Wednesday, May 11, 2011

खेलिबस्छु खेल कति

‘ढ्वाङ्SSS’

बजेको सुन्छु बजारिएको स्वर निकाल्दै एउटा ठूलै ढुङ्गा, छानामा। वर्षौंदेखि त्यसमुनि निद्रा, सुरक्षा र साइनोको भ्रान्तिमा अल्मलिँदै बाँचेको तीन प्राणी नराम्रै घतले तर्सिन्छौं। आँगनको कुकुर त अचानक भुकिउठ्ने भो नै।

दैलो खोलिएर पल्लो कोठाको, स्वर उछिटिन्छ आँगनमा, ‘को हौ?’, बाबुको।
चकमन्नता।

कुकुरलाई थाहा छैन, मानिसले त्यसको पुर्खालाई इमान्दारिताको परम्परित शब्दले बाँधिदिएको छ भनेर। त्यसकारण नै तर आफ्नो भुकाइको स्वर सडक र बारीभरि छरिदिएको होइन त्यसले। नत्र त जब हीनता र नगण्यताको प्रतिकस्वरुप कसैलाई ‘कुकुर’ पुकारिन्छ – त्यसको स्मृतिबोधले नै पनि त्यो मानिसप्रति उग्र र विद्रोही बन्नपर्ने हो। यसो भनौं, भुकाइ एउटा सुरक्षाबोध मानिसको लागि दुइ गाँस जुठोसित साटिएको।

मुटुको रोगी आमा खोकेकी स्वर कुकुरको चर्को भुकाइसित मिसिँदै विलिन भएको सुन्छु। हान्नेले मान्छेतिर पो ताकिदिन्छ कि कतै? आशङ्काले आँगनमा पुऱ्याउँछ बाबुको स्थिति हेर्न। त्यस्तो तर केही छैन।


एउटा उपकथा जोडौं, यस्तो:
एक. भौतिक दुःखवादको सङ्घर्षमा होमिएर आमा-बाबुले हामी छोरा-चोरीलाई शिक्षाको उज्यालो भ्रमतिर धकेले। जीवनयापनको युक्तिस्वरुप उनीहरुलाई र आफैलाई पनि सघाउन चाकरीको दहमा हाम फाल्यौं।

दुइ. सामाजिकता शिक्षितको प्रकार्य हो – सन्देशहरु बुद्धी कोट्याउँथ्यो। अबुद्धिको ऋक्थ बिसाउन सक्रियताको उत्स जगायौं। गाउँ, संस्कृति र राजनीतिको वैशाखीले दुरी केही हिंड्यौं।

तीन. दृश्यका हेत्वाभासहरु कतिपय दुःख्दो अनुभूत गर्छौं। लेखनको युक्तिले हल्का बन्न खोजियो।

अहा अनेकौं लप्काहरु यतै ओइरियो। नवपरिभाषावादीहरु पनि अचुक शब्द-संज्ञाहरुको पगरी लिएर उभिए। गायकहरुको कब्बालीमा थपिएको शब्दले दरबारै उचाल्यो। (उपकथाको समाप्ति)


आफ्नो एक अन्तर्वार्तामा किन उल्टो सोद्धछन् त मिलन कुन्देरा – ‘व्हाट पस्सिबिलिटिज रिमेन फर म्यान इन अ वर्ल्ड व्हेर दि एक्सटर्नल डिटरमिनेन्ट्स ह्याव सो ओवरपावरिङ द्याट इन्टर्नल इम्पल्सेस नो लङ्गर क्यारी व्हेट?’ त्यसैमाथि इन्द्रबहादुर राई भारी चिठ्याउँछन् – ‘व्यवगारिकताको खण्डित जीवन बाँच्न बाध्य छौं होला, स्थूल एक स्थितिमा बाँधिएर बित्दछौं।’ ज्ञानको विपना पाउन समय बित्दै जान्छु म चाहिँ।

को हुनसक्छ त दुश्मन हाम्रो? स्मृतिको रुढले गलाउँदै लान्छ मलाई पनि। सोंच्दाको गहिरोभित्र अनेकौं सम्भावित दैलाहरु खोलिन्छ। केलाउँदा केस्रा सबै दिक्क होला, नजाऔं त्यतातिर।

नजिक आउँदैगरेको बोध थियो कुनै चुनाउ। एकार्कामा ढुङ्गा-मुडा र लाञ्छना लगाउने वैश्वीकृत खेलमा होमिएका थिए पक्ष र प्रतिपक्षहरु। स्मृतिमा मेरो पनि त्यो बोझ छँदैछ। यसो भनौं – स्मृतिले नै मानिसको वर्तमानमा ठूल्ठूला खेलहरुको आयोजन गरिरहेको हुन्छ सधैँ। हाम्रो क्रियाकलापहरुको आधार नै त्यही स्मृति – जोडिएको छ जो परम्परासित। यसैले नयाँको अवधारणा पनि भ्रम मात्र। आविष्कारको उद्घाटनमा छक्कहरेको त ज्ञान नै मानिसको।

पेटमा अचानकनै एउटा चल्मल थाहा पाउँछु यतिखेर नै। असीम पीडाको बोधसँगै वरपर र घचेटिँदै पनि उँभो मुखतिरै आइरहेको – ‘केही’। केहीक्षणमै एउटा स्वरुप मुख च्यात्दै छाद्छु ‘ह्वाल्ल’। झण्डै बेहोसिएको अवस्थामा देखिरहन्छु त्यो स्वरुप अर्थात प्र.लाई, जो मभित्र मेरै रगत पिएर बाँच्छ र मसँगसँगै घटबढ हुँदै गइरहन्छ। अनि यस्तै एकान्तमा मलाई उसको भ्रमको सास्ती दिन बाहिर आउँछ।

यो प्र. काफ्काको उपन्यास (दि क्यासल)को पात्र जोजफ के. भन्दा फरक छैन, जो भ्रमको सञ्जालभित्र आफ्नो हास्यात्मक खेलको साक्षी हो। यो भनाइ ‘मनुष्य हुइ अस्तितवमानतामा छ : व्यष्टि र मानिस। व्यष्टिपक्षको र मानिसपक्षको अन्तर्क्रियात्मक सामग्रिकता छौं प्रत्येक मानिस’ (इन्द्रबहादुर) – मा व्यवहारिक कति छु होला यो उपकथा बाँच्दा?

‘कसले अह्रायो कथा लेख्न तिमीलाई?’ भित्तामा झुण्डिएको तौलिया उठाएर अनुहारको रगत पुछ्दै सोध्छ उसले।

म बोल्ने तरान खोजिरहेको हुन्छु।

‘कथा लेखिनँ - लाग्छ तिमीलाई? यो के हो?’ कागजको पन्नाहरु उठाउँदै भन्छ उसले, कथा कहिल्यै नपत्याउनू–लाई पढेको छौ कतै?’

कथाहरु उहिल्यैदेखि लुकेर बसेको छ – नलेखिनुको कालो भित्तापछाडि। लेखिनु त उद्घाटन मात्र। साधारण बोधले छाम्न नसकेको कथाहरु, उत्कृष्टताको उचाइ त लेखकीय बुद्धिवेगको छल मात्र? नपत्याइनुलाई पनि हुनपऱ्यो बस्तुको अस्तित्वमा कथारुप। कवितालाई लिएर चेक कवि जेन स्केसल यो के भन्छन्? सुनौं :

पोएट्स डोन्ट इन्वेन्ट पोएम्स
दि पोएम इज् समव्हेर बिहाइन्ड
इट्स बिन देयर फर अ लङ्ग-लङ्ग टाइम
दि पोएट मियरली डिस्कवर्स इट।

अन्ततः भन्छु प्र.लाई यसो, ‘बाँचिरहेको व्यवहारिकताकै स्मृतिमा प्राप्त छ आवेगक्षेत्र लेखनको। चिमोट्दा दुःख्छ, दुःखेकोले पिरोलिन्छु – अभ्रान्ति त्यै होला लेखिनलाई अनेकौं भ्रान्ति। घटनाहरु साना-ठूला अभ्रान्ति सबै – त्यो अनिश्चिततालाई निश्चितता लेख्नु मात्र भ्रान्ति।’

हाँस्छ मात्र प्र. यहाँ।
‘तिर्खाएको छु म, भोकाएको पनि’, भन्दै किताबको अम्मारीतिर गइरहेको देख्छु उसलाई।

‘थालभरि अक्षर पस्केर बस्छ उ, भन्दै, हो, भ्रमकै लागि पनि लेखिरहन पऱ्यो। तब पो अन्यले पनि भ्रमलाई देख्नसक्छन्।’ गीत पनि गुन्गुनाउँदै हुन्छ उ। गुन्गुनाएर मौन हन्छ फेरि।

सत्य त भोक पो रहेछ मानिसको। शब्दका अरबपतिहरुले यहाँ बनाएका रहेछन् भलभलैया असिम। शब्दहरुले आफ्आफ्नै आनुभूतिक प्रक्षेपहरुको चक्रव्यूह बुनिएको भ्रम छ। आफ्आफ्नो ज्ञानको अहम आफ्आफ्नै शाब्दिक अडान, अहा! तर जो अन्य शब्दहरुको सहयोगबिना अर्थवान् हुँदैन। विचार वा अनुभूतिको तीव्रताले आकार खोज्ने होड गर्छ – अर्थ स्मृतिमा जडित छ तमाम शब्दहरु डोको-डोकोमा। सम्वेदन वा बोधको अमूर्तता त्याग्दै शब्दहरुले शब्दसित मिली स्वरुपको संसार एउटा रचिदिन्छ। सोंच्छु।

‘लेखक नहुनुको कस्तो होला आनन्द?’ आफैलाई सोधे झैं गर्छु म।

उसले पनि उल्टा सोध्छ, ‘सोंच्छौ किन त्यस्तो अमेलता?’

‘बोँचेको बोध गर्न’, भनिदिन्छु, ‘मेरो पनि घर, परिवार र सपनाको व्यवहारिकता भएकोले।’

प्रत्युत्तरमा बोल्दैन प्र.।

म फेरि थपनी पस्किन्छु, ‘मेरो घरको छानामा ढुङ्गा हानियो आज। आमा-बाबु डराएका छन् मेरा। भोलि के होला?’

उ हाँस्छ, हाँसिसकेर भन्छ, ‘आज तिनीहरुलाई यसो गर्न ठीक लाग्दैछ। भोलि त्यसलाई सम्झेर किन गरेछु नी पनि लाग्नेछ।’ मुखमा उसको कऱ्याप-कऱ्याप बज्छ अक्षर, फेरि भन्छ, ‘त्यसरी नै विभिन्न प्रकार्यहरु नै वाहक हो व्यर्थताको।’

‘आभास गरिएको, देखिएको र सोंचिएकोहरु चाहिँ के होला?’, कुनै अनाम नेपथ्यलाई सोधेजस्तो गर्छु म।

चबाइरहेकै अभिनयमा देख्छु उसको मुख, नबोलेको पनि धेरैबेरसम्म।

‘एउटा कुरा थाहा छ तिमीलाई?’, निक्कै भरैतिर सोध्छ उसले।

म उसको रक्तिम अनुहारमा नियाल्छु।

‘भादास, चारद र कधोजहरु तिम्रो अलिखित उपन्यासका पात्रहरु होइनन्?’, अर्को प्रश्न पनि थप्छ प्र.ले।

‘हो’ भनेर ‘किन?’ पनि सोध्छु।

अलिक सानो स्वरमा उसले रहस्य खोल्छ, ‘तिनीहरुलाई तिम्रो पछाडि लगाइएका छन्। बुझ्यौ?’

आश्चर्य र रोमाञ्चले कान ठाडो हुन्छ। अलिक भरै, ‘किन र कसले सोध्छु?’

‘त्यो त म पनि जान्दिनँ’, भन्दै हुन्छ उ, ‘तर ती तीनजनालाई मैले धेरैपल्ट तिम्रो पछि-पछि लुक्दै पछ्याइरहेको देखेको छु।’

त्यसपछि म केही सोद्धिनँ। मन अनेकौं प्रश्नहरुसित लठारिँदै अघि घरको छानामा ढुङ्गा हानिएको कुरासम्म आएर ठोक्किन्छ। थकाइले गर्दा निदाउँछु त्यतिकै। आफ्नो कार्यबाट निवृत्त भई कहिले मभित्र समाहित भयो प्र.? थाहै पाइनँ।☻






एउटा बिहानसित सुरु हुने सामान्यता माथिको चिन्हहरुबाट जान्न सहज होला? बिहान भन्नाले सूर्यको लालिमा, चराको गान र केही यस्तै नमूनाहरुको वृतान्त नभन्दा कसो हुन्छ? जे होस्, आजको दिनको सूर्यसित रातका डरहरु भागेको प्रतीति मसित छ।

प्र.ले भन्थ्यो, मेरो निगरानी गर्न तीनजना व्यक्तिहरु खटाइएका छन्। मेरै अलिखित उपन्यासबाट झिकिएका पात्रहरु ती। म घर वरिपरि घुमेर तिनीहरुको पाइलाछाप र चिन्हहरु खोज्ने प्रयास गर्छु। कहीं-कहीं झार माडिएको र माटोमा जुत्ताको छापहरु छ। एक ठाउँ सिग्रेटको ठूटा र मोबाइल फोनको रिचार्ज भाउचर पनि लडिरहेको देखेर भित्रतिर जिरिङ्ग हुन्छु।

समयभित्र दिनहरु बित्दो छ।
फेरि-फेरि छानामा कुनै ढुङ्गा हानिएको छैन। ती तीन जासुसहरुको पाइलाछाप खोजिहिंड्ने फुर्सद पनि भएन। तर मनभित्र गाडिएको आतङ्कको सियो चाहिं बढेर झ्याम्पल बन्नलागेको बोध थियो। घरबाहेक वरपर, तलमाथि र बजारहरुतिर जाँदा पनि सतर्कता स्वरुप पछिल्तिर/कुना-काप्चातिर ती तीनजनालाई देखिहाल्छु कि भनेर अवलोकन गरिबस्ने बानी बस्यो। घरैभित्र पनि बाहिरको सानो आवाजलेसम्म तर्साउन थाल्यो। यसरी आफू हर्दम कुनै न कुनै आँखाबाट निरन्तर चिहाइएको र कुनै न कुनै मुखद्वारा सुनाइएको यो अवस्था बढो संशयात्मक वा भनूँ एम्बिगस थियो।

एउटा कुरोसित भने म अन्योलमा छु; कि मेरो अलिखित उपन्यासका तीन पात्रहरु :- (१) भादास, (२) चारद, र (३) कधोज – को तयदारी त भयो तर तिनीहरुको जीउडाल, अनुहार इत्यादिको बारेमा चाहिं कुनै इतिवृत्ति (प्रोफाइल) तयार पारिएको छैन। यसरी त देखिए पनि चिन्न कठिन हुनेभयो। के गरौं? यी तीनजनाको चरित्रको बारेमा त सङ्केतहरु तयार पारिएकै छ, चरित्र र अनुहारको बनौट लाक्षणिक रुपमा मिलाउन सकिँदैन र? अनि म त्यसै अनुरुप तिनीहरुको अनुहारको नाक-नक्सा तयार पार्छु। भादास र चारद चापलुस र कुटिल छन्, कधोज चनाखो र जाली छ। अब मेरो अन्तर्मनमा यिनीहरुको अनुहार र व्यवहारको छाप बस्यो। मलाई लाग्छ कि अब म यिनीहरुलाई ठिम्याउनसक्छु। यति कुराले पनि केही स्नतोष दियो मनलाई।

एकदिन गान्तोक जाने काम पऱ्यो, र गएको थिएँ। गान्तोकको एमजी मार्गमा हिंड्दा बढो सतर्कतासित हिंड्नपर्छ. रङ्गी-विरङ्गी मानिसहरुको लागि चियोचर्चा गर्ने एउटा प्रमुख ठाउँ यो पनि हो। यहाँ वरपर गर्नेहरुको एउटा न एउटा खेल हुन्छ नै। म पनि त्यहीं हिंड्दै थिएँ। मेरो खेलको भ्रम थियो, ममाथि जासुसी गर्ने ती तीनजनाको दृष्टिमा नपर्नु। तर्किनु र भाग्नु।

यदि पात्रहरु साँच्चै लेखकको नियन्त्रणमा रहन्छन् भने मैले तिनीहरुबाटै भागिरहनपर्ने कस्तो वाद्यता हो यो? अर्थात, म पनि स्वायत्त छुइनँ र कसैको नियन्त्रणमा कलम नचाउँछु? नियन्त्रितहरुको यो अपार भीड्मा आफू नियन्त्रक झैं लाग्नु पनि कत्रो भ्रम, अहा!

गान्तोकमा आफूलाई अड्याउनसक्ने ठाउँको कमीले लावारिस बनाउँछ मलाई। यही अभावको मुजाहरु लिएर यो एमजी मार्गमा फ्रान्ज काफ्का र विन्सेन्ट वान्गोफहरु भौंतारिरहेका भेटिन्छन्। यो सहरको लावण्यमा भिज्न जान्नेहरुलाई त्यो अभावले दुखाउँदैन। कुनै स्यामुएल बेकेटले कुनै गोदोलाई भेट्न नसक्नुको दुरत्वभित्र हुर्किन्छ गान्तोक। दुरत्व – यहाँको जीवनशैली।




‘कसो त लेखकज्यू!’ एउटा लटरी दोकानअघि उभिरहँदा यो वाक्यले झसङ्ग बनाउँछ। अगिल्तिर उभिरहेका छन् – चारद, कधोज र भादासहरु, जोहरुसित म केही अगिसम्म लुकिहिँड्दै थिएँ। म तिनीहरुलाई झुक्याउनसक्छु भन्ने कुरामा जति विस्वस्त थिएँ, त्यसै विश्वासदंशको अवस्थाले दङ्गदास पनि भइरहेको थिएँ।

‘करोड्पति बन्ने खेलमा होमिने विचार छ कि कसो लेखकज्यू?’ लटरी खेल्न उभिरहेका मानिसहरुतिर हेर्दै बढो अर्थपूर्ण हाँस्छ भादास।

कधोज बोल्छ, ‘लेखेर रुपियाँ कमाउन सकिने होइन नै, फेरि मानिसलाई चाहिएको त्यही रुपियाँ। यो खेल पनि अति जीवन्त खेलनै हो। करोडौं रुपियाँको भ्रम सजाइदिन्छ, अनन्त भोलिहरुमा त्यसलाई पाउने कल्पनाको रोमाञ्चले आजलाई बाँचिइन्छ। त्यसरी नै सबै भोलिहरु आजहरुमा अनुवाद हुँदै गइरहन्छ। अभावको वितृष्णाले जीवन खल्लो बनेको बोध डामिएको लाग्दैन।’

‘विज्ञान र तक्निकीले आज जसरी कब्जा गऱ्यो समयलाई, त्यसले ज्ञानको अवधारणामा चुनौतीको नयाँ बाटोहरु खोलिदियो। इमान्दारिताले यसको सामना गर्न समय लाग्ने भो’, हातको छालाको ब्याग मुसार्दै भन्यो चारदले, ‘तपाईं त लेखक हुनुहुन्छ। छाड्न सक्नुहुन्न इमान्दारिता, छाड्न सक्नुहुन्न स्वाभिमान!’

‘छाड्ने लेखक पनि देखेका छौं’, भादासले मुख खोल्यो, ‘तपाईंको कट्टरता कतिको खपाउ छ नि?’

यी तीनजनामा आघात गर्नसक्ने क्षमता तीव्र रहेछ।, त्यसै त जासुसमा नियुक्ति पाएका होइनन्, सोंच्छु। तिनीहरुको प्रश्न मलाई बढो प्रताडित गर्ने किसिमको लागिरहेथ्यो। मेरो क्रियाकलापबाट हरक्षण सुसुचित रहन चाहने व्यक्ति धेरै खतरनाक वृत्तिको रहेछ। प्रश्नहरुको आघातबाट कसैको इतिवृत्ति दोहन गर्नसक्ने मानिसहरु त क्रूर हुने गर्छन् नै। लेखक हुनुको नीयती कति सास्तिपूर्ण छ? – सोंच्छु।

क्रिस्चियन सालमनसित आख्यानकला(दी आर्ट अफ दी नोवल) नामक ग्रन्थमा मिलन क्नदेरा बोल्छन्, ‘हाम्रो जीवन एक चक्रव्यूह सदृश छ। हामी कसैले नभनीकनै जन्मेका छौं, कहिल्यै नचुनिएको एउटा शरीरमा कैद छौं, अनि मर्नलाई वाद्य छौं। अर्कोतिर, संसारको विशालताले हामीलाई मुक्तिको लागि एउटा स्थिर सम्भावना पनि दिइरहेछ।’

शायद, त्यही मुक्तिको इच्छाले हामीलाई यो एउटा खेलमा होमिदिएको छ। मुक्ति, जसलाई सन्तहरु ‘बन्धनबाट छुट्नु’ भन्छन्। संसारका यी जञ्जाल, जसको मोहमा जर्जर छ जीवन। रीस, राग, शत्रुता, घृणा र लालचबाट माथि उठेर पाइएको ‘कैवल्य’ नै मुक्ति! हजारौं-हजार जीवनहरु कुदिरहेछन् त्यसकै पछि युगान्तरहरुमा। अहा, म पनि त्यही हजारौंकै एक कण!

कुन्देराले व्याख्या गर्नखोजेको उम्काइसित अरु तन्तुहरु जोडेर हेर्नखोज्दा मलाई ती तीन प्राणीहरु रहस्यमयी लाग्छ।
‘यसको आँखा हेर, आँखा!’ चिच्याउँछ कधोज।

भादास र चारद मतिर निहुरिन्छन्।
अघि बोलेकैमा थप्छ कधोज, ‘अघिभन्दा चिम्सियो हैन? त्यसको माने हो बुद्धि घुम्दैछ है यसको, बुद्धि। रुपियाँ नभए पनि बुद्दि त छ होला नी यसको?’

निहुरिने दुइजना आँखा फुकालेर एकार्कालाई हेराहेर गर्दै उभिन्छन्।
‘खुट्टा पनि चलाउँदैछ ऊ ς ς......भाग्ने दाउमा रै’छ’, अर्को चिच्यायो।
‘त्यसै त यो मान्छे शङ्काको घोरोभित्र पसेको होइन, बुझ्यौ?’ अझै अर्को स्वरले भन्यो, ‘समातौं साथी हो, समातौं यसलाई।’

दुइ हातहरु काखीमा आई कसिन्छन्। तेस्रो हत्केलाले तालुको केश मुठ्याउँछ। म घिस्सिँदै हुन्छु। छेउछाउका मानिसहरु मज्जा मानेर हेरिरहेका हुन्छन्। पुलिसले नदेखेको स्वाङ गर्छ। राख्ने ठाउँ नभएर होला धेरै प...र रहेछ उनीहरुको सोफिस्टिकेटेड गाडी। घिस्सिँदा जुत्ताहरु कता छाडिए, पत्तो छैन। मोजा छेंडिएर कुर्कुच्चा र औंलाहरु पिल्सिएका लाग्यो। म मेरो झोला हराउन नचाहेर च्याप्प समातिराख्छु- जहाँ मेरो डाइरी, लटरीका टिकटहरु र एउटा फेरफारे पाइजामा छन्। येनकेन गाडीमा कोचारिएपछि त्यो गुड्न लाग्छ। गान्तोकको आवादी छोडिएर कता हो कता जङ्गलतिर गइरहेछौं लागिरहेछ। रोकिएको अघिल्तिर एउटा ‘हरर’ सिनेमाको झैं घर रहेछ- त्यहीभित्र लगिइन्छु म। वरिपरि रुखहरुबाहेक केही छैन। सिक्किममा पनि घनत्वलाई कायम राख्ने जङ्गल रहेछ अझै, सोंचेर खुशी लाग्यो।

मलाई राखिएको कोठा गोदामजस्तो लथालिङ्ग र वरपर भाँचिएको, भत्किएको र फुटेकाहरु छरपस्ट थिए। झ्यालहरु भेट्न नसकिने गरी अग्लोमा भएको। त्यो घरको सबैभन्दा तल्लो तला हो यो। माथिलेलो तलामा पनि कोठाचोटाहरु त होलान् तर त्यतातिर उक्लिने भऱ्याङ वा सिंडी भने यताबाट थिएन।।

‘हड्डी र छाला मात्रै देखिए तापनि गह्रौं नै पो रहेछ मोरो’, भन्दै हात टक्टकायो चारदले।
‘दैलो राम्रोसित चुकुल लगाएर माथि आऊ है साथी हो’, टाउको मात्रै भित्र छिराएर भन्यो कधोजले, ‘चढाऔं चिरिप अलिकति।’

म आफ्नो दुःखेका अङ्गहरु छाम्दै हुन्छु।
‘ल त आराम गरौं, लेखकज्यू! बात गर्न आऔंला भरै’, भादासले त्यसो भन्यो र उनीहरु बाहिरिए। दैलो ढप्काइयो।

म आफ्नो झोला खोसिने डरले त्यसलाई सुरक्षित राख्ने फिराकमा हुन्छु। कुनाको मैलैकुचैलाले छोपेर राखिदिँदा नदेख्ने रहेछ। खोच्याउँदै उठेर त्यहीं लुकाउँछु। घर नयाँ नभए पनि आफू फुत्किनेसक्ने सम्भावना थिएन। रात त्यतै कहीं बिताउनुपर्ने होला सोंचेर ढल्किनसम्म सकिने ठाउँ हेर्छु, तर त्यस्तो केही देखिँदैन। माथिल्लो तलाको भुईं पनि काठकै रहेछ, ती तीनजनाका पदचापहरु सुनिन्छन् बजिरहेका। आफू लाचार हुनुको खेलले धेरै थकाएको छ शरीर र मन दुवै। खुट्टा भाँचिएको चौकीमा ठडिँदा झपक्क-झपक्क भइरहन्छु।

‘ए... भुस् भएछ मोरो त।’
कता-कता स्वर बजेको लाग्छ। तर मात छुट्न केहीक्षण लाग्छ निद्राको। अघिल्तिर उही तीनजनाका खेलाडी अनुहार छन्। हाँसिरहेका। हँसाइलाई सुन्दरताको कसीमा जोख्नेहरु धेरै छन् विश्वमा तर यो हँसाइलाई कुन वर्गमा राखूँ म? खेलका अनेक रुपहरु हुनसक्छन् यहाँ-त्यहाँ, तर कुनै खेलको पछि मास्टरमाइन्ड होला कुनै खेलाडीकै- विश्वास गरिहाल्न मन मान्दैन। एकै निमेषमा जिएको लामो जीवनलाई नारदले पछिबाट मात्र विष्णुको लीला चिनेको थियो। कुनै अरबपति व्यापारीले कतै भनेको सुनेको थिएँ : ‘मनी इज् नेवर अ बिग मोटिवेसन फर् मी। द रियल एकसाइटमेन्ट इज प्लेइङ्ग द गेम।’ खेलमा रमाउनेहरु पनि ठूलासाना हुँदा रहेछन्। यहाँ खेल शब्दको मिस्टिफिकेसन गर्नमा सफल भएता छन् स्थानीय खेलाडीहरु।

‘म यो कुन ठाउँमा ल्याइएँ’, सोध्छु।
कधोज हाँस्दै हुन्छ बस्दै कुनाको काठमा, ‘यहाँ तिमी झैं लेखन्तेहरुको पूजा गर्छौं हामी।’
पूजा शब्दोच्चारणले केही डर निकास्छ मनमा। बढो अर्थगम्भिर छ यो शब्द। प्रयोक्ताहरुले यसलाई विभिन्न प्रतिकहरुको रुपमा चलाउँछन्। भगवान एवं तत्-तत् समकक्षका देवीदेवतालाई गरिने पूजा र भुक्तभोगीहरुलाई गरिने पूजामा आकाश-पातालको फरक पाइन्छ। वर्गिकरणको गणनाले म दोस्रो कित्तामा पर्छु र मलाई गरिने पूजा वैद्य र भक्तिमय हुँदैन भन्ने कुरा म जान्दछु। यस्तै पूजाहरूको रसस्वादनपछि धेरै जुझारुहरु लुला-लङ्गडा भई दिनहरु गन्ति गरिरहने भएका छन्। यसलाई समयका अधिनायकहरुले उनीहरुको सफलता मान्छन्।

‘मेरो अपराधको भ्रम चाहिँ के हो?’ आफैलाई सोधे झैं मधुरो हुन्छ मेरो स्वर।
साँझ ढल्किनलागेको छ शायद बाहिर, कोठामा पनि अँध्यारो पस्नलागेको छ अहिले। मोबाइल फोन बजिरहन्छ पालैपालो उनीहरुको। जवाफ बोल्न बाहिरतिर जान्छन् उनीहरु। उनीहरुको सम्वादको प्रक्रमलाई बुझ्दा कधोज नाइके हो कि लाग्छ त्यस टोलीको।

‘किन लेख्छौ, लेखकज्यू?’, शब्दभन्दा बेसी रक्सी गन्हाउँछ कधोजको प्रश्नमा।
‘आफैमा अति बोझ छु म, चरा र बादल हेरेर छक्क पर्छु’, उत्तरमा त्यो भन्छु, ‘गह्रुँगोपन फ्याँक्न प्रजातान्त्रिक अधिकार हो कि सोंच्छु।’
‘त्यो गह्रुँगोपन यति कष्टसाध्य किन छ त?’, सोध्छ चारद।
‘कसलाई त्यो अनुभूति भो?’ जिज्ञासा छ मनभरि, ‘मलाई त ती सब व्यर्थ लाग्छ। पढ्नुभयो?’

कधोज नै अघि लागेर बोल्छ, ‘नपढिए पनि अर्थ्याउनेहरु धेरै छन्। पहिलो कालखण्डबाट बसाईं सरिआएका। अर्थहरु बेच्छौं हामी, बोध जरुरी छैन हामीलाई।’
‘लेख्यौ अरे नी यताउति पत्रपत्रिकातिर? त्यसको अनर्थमा शुभलाभ जोड्छौं हामी’, सिग्रेटको धुआँले पुरिएको अनुहार बोल्छ।

‘तिम्रो लेखनले आहत छैनौं। तर त्यसको लागि एउटा व्यूह रचिएको छ यहाँ। अनर्थको खेतीमा नाच्ने जीवन प्राप्त छ हामीलाई। परम्परितहरुमा धेरै आक्षेप छ आज। परिभाषित शब्दहरु बिथोलिएको छ। लेखनी आदर्शताको प्रत्यारोपबाट मुक्त भयो। हरेक लगामको अन्त्यमा त्यही शक्तिको हत्केला छामिन्छ’, भन्दै हाँस्छ कधोज।

शब्दको आविष्करणले मानिसमा द्वन्दको कथा रचेको छ। संसारको भौतिकी र अमूर्त्तताको सञ्चालनमा शब्द र त्यसको अर्थको भूमिका बढो सत्य छ। अकाट्य पनि। विश्वमा नाचेको भ्रम शब्दका अय्यारहरुको खेती भो। स्वरुप मानिसको लिएको तर भित्री विश्वास र आचरणहरुको विभिन्नता नै जटिल कथा यसैले, यहाँको।

मेरो अलिखित उपन्यासका तीन पात्रहरु जान्न चाहन्छन् मेरै लेखनीको उद्देश्य। लेख्नुको उद्देश्य कति ठूलो हुनसक्छ र? आफूभित्र बाँच्ने कुनै एउटा त्यस्तो जीवन्त चिज छ जो रुन्छ, हाँस्छ र नाच्छ पनि कहिले-काहीं। अनुभूतिको रस कतिपय परिवारमा, साथीभाइमा, शत्रुमा बाँडेर उब्रिएको बसिरहन्छ त्यहाँ। बोझ लाग्छ बोकिरहँदा आफैभित्र त्यो। लेखनीमा फुटेर झर्ने त्यही बोधको तरलता त होइन? कोही भन्छन् समाज, कोही प्रेम चिच्याउँछन् त कोही मानवता र ईश्वरत्व बखान्छन्। म वकालती र व्यवहारको फरक हेरेर अन्योलित बन्छु। एउटा सकारात्मक अस्तित्वमानताको आधार नै त्यसकै नकारात्मक अस्तितवमानताले जन्माएको सत्य देख्छौं। नजान्नु, नजानेर जानेको जस्तो गर्नु, एउटा जानेकोलाई सबै जानेको ठान्नु... भ्रमको ढडेनीमा एउटा जीवनको मस्तिष्क अपर्याप्त लाग्छ।

पक्कै, राजनीतिलाई लेखन बनाइयो केही वर्षअघि। प्रजातन्त्रको अवधारणागत हो कि सोंचेर लेखन। छापिएको धेरैवटामा केहीलाई लिएर कुरा झिकौं कि अहिले?

क. विलय विषयान्तर छापिएको १३ मार्च २०००को सुनचरीमा। सिक्किम-दार्जीलिङको विलयको बौद्धिक अवधारणाको जवाफ खोज्दै लेखियो। भूमिहरु कसैको थियो पनि, थिएन पनि। स्मृति र तर्कको सञ्जाल भ्रम कति बन्नसक्छ।.....भन्न खोजियो।
ख. क्रान्ति गर्ने र गराउनेहरु पनि सञ्चालित छन् भ्रमले नै। भ्रमको यो कार्यावधिमा कति खोक्रो देखिन्छ राजनीतिक पाटो? छायाँको जुलाई २००० अङ्कमा छापिएको अर्थात नसोधौं गीतहरुमा क्रान्तिलाईमा लेख्न खोजियो त्यही।
ग. लेखिएको सिक्किमेली अर्थतन्त्रका गहन विषमताहरु, भाग १ र भाग २ गरेर क्रमशः ३ जनवरी र २६ फरवरी २००१मा छापियो सुनचरीमै। सामाजिक सिक्किमको अर्थतान्त्रिक त्यान्द्राहरु केलाउने प्रयास भयो यी लेखनीहरुमा। शक्ति कुनैको ध्रुवीकरण हुन्छ कि हुँदैन- वरिपरिको यत्रतत्रलाई गर्दै प्रभावित पनि? भएको कुनै स्थितिलाई त्यस शक्तिको, मान्न सकिन्छ परिणाम? कि त्यहाँ पनि धागोहरु छन् अदृश्य, नाचिरहन कठपुतली?
घ. भाषिक अस्मिताको कारणले राजनीतिक अधिकारको सेरोफेरोमा पनि ठाँउ बनिनुपर्छ नेपालीको भन्दै लेखियो सीट आरक्षणको मधुमास। जो छापियो ३० नोभेम्बर २०००को सुनचरीमा।



‘यता बाहिर जाऔं लेखकज्यू, म केही देखाउँछु तिमीलाई’, भनिरहेको हुन्छ कधोज। साँच्चै त्यो घर जङ्गलको बीचमा रहेछ।

‘त्यो डाँडामा एउटा भित्ता देख्दैछौ?’ सोध्छ उ।

साँझको धमिलोलाई छेंडेर पनि आँखाहरु त्यहाँ उभिएको कालो पर्खालमा ठोक्किन पुग्छ। ‘देखें’ भनिदिन्छु।

‘तिम्रो चरमता त्यही पर्खाल हो’, आफ्नो कुटिलतालाई हाँसोमा अनुवाद गर्दै भन्छ कधोज, ‘कुनै लेखकले पनि नाघ्नसकेको छैन त्यसलाई। भोलि बिहान तिमीले पनि आफ्नो यात्रा शुरु गर्नेछौ, नाघ्नलाई त्यो पर्खाल।’

‘त्यहाँसम्म पुग्नअघि तिमीले पाँचवटा कविता लेख्नपर्नेछ, आफ्नै महाविश्वासको भर्त्सना गर्दै’, थप्छ चारदले, ‘अनि फर्किनसक्नेछौ तिमी तिम्रो घर।’

‘नत्र हामी एन्काउन्टर गर्नेछौ तिम्रो’, सुन्छु स्वर भादासको पनि।

बढो अनौठो लाग्छ मलाई परिस्थिति त्यो। तर डर पट्टकै छैन मनमा। सोध्छु बरु एउटा जिज्ञासा, ‘नाघ्नसकें भने नी त्यो पर्खाल?’

‘आफ्नो घर फर्किन सक्नेछैनौ कहिल्यै तिमी’, उत्तर निर्धक्क छ कधोजको।

को त्यहाँ बाँच्न सकिने ठाउँ होला? फेरि आफैलाई सोधिरहेको हुन्छु म। उत्तर नपाउनुको अज्ञानता पिरोलिन्छु मनभरि।

‘अलिखित एउटा उपन्यासको इतिवृत्ति छ मस्तिष्कमा मेरो’, बोल्छु, ‘त्यसैभित्रबाट तानिएका तीन कुटिल पात्रहरु मात्र हौ तिमीहरु। हरेकको प्रोफाइल कोरेको छु मैले।’

‘के भो त अनि?’ भादास पड्किन्छ, ‘हामी तिम्रो उपन्यासबाट निस्काषित छौं, बुझ्यौ?’

ज्ञानको ठूलो-सानो पोकोले अल्मलिने प्रक्रिया पनि ठूलो-सानै, हरे! गहिरो हाँस्न मनपर्छ र हाँसिदिन्छु पनि भन्दै, ‘आफ्नो हात-खुट्टा र शरीरमा हेर नियालेर। नदेख्दा छामिहेर पनि।’

केहीक्षण रोकिएर फेरि थप्छु, ‘आफैलाई मात्र होइन, अरुलाई पनि हेर। मेरो यो कलमलाई पनि हेर। खेलको पदक्षेप दर्शक बिना पनि छ, मुख्य अतिथि र सभापति बिना पनि छ। आऊ..... नाचौं राजनीति, नाचौं कथा, नाचिरहौं द्वन्दको स्वाङ।’

उनीहरु अलमल्ल पर्छन्।
म कोठाभित्र पसेर बिहानको प्रतीक्षा गर्न लाग्छु।।


साभार: ऋतुखेल (२००९)