्रकारको परिचय पनि थिएन जसको सहयोगले त्यहाँका जो कसैले पनि त्यस कविको ठेगाना ठ्याक्क बताइदिन सकोस्। उसलाई लागेको थियो ‘विद्रोही’का विदेरोहपूर्ण कविताहरुनै उसको परिचय दिन प्रयाप्त होला भनेर। फेरि त्यस ठाउँलाई छाडेर उ निक्कै वरसम्म आयो। पहिलाको जस्तो रहेन रहेछ अब त्यो सहर। गाडी र बिल्डिङहरुको समुद्र भइसकेछ त्यो त।

‘बाजे!’....एकजना निक्कै बूढो मान्छेलाई बोलाएर उसले सोध्यो, ‘त्यहाँनेर एउटा पिपलको बोट थियो। वर्षौंपहिले त्यसैको फेदमा कविगोष्ठी भएको थियो...सम्झना छ?’

तर त्यस बूढोका कुइरे आँखाहरु चाहिँ त्यो सिटी फुकिरहेको ट्राफिक-पुलिसमाथि पुगेर अडिन खोजिरहेका थिए जसको जुत्तामुनि वर्षौंपहिले एउटा पिपलको बोटका अवशेषहरु पुरिएका थिए...र त्यसैसित त्यो कवि-गोष्ठीका सम्झनाहरु पनि।

त्यसपछि मनकुमार त्यो सहरको गल्ली-गल्ली घुम्यो। प्रथम गल्लीकै मोडमा बसेर पान बेच्ने त्यो गोपाल, मुक्य सडकको मास्तिर एउटा मुढा राकेर केश काट्ने तिर्बेनी अनि त्यो पर केदारनाथको गड्डीमा रक्सी सोंड्क्याएर थपडी मार्दै गीत गाइरहने असारेहरु.....कता हराएछन् कता? अहिले त ती ठाउँहरुमा अर्कै-अर्कै नयाँहरु के-के बनिसकेछन्। मनकुमारले आफू त्यो सहरबाट पलायित भएका वर्षहरुलाई औंलामा गन्ति गरेर निक्लन चाह्यो। ‘धेरै वर्ष भइसकेछ हौ.....आsss’- फेरि आफैसित गनगन गर्दै उसले गन्नै छाडिदियो र एउटा चियापसलभित्र पस्यो। अनि एक गिलास तातो चिया पिउँदै उसले कवि ‘विद्रोही’ र त्यस समयका अरु मान्छेहरुका गुमनाम अस्तत्वबारे सोंच्यो। विद्रोहीको असली नाम थियो- रुपराज। ‘विद्रोही’ उपनाम चाहिँ उसले पछिबाट जोडेको। विलियम सिडनी पोर्टरले छद्ममा रही ओ. हेनरी लेखे झैं होइन रुपराजले उसको नामको पछाडि त्यसरी ‘विद्रोही’ जोड्नु। अथवा एच.एच. मुनरोले साकी लेखेझैं त्यस्तो कुनै तर्क थिएन ‘विद्रोही’सित। उसका क्रान्तिकारी कविताहरुलाई जतिको सहजतासित स्वीकार गरिएको थियो त्यत्तिकै सहजतासित उसको उपनामलाई पनि स्वीकार गरियो। बस्.....।

‘अन्त ‘विद्रोही’लाई भेट्यौ?’

अचानक कुनातिरबाट आएको एउटा स्वरले झस्कायो मनकुमारलाई। उसले फर्केर हेर्दा.....अगि गाडीबाट उत्रिनुसाथ भेटेको त्यही मान्छेले हाँस्दै रोटी खाइरहेको देख्यो।

‘त्यो मान्छेको खास नाम चाहिँ रुपराज हो’, मनकुमारले केही सम्झेजस्तो गर्दै भन्यो।

‘रुपराज सरदार त होइन?’ त्यो मान्छेले एकक्षण रोटी चबाउन छोडेर सोध्यो।

‘सरदार? त्यो मान्छेले त कविता पो लेख्थ्यो त!’

‘कविता! हा-हा.....मैले कुरा गरेको मान्छेले त त्यस्तो केही लेख्दैन। रुपियाँ मात्रै खेलाउँछ...रुपियाँ!’

त्यो मान्छे रोटीको अन्तिम गाँस चबाउनमा मस्तराम भएपछि मनकुमारले सोंच्यो, जे भए पनि उसले त्यो रुपराज सरदारलाई भेट्नैपर्छ। हुनसक्छ उ त्यही कवि ‘विद्रोही’ होला?

‘के मलाई त्यो सरदारको घरसम्म पुऱ्याइदिन सक्छौ?’

‘म के पाउँछु?’ कमेजको फेरले हात पुछ्दै त्यसले सोध्यो।

मनकुमारले पाँच रुँपियाको एउटा नोट देखायो र त्यो हिंड्न राजी भयो। मुख्य सडकमा केहीक्षण हिंडेपछि तिनीहरु गल्लीभित्र हराए। गर्मी त्यत्तिकै मच्चिएको थियो त्यो दिन त्यो सहरमा।

‘मेरो नाम झ्याउसिङ हो। जसरी रुखहरुमाथि झ्याउहरु पलाउने गर्छन्- त्यसरीनै म पनि यो सहरमा पलाएको हूँ। अरु सैंकडौं मान्छेहरु झैं’, हिंड्दै गर्दा त्यसले मनकुमारलाई भन्यो।

हिंडेको लगभग आधा घण्टापछि पसिनै-पसिनाले भिजेर दुइजना एउटा महलरुपी घरको फाटकअगि उभिनपुगे। तर मनकुमारले दिमागमा निक्कै बल गर्दा पनि आज त्यो महलरुपी घर भएको ठाउँअगि कवि ‘विद्रोही’को कुटिर थियो भनेर सम्झना गर्नसकेन। उसको त्यही अन्यमनस्कताबीच नै त्यो झ्याउसिङले फाटक खट्खटाइसक्छ। एउटा खागीरङ्गको पोशाक लगाएको मान्छे आएर फाटकपछाडि उभिन्छ।

‘रुपराज बाउ हुनुहुन्छ घरमा?’

खागीरङ्गे पोशाकधारीको मुखले तर कुनै शब्द उच्चारण गरेन। त्यो झ्याउसिङ मनकुमारतिर फर्केर खिस्स हाँस्यो र पाँच रुपियाँको नोट लिएर गयो। मनकुमारले ‘म रुपराजज्यूसित भेट्न आएको हूँ’ भन्यो तर अब पनि त्यो चाहिं मौन रही चोर औंला उठाएर अघि उ आएकै दिसातिर इशारा गरिदियो। सायद त्यस ‘रुपराज-बाउ’ नामक व्यक्तिसित भेट्नपर्ने उसको कुनै औचित्य छैन भन्ने जनावट गर्दैथ्यो त्यसले? हुन पनि त यसघडी मनकुमारको अघि उभेको महलसम्मुख उसित भएका तमाम वस्तुहरुको तुलना हुनैसक्तैनथ्यो। फेरि हिजपख एउटा झोपडपट्टीमा बसेर विद्रोहका कविताहरु रच्ने मान्छे आजपख चाहिं त्यस्तो महलमा बस्नथालेको छ भन्ने कुराको विश्वास गर्न पनि गाह्रै थियो। ‘म यही झोपडीमा बसेर झोपडीहरुकै कविता आगोका शब्दहरुमा लेखिरहनेछु, लेखिरहनेछु’.....आज पनि मनकुमारको कानमा वर्षौंअघि ‘विद्रोही’ले बोलेको शब्दहरु गुञ्जायमान छन्। अर्को शब्दमा भन्नु हो भने ‘विद्रोही’ले त्यसताकका सामन्तवाद र अन्यायको विरोध विरोध गर्दै नाराहरु लेख्थ्यो भन्न खुब जँच्छ। ती कविताहरु पढेर शोषकहरु उसको विरोधी भएका थिए भने शोषितहरु चाहे खुशी भएका थिए। तर यसलाई त्यो प्रदेशको विडम्बनानै भन्नपर्थ्यो कि ती एकमुट्ठी शोषकहरु विरोधी हुँदा ज्यानसम्मको जगजगी हुन्थ्यो भने ती हजारौं शोषितहरु चाहिँ ‘विद्रोही’का कविताहरुमा रुपान्तरित बन्न सक्तैनथे। यसैले अरु समाजमा झैं शोषकहरुलाई तानिल्याएर एउटा समान्तर रेखा कहिल्यै कोर्न सकिएन। बरु शोषितहरु चाहिँ मौका पाउनसाथ त्यो माथिल्लो तहमा हाम फाल्दथे।

‘टीं...टीं.....!’

अचानक पछाडिबाट गाडीको हर्न बजेकोले मनकुमार निक्कै जोड्ले तर्स्यो। एउटा सेतो गाडी उसको पछाडि आएर रोकिएको थियो। खागीरङ्गे पोशाकधारीले अत्तालिँदै गेट खोलिदिएपछि उ पनि एकछेउ लागेर उभियो। उसले गाडीको देब्रेतिर बस्ने मान्छेको अनुहारभरि कवि ‘विद्रोही’का अवशेषहरु खोजिहिंड्यो तर अहँ भेट्टाएन। अनि गाडी भित्रिएपछि गेट चाहिं पुनः बन्द भइहाल्यो। उसले बाहिरबाटै देख्यो- त्यो रवाफिलो मान्छे गाडीबाट उत्रिएको, खागीरङ्गे पोशाकधारीले उतिर औंल्याउँदै केही भनेको र केहीक्षणपछि त्यो रवाफिलो मान्छे गेटतिरै आएको।

‘रुपराजसित के काम थियो तिम्रो?’

‘खासमा म कवि विद्रोहीसित भेट्न आएको। वर्षौंअघि हामी दुइ सँगै बस्थ्यौं यो सहरमा। म मनकुमार, उसको साथी।’

‘हा-हा...’, खुब मज्जाले हाँस्यो त्यो मान्छे, ‘उसोभए तिमी गलत ठाउँमा आयौ। वर्षौंअघि नै त्यस हतभागी कविको भइसकेको छ। यो ठाउँलाई चिन्यौ?’

त्यो मान्छेले महल उभिएको भुइँतिर औंल्यायो।

‘अहँ चिचिनँ।’

‘यो त्यही ठाउँ हो जहाँ वर्षौंअघि त्यस कविको झोपडी थियो। त्यसकै झोपडीलाई थिचेर मैले यो मेरो महल उभ्याएको हूँ।’

‘हँ?’ मनकुमारले स्वयमभित्रको उत्तेजनालाई दबाउने कोशिष गऱ्यो। उसको सव्र काँपेको त्यो मान्छेले महशूस गर्ला कि भनेर अरु बोल्न पनि डरायो।

‘अब सोध न.....त्यस कविको हत्या कसले गऱ्यो? भनेर’, अनुहारभरि व्यङ्ग पोतेर त्यो मान्छे पुनः धाकसित बोल्यो, ‘मैले।’

मनकुमार नराम्रोगरी तर्स्यो फेरि। उसको अनुहारको भाव पढ्दै त्यो मान्छे निक्कै बेरसम्म चुपचाप उभिरह्यो।

‘मैले हत्या गरें त्यस पथभ्रान्त कविको। किनकि कविताले मान्छेलाई भ्रान्ति मात्र दिन्छ, लक्ष्य दिँदैन। मैले जब यो कुरोलाई बुझें जब ‘विद्रोही’लाई मारिदिएँ र रुपराज मात्र उब्रिएँ। आज म ‘विद्रोही’ काटिएको रुपराज मात्र बाँचेको छु.....रुपराज बाउ!.....हा-हाsss!’

अनि.......फेरि हाँस्दै-हाँस्दै नै त्यो मान्छे महलको तिलस्मभित्र ओझेल भयो। अनि मनकुमार चाहिं धेरैबेरसम्म मूर्तिवत् त्यहीं उबिरह्यो, बस् उभिरह्यो। उसले सोंच्यो, ‘साँच्चै एउटा सरीरभित्र दुइ व्यक्ति कसरी बस्नसक्छ र? एउटा त मर्नैपर्छ नि.....जसरी भए पनि।’

फेरि भरै...त्यहाँबाट फर्किनलाग्दा मनकुमारका दुइवटै आँखाहरु भिजेका थिए।।

निनादको निम्ति निनाद(२००१)बाटPravin Rai Jumelihttp://www.blogger.com/profile/11540945451909399270noreply@blogger.com0