Sunday, April 17, 2011

एउटा कविको मृत्यु

गाडीबाट उत्रिएपछि मनकुमारले त्यसै सहरको रैथानेझैं देखिने एकजना मान्छेसित सोध्यो, ‘विद्रोहीज्यू कहाँ बस्नुहुन्छ होला?’

‘को विद्रोही हौ?’

के भन्ने उसले? ‘विद्रोही’ले कविता लेख्थ्यो भन्ने हो भने उक्त प्रश्नकर्ता कविताको देशबाट पनि निष्कासित झैं देखिन्थ्यो। उसलाई लागेको थियो- ‘विद्रोही’को नाम लिनसाथ त्यस सहरका मानिसहरुका आँखा जिज्ञासाले चम्किनेछन् र उसलाई ‘विद्रोही’को कवि-कुटिरसम्म पुऱ्याउन हरेक कोही अघाडि सर्नेछन्। तर अहँ.....त्यस्तो कदापि भएन। मनकुमारसित ‘विद्रोही’को अरु प्रकारको परिचय पनि थिएन जसको सहयोगले त्यहाँका जो कसैले पनि त्यस कविको ठेगाना ठ्याक्क बताइदिन सकोस्। उसलाई लागेको थियो ‘विद्रोही’का विदेरोहपूर्ण कविताहरुनै उसको परिचय दिन प्रयाप्त होला भनेर। फेरि त्यस ठाउँलाई छाडेर उ निक्कै वरसम्म आयो। पहिलाको जस्तो रहेन रहेछ अब त्यो सहर। गाडी र बिल्डिङहरुको समुद्र भइसकेछ त्यो त।

‘बाजे!’....एकजना निक्कै बूढो मान्छेलाई बोलाएर उसले सोध्यो, ‘त्यहाँनेर एउटा पिपलको बोट थियो। वर्षौंपहिले त्यसैको फेदमा कविगोष्ठी भएको थियो...सम्झना छ?’

तर त्यस बूढोका कुइरे आँखाहरु चाहिँ त्यो सिटी फुकिरहेको ट्राफिक-पुलिसमाथि पुगेर अडिन खोजिरहेका थिए जसको जुत्तामुनि वर्षौंपहिले एउटा पिपलको बोटका अवशेषहरु पुरिएका थिए...र त्यसैसित त्यो कवि-गोष्ठीका सम्झनाहरु पनि।
त्यसपछि मनकुमार त्यो सहरको गल्ली-गल्ली घुम्यो। प्रथम गल्लीकै मोडमा बसेर पान बेच्ने त्यो गोपाल, मुक्य सडकको मास्तिर एउटा मुढा राकेर केश काट्ने तिर्बेनी अनि त्यो पर केदारनाथको गड्डीमा रक्सी सोंड्क्याएर थपडी मार्दै गीत गाइरहने असारेहरु.....कता हराएछन् कता? अहिले त ती ठाउँहरुमा अर्कै-अर्कै नयाँहरु के-के बनिसकेछन्। मनकुमारले आफू त्यो सहरबाट पलायित भएका वर्षहरुलाई औंलामा गन्ति गरेर निक्लन चाह्यो। ‘धेरै वर्ष भइसकेछ हौ.....आsss’- फेरि आफैसित गनगन गर्दै उसले गन्नै छाडिदियो र एउटा चियापसलभित्र पस्यो। अनि एक गिलास तातो चिया पिउँदै उसले कवि ‘विद्रोही’ र त्यस समयका अरु मान्छेहरुका गुमनाम अस्तत्वबारे सोंच्यो। विद्रोहीको असली नाम थियो- रुपराज। ‘विद्रोही’ उपनाम चाहिँ उसले पछिबाट जोडेको। विलियम सिडनी पोर्टरले छद्ममा रही ओ. हेनरी लेखे झैं होइन रुपराजले उसको नामको पछाडि त्यसरी ‘विद्रोही’ जोड्नु। अथवा एच.एच. मुनरोले साकी लेखेझैं त्यस्तो कुनै तर्क थिएन ‘विद्रोही’सित। उसका क्रान्तिकारी कविताहरुलाई जतिको सहजतासित स्वीकार गरिएको थियो त्यत्तिकै सहजतासित उसको उपनामलाई पनि स्वीकार गरियो। बस्.....।

‘अन्त ‘विद्रोही’लाई भेट्यौ?’
अचानक कुनातिरबाट आएको एउटा स्वरले झस्कायो मनकुमारलाई। उसले फर्केर हेर्दा.....अगि गाडीबाट उत्रिनुसाथ भेटेको त्यही मान्छेले हाँस्दै रोटी खाइरहेको देख्यो।

‘त्यो मान्छेको खास नाम चाहिँ रुपराज हो’, मनकुमारले केही सम्झेजस्तो गर्दै भन्यो।

‘रुपराज सरदार त होइन?’ त्यो मान्छेले एकक्षण रोटी चबाउन छोडेर सोध्यो।

‘सरदार? त्यो मान्छेले त कविता पो लेख्थ्यो त!’

‘कविता! हा-हा.....मैले कुरा गरेको मान्छेले त त्यस्तो केही लेख्दैन। रुपियाँ मात्रै खेलाउँछ...रुपियाँ!’

त्यो मान्छे रोटीको अन्तिम गाँस चबाउनमा मस्तराम भएपछि मनकुमारले सोंच्यो, जे भए पनि उसले त्यो रुपराज सरदारलाई भेट्नैपर्छ। हुनसक्छ उ त्यही कवि ‘विद्रोही’ होला?

‘के मलाई त्यो सरदारको घरसम्म पुऱ्याइदिन सक्छौ?’

‘म के पाउँछु?’ कमेजको फेरले हात पुछ्दै त्यसले सोध्यो।

मनकुमारले पाँच रुँपियाको एउटा नोट देखायो र त्यो हिंड्न राजी भयो। मुख्य सडकमा केहीक्षण हिंडेपछि तिनीहरु गल्लीभित्र हराए। गर्मी त्यत्तिकै मच्चिएको थियो त्यो दिन त्यो सहरमा।

‘मेरो नाम झ्याउसिङ हो। जसरी रुखहरुमाथि झ्याउहरु पलाउने गर्छन्- त्यसरीनै म पनि यो सहरमा पलाएको हूँ। अरु सैंकडौं मान्छेहरु झैं’, हिंड्दै गर्दा त्यसले मनकुमारलाई भन्यो।

हिंडेको लगभग आधा घण्टापछि पसिनै-पसिनाले भिजेर दुइजना एउटा महलरुपी घरको फाटकअगि उभिनपुगे। तर मनकुमारले दिमागमा निक्कै बल गर्दा पनि आज त्यो महलरुपी घर भएको ठाउँअगि कवि ‘विद्रोही’को कुटिर थियो भनेर सम्झना गर्नसकेन। उसको त्यही अन्यमनस्कताबीच नै त्यो झ्याउसिङले फाटक खट्खटाइसक्छ। एउटा खागीरङ्गको पोशाक लगाएको मान्छे आएर फाटकपछाडि उभिन्छ।

‘रुपराज बाउ हुनुहुन्छ घरमा?’

खागीरङ्गे पोशाकधारीको मुखले तर कुनै शब्द उच्चारण गरेन। त्यो झ्याउसिङ मनकुमारतिर फर्केर खिस्स हाँस्यो र पाँच रुपियाँको नोट लिएर गयो। मनकुमारले ‘म रुपराजज्यूसित भेट्न आएको हूँ’ भन्यो तर अब पनि त्यो चाहिं मौन रही चोर औंला उठाएर अघि उ आएकै दिसातिर इशारा गरिदियो। सायद त्यस ‘रुपराज-बाउ’ नामक व्यक्तिसित भेट्नपर्ने उसको कुनै औचित्य छैन भन्ने जनावट गर्दैथ्यो त्यसले? हुन पनि त यसघडी मनकुमारको अघि उभेको महलसम्मुख उसित भएका तमाम वस्तुहरुको तुलना हुनैसक्तैनथ्यो। फेरि हिजपख एउटा झोपडपट्टीमा बसेर विद्रोहका कविताहरु रच्ने मान्छे आजपख चाहिं त्यस्तो महलमा बस्नथालेको छ भन्ने कुराको विश्वास गर्न पनि गाह्रै थियो। ‘म यही झोपडीमा बसेर झोपडीहरुकै कविता आगोका शब्दहरुमा लेखिरहनेछु, लेखिरहनेछु’.....आज पनि मनकुमारको कानमा वर्षौंअघि ‘विद्रोही’ले बोलेको शब्दहरु गुञ्जायमान छन्। अर्को शब्दमा भन्नु हो भने ‘विद्रोही’ले त्यसताकका सामन्तवाद र अन्यायको विरोध विरोध गर्दै नाराहरु लेख्थ्यो भन्न खुब जँच्छ। ती कविताहरु पढेर शोषकहरु उसको विरोधी भएका थिए भने शोषितहरु चाहे खुशी भएका थिए। तर यसलाई त्यो प्रदेशको विडम्बनानै भन्नपर्थ्यो कि ती एकमुट्ठी शोषकहरु विरोधी हुँदा ज्यानसम्मको जगजगी हुन्थ्यो भने ती हजारौं शोषितहरु चाहिँ ‘विद्रोही’का कविताहरुमा रुपान्तरित बन्न सक्तैनथे। यसैले अरु समाजमा झैं शोषकहरुलाई तानिल्याएर एउटा समान्तर रेखा कहिल्यै कोर्न सकिएन। बरु शोषितहरु चाहिँ मौका पाउनसाथ त्यो माथिल्लो तहमा हाम फाल्दथे।

‘टीं...टीं.....!’
अचानक पछाडिबाट गाडीको हर्न बजेकोले मनकुमार निक्कै जोड्ले तर्स्यो। एउटा सेतो गाडी उसको पछाडि आएर रोकिएको थियो। खागीरङ्गे पोशाकधारीले अत्तालिँदै गेट खोलिदिएपछि उ पनि एकछेउ लागेर उभियो। उसले गाडीको देब्रेतिर बस्ने मान्छेको अनुहारभरि कवि ‘विद्रोही’का अवशेषहरु खोजिहिंड्यो तर अहँ भेट्टाएन। अनि गाडी भित्रिएपछि गेट चाहिं पुनः बन्द भइहाल्यो। उसले बाहिरबाटै देख्यो- त्यो रवाफिलो मान्छे गाडीबाट उत्रिएको, खागीरङ्गे पोशाकधारीले उतिर औंल्याउँदै केही भनेको र केहीक्षणपछि त्यो रवाफिलो मान्छे गेटतिरै आएको।

‘रुपराजसित के काम थियो तिम्रो?’

‘खासमा म कवि विद्रोहीसित भेट्न आएको। वर्षौंअघि हामी दुइ सँगै बस्थ्यौं यो सहरमा। म मनकुमार, उसको साथी।’

‘हा-हा...’, खुब मज्जाले हाँस्यो त्यो मान्छे, ‘उसोभए तिमी गलत ठाउँमा आयौ। वर्षौंअघि नै त्यस हतभागी कविको भइसकेको छ। यो ठाउँलाई चिन्यौ?’

त्यो मान्छेले महल उभिएको भुइँतिर औंल्यायो।

‘अहँ चिचिनँ।’

‘यो त्यही ठाउँ हो जहाँ वर्षौंअघि त्यस कविको झोपडी थियो। त्यसकै झोपडीलाई थिचेर मैले यो मेरो महल उभ्याएको हूँ।’

‘हँ?’ मनकुमारले स्वयमभित्रको उत्तेजनालाई दबाउने कोशिष गऱ्यो। उसको सव्र काँपेको त्यो मान्छेले महशूस गर्ला कि भनेर अरु बोल्न पनि डरायो।

‘अब सोध न.....त्यस कविको हत्या कसले गऱ्यो? भनेर’, अनुहारभरि व्यङ्ग पोतेर त्यो मान्छे पुनः धाकसित बोल्यो, ‘मैले।’

मनकुमार नराम्रोगरी तर्स्यो फेरि। उसको अनुहारको भाव पढ्दै त्यो मान्छे निक्कै बेरसम्म चुपचाप उभिरह्यो।

‘मैले हत्या गरें त्यस पथभ्रान्त कविको। किनकि कविताले मान्छेलाई भ्रान्ति मात्र दिन्छ, लक्ष्य दिँदैन। मैले जब यो कुरोलाई बुझें जब ‘विद्रोही’लाई मारिदिएँ र रुपराज मात्र उब्रिएँ। आज म ‘विद्रोही’ काटिएको रुपराज मात्र बाँचेको छु.....रुपराज बाउ!.....हा-हाsss!’

अनि.......फेरि हाँस्दै-हाँस्दै नै त्यो मान्छे महलको तिलस्मभित्र ओझेल भयो। अनि मनकुमार चाहिं धेरैबेरसम्म मूर्तिवत् त्यहीं उबिरह्यो, बस् उभिरह्यो। उसले सोंच्यो, ‘साँच्चै एउटा सरीरभित्र दुइ व्यक्ति कसरी बस्नसक्छ र? एउटा त मर्नैपर्छ नि.....जसरी भए पनि।’

फेरि भरै...त्यहाँबाट फर्किनलाग्दा मनकुमारका दुइवटै आँखाहरु भिजेका थिए।।



निनादको निम्ति निनाद(२००१)बाट

No comments:

Post a Comment