Wednesday, April 20, 2011

आत्मदंश

आँगनमा बसेर तीर्थमायाले नाङ्लोमा मकै छोडाउन लागेकी थिई। बलबहादुर घरभित्रबाट काखीमा छाता च्यापेर कमेजको बटन मार्दै निस्क्यो।

‘अन्त…जाने नै?’
तीर्थमायाको त्यस प्रश्नको उत्तर नदिई बलबहादुरले हतियार उद्याउने ढुङ्गामा खुट्टा टेकाएर पेन्टको मोहोरी दुइ-तीन फेरा उँभो पल्टायो।

‘भरै केटाहरु स्कूलबाट आएपछि तल्लो गरामा मल ओसार्न लगाउ है। सकेभर म छिट्टै आउँछु’, भन्दै उ छाता टेक्दै घर उकालो लाग्यो।

‘फर्किन्दा नयाँबजार निस्केर बिद्देसागरकोबाट दुइ-तीन सेर पिठो पनि लेउँदै आऊ है’, भन्ने तीर्थमायाको आग्रहलाई पनि त्यति वास्तै नगरेजस्तो उसलाई गइरहेकै देखियो। तर घरमाथि गाडिएको त्यो अग्लो बाँस जहाँ उसको प्यारो पार्टीको झण्डा फर्फराइरहेको थियो- को छेउमा केहीक्षण गर्वले उभिनु चाहिँ बिर्सेन र मनमनैमा, ‘झण्डा पनि नयाँ सिलाउने बेला भइसकेछ’ सोंच्दै बाटो लाग्यो।

प्रिय पाठक, तपाईंलाई बलबहादुर कहाँ जाँदैछ भन्ने जिज्ञासा होला? अब तपाईंको उत्सुकतालाई यो लेखन्तेले कसरी मार्न सक्छ र? भनिदिऊँ न त.....बलबहादुर अहिले वीरमानको भाषण सुन्न बजार झर्दैछ। वीरमान उनीहरुको विधायक हो र कुन्नि के-केको मान्त्री पनि हो, बलबहादुरले त्यति जान्दैन। वीरमानको भाषण भनेपछि बलबहादुर पहिल्यैदेखि हुरुक्क हुन्थ्यो। पहिलेको एकलकाँटे पार्टीलाई हराउनपर्दा पनि गाउँका केटाहरुसित उ रात-रातभर सडक-सडक हिंडेको थियो। भएन राँकेजुलुस अरे, हड्ताल अरे.....सबैतिरनै एउटा अपूर्व जोशसित कुदिहिंदेको थियो। त्यो जबरस्वाँठ पार्टीको शासनकालमा त्यसरी उखरमाउले कामहरु गर्नु पनि फलामको चिउरा चबाउनै बराबर थियो तर अरु आन्दोलनकारी युवकहरु जस्तै उ पनि रत्तिभर डराएन। पहिलो पार्टीको त्यस्तो जगजगी हुँदाहुणदै पनि उसले तीस फुट जति अग्लो बाँसमा अहिलेको पार्टीको झण्डा लगाएको थियो जसलाई उसले अझसम्म फुकालेको छैन चाहे त्यसको रङ्गनै किन निक्कै उडिसकेको नहोस्। एकपल्ट त मध्यराततिर पार्टीका मान्छेहरुसित उसको घरमा बास बस्न पनि आइपुगेको थियो वीरमान। त्यस्तो गरेरै अहिले उसको प्रिय पार्टीको शासन बहाली भएको हो। अब उ निर्धक्कसित हिंड्छ। घरमा आएका मान्छेहरुलाई पनि उसकोमा भएको पार्टीका पर्चाहरु बाँडिदिन्छ। उसको प्रिय पार्टीले जितेपछि वीरमान बोलेको सुन्न पाउने मौका यो प्रथमपल्ट हो बलबहादुरको निम्ति। उसलाई पार्टीका नयाँ-नयाँ कार्यक्रमहरु सुन्ने ठूलो इच्छा छ जसलाई उसले गाउँमा आएर धाकसित सुनाउन सकोस्।

विहान मान्छे ओसार्ने गाडी त पठाइएको थियो तर तल पात्तले अन्तरेकोमा सिरुको हिसाब मिलाएर फर्किँदा ढिलो भइहाल्यो बलबहादुरलाई। निक्कै पर्खेर हिंडेछन् अरुहरु चाहिँ। सडक उत्रेर तेर्सै लाग्यो बलबहादुर। पर.....रमितेडाँडा पुगेर उसले जोरथाङतिर फर्काई कान ठाडो पाऱ्यो। कताकता माइक बजेको सुनेपछि डाँडाघर ओह्रालोको चोरबाटो लाग्यो उ। दस बजेतिर बलबहादुर जोरथाङ पुग्दा वीरमानको भाषण सुरु भइसकेको थियो। बजारको पूर्व भागमा स्थित खेलामैदानभरि एकत्रित भएका मान्छेको बगुन्द्रो जमातभित्र पसेर बलबहादुरले पनि एउटा ठाउँमा गत्ताको फ्याङ्ला बिछ्याइवरी आफ्नो ठाउँ सुरक्षित बनायो र भाषण सुन्न थाल्यो। मैदान सत्तारुढ पार्टीको झण्डा र तोरणले झिलिमिलि थियो...अनि बलबहादुर चाहिँ त्यत्रो मान्छेको जमात देखेर एकप्रकारको हर्ष र आत्मगौरवले आल्हादित बन्दै गएथ्यो।

सडकदेखि मुनि र मैदानदेखि माथि अलिकति उठेको खाली भागमा बढेमाको मञ्च तयार पारिएको भित्र सत्तारुढ पार्टीका मन्त्री र विधायकगण बसेका थिए। मञ्चको बाहिर-भित्र टाइसुट लगाएका रवाफिला व्यक्तित्वहरु ओहोरदोहोर गरिरहेका थिए भने मञ्चभित्र विद्यमान मन्त्री र विधायकहरुलाई चाहिं चियाचमेना घुमाउने नवयुवतीहरु पनि देखिन्थे।सडकको एकातिर चाहिँ तिनीहरुकै होला.......छानामा रातो बत्ती भएका सेता गाडीहरु लस्करै थिए। हो त.....बलबहादुरका आँखाहरुले ती दृश्यमान वस्तुहरु एउटैलाई पनि छोड्न हुँदैन है! नत्र उसले कसरी गाउँमा गएर ती विपक्षी पार्टीका साथीहरुलाई ती सब सुनाउनसक्छ? ‘वाह’, बलबहादुरले मनमनै सोंच्यो, ‘भाग्गे भन्नेले पनि मन्छेलाई काँदेखि काँ पुराइदिन्छ नि!’

‘जितेको महिना-दिन भएको छैन...सरकारी गाडीमा तरुणी घुमाउन थाल्यो, के गर्छ भाषण?’
एक्कासी छेवैमा बोलिएको उक्त वाक्यले बलबहादुरलाई नराम्रोगरी तर्सायो। उसले त्यो बोल्ने मान्छेको अनुहार ठिम्याउनलाई पछिल्तिर फर्केर हेऱ्यो पनि।

‘त्यस्तै हो। भोट माङ्नु आउँदा भिजेको बिरालो...अहिले भेट्नु जाऊ त चिन्दैन हौ चिन्दैन’। अर्को झन् डरलाग्दो बोलेको सुन्यो बलबहादुरले।

‘तेसपछि इनारुलाई यो लुगाहरु काँ फिट हुन्छ र? ...सप नयाँ सिलाउनुपर्छ।’

ग-ल-ल-ल। हँसाइको प्रवाहले मञ्चबाट प्रसारित भइरहेको भाषणलाई पनि जितेर लग्यो। बलबहादुरले कान थुन्न चाह्यो तर सकेन। अन्ततः उ एउटा आन्दोलित मन लिएर त्यहाँबाट अर्को ठाउँमा सऱ्यो तर त्यहाँ पनि त्यस्तै टिप्पणीहरु मात्र सुनेपछि भाषणको क्रम पूरा नभईनै बलबहादुरले बजारको चिया-दोकानमा गएर एक गिलास चिया पियो.....तर त्यसले पनि उसको खिन्नतालाई पटक्कै पखाल्न सकेन।

‘देश चल्नुलाई नेताको मात्तै हात हुँदैन तर एउटा काम बिग्रिँदा जनताले उसैलाईनै सप्पै कुराको दोषी किन मान्छ?’...दिलाशाका ती व्यर्थ कुराहरु सोंच्दै बलबहादुर सरासर घरतिर लाग्यो। अनि त्यही मानसिक उथलपुथलले गर्दानै नयाँबजार विद्यासागरकोबाट पिठो किन्न पनि बिर्सेर उ साँझ नपर्दै घर पुग्यो। पिठो विषय लिएर तीर्थमायाले गरेकी मधुर गनगनतिर त्यति ध्यान दिन पनि सकेन बलबहादुरले।

त्यो बेलुकी बलबहादुरले सधैँकोभन्दा निक्कै कम्सल खाएर सुतेको घरकाहरुले थाहा गरे।

बलबहादुर र तीर्थमायाका ६जना मन्तानहरु भएकामा जेठाले आठ पढिसक्दै बुहारी भित्राएपछि घरमै छन्...र अरु ३जना छोराहरु र २जना छोरीहरु चाहिँ स्कूल जान्छन्। घरमा बस्ने जेठा छोरा र बुहारी त दिनभरिनै बारीमा खटिन्छन् भने स्कूल जानअघि र फर्किएपछि अरुहरु पनि त्यही बारीमै पुग्नपर्छ। कान्छीलाई मात्र घरमा आमालाई सगाउन भनी छुट छ। बलबहादुरको सम्पूर्ण आयश्रोत त्यही पाखुरीमै निर्भर परेको हुँदा र जहान पनि ठूलो भएकोले गर्दा घर चलाउन गाह्रै छ...तर कर्खनले गर्दानै दुइ छाक खान र एकसरो फेर्न चाहिँ धौधौ छैन।

त्यसरी धेरै दिनहरु बितेर गए।

‘औ, पञ्चेतले भनेको एस्तो भिरालो बारीमा त देवल लाउने पैसा दिन्छ अरे त सरकारले? एमेलेको सिफारिश मात्तै चाहिन्छ अरे। भयो भने यो आइतबार झरन है बजार...एमेले आउँछ अरे त’, एकदिन तीर्थमायाले भनी।
त्यो कुरा बलबहादुरलाई पनि थाहा थियो। तर उ केही बोलेन त्यसबेला। आइतबार आउनलाई अझै निक्कै दिन बित्नपर्ने थियो। त्यसको भोलि पनि त्यतिकै बित्यो तर पर्सी बेलुकी भने बलबहादुरले छोरो जेठालाई अर्तीपत्र धस्काउन लगाइवरी पञ्चातकोमा गएर सिफारिश पनि लेखन लगायो। अनि आइतबार विहानै सब्जीको भारीसित बाबु-छोरा बजार झरे। छोरोलाई सब्जीलाइनमा छोडिराखेर उ सधैँ विधायक आएर बस्ने दोकानमा गयो। बाहिर रोकिराखेको सेतो गाडी विधायककै हो भन्ने चिनेपछि उ दोकानभित्र पस्यो...त्यहाँ उसका चम्चेहरु र भेट्नआउनेहरुको भीड थियो।

‘तपाईंहरुले आज भेट्नु पाउँदैन एमेले सा’पलाई’, निक्कै पर्खिसक्दा भोटअघि खिनौरे र विनम्र देखिने अनि भोट सकेपछि चाहिँ बलियो-बाँका र घमण्डी भएको एकजना चम्चेले बाहिर आएर भन्यो, ‘अब...अर्को आइतबार आउनुस्।’
हँ? छक्कै पऱ्यो बलबहादुर। मान्छेहरुले भनेको ठीकै हो कि क्या हो? त्यत्रो दुःख गरेर, भोट लाएर जिताएर, गाउँको साधारण मान्छेलाई विधायक बनाएर.......भेट्न नपाउनु? यस्तो त कहिल्यै सोंचेको थिएन बलबहादुरले। हन...मुख पड्काएजस्तै केही गरेर पो देखाइदिन्छ कि भनेर सोंचेको त के हो यस्तो? बलबहादुरलाई आफ्नो अघिको स्तितिको विश्वास गर्न निक्कै गाह्रो पऱ्यो...तर आफूलाई सक्दो नियन्त्रण गरेर उ भीड्बाट पन्छिँदै बाहिर आयो।
‘तपाईंको चाहिं के काम थियो?’ बाहिर एउटा बूढोले उसलाई सोध्यो।

‘एउटा सिफारिश लिनु थियो’, बलबहादुरले भन्यो, ‘...खासमा चाहिं एमेले सापले के गर्दैछ हौ?’
त्यो बूढोले स्वर अलिक मसिनो पारेर भन्यो, ‘तास खेल्दैछ अरे हौ! जनताले जिताएपछि त्यही जनताको काम गर्न छोडेर हेरन पलापिएको। म त दुअपल्ट आइसकें अगि पनि...खै भेट्नु पाए पो!’

बलबहादुरले अरु केही सुन्न नसकेर त्यहाँबाट छोराले सब्जी बेच्दै गरेको ठाउँमा आयो। त्यो दिन सौदा गरिसकेर छोरालाई बोकाइपठाएपछि बलबहादुरले नयाँबजार कच्चा-गड्डीमा गई दुइ बोतल रक्सी ठाडोघाँटी लगायो। फेरि.....लड्दै-पड्दै उ आधाराततिर मात्र घर पुग्दा तीर्थमाया चाहिँ जागै बसेर उसलाईनै पर्खिरहेकी थिई।

अर्को आइतबार फेरि सब्जीको भारी बोकेर बजार झर्दा बलबहादुरले सुन्यो- उनीहरुको विधायकले कान्छी बिहा गऱ्यो भनेर। केटी चाहीँ सधैँ उसितै गाडीमा हिंडिरहनेनै हो अरे, जेठी स्वास्नी र नानीहरुलाई चाहिँ अलग्गै राखेर खर्च ठेल्ने भयो अरे.....इत्यादिहरु। त्यसपछि त धेरैवटा आइतबारहरुमा उसले छोरोलाई मात्र सब्जीको भारी बोकाएर पठायो र उ भने घरमै झोक्राएर बसिरह्यो। यसबीच छोरोले नै उसलाई विधायकले नयाँ गाडी किनेको कुरा सुनायो। त्यहीं कतै बिल्डिङ बनाउन सुरु गरेको कुरा पनि सुनायो। त्यही सूचनाहरुसितै वीरमानमाथि आश्रित बलबहादुरका तमाम आस्था र श्रद्धाहरु पनि छर्ल्याम-छुर्लुम फुटेर गए। वस्तुतः पुराना धारणाहरु सबै ढले...नयाँ केही उम्रिए- ‘समाज र व्यक्तिको आवश्यकता एवं सर्वाङ्गीन विकासको निम्तिनै यो सत्ता, यो प्रशासन स्थापित गरियो होला? यसैले जनसमूहको बहुमतलाई स्वीकारेर जनप्रतिनिधिहरु सत्तासिन गराइन्छन्। त्यही जनसमूहको प्रत्येक भोटमा अनेक सपना र आस्थाहरु आश्रित हुन्छन्। तर...जुन समाज प्रवृत्तिलेनै भाँडिएको छ, के त्यसबाट छानिएका जनप्रतिनिधिहरुबाट सही काम नहुनेनै हो त? परिवर्तनको अर्थ पनि त्यही पुरानै बिंडोलाई काँध हाल्नु भनेको हो भने यहाँ यस्ता भँडुवा नेताका व्यर्थका नीतिसित भावनात्मक सम्बन्ध किन राख्नु? हेर.....कति निर्लज्जतासित यहाँ जनताका भावनाहरुसित मुसा-बिरालोको खेल खेलिन्छ! त्यसो त त्यागबिना, निस्वार्थ सेवाबिना र दुरदर्शिताबिना...यो हाम्रो समाजको रुप बद्लिन कहिल्यै सक्ने होइन। साँच्चै.....संस्कार भन्ने कुरो पनि मान्छेको व्यक्तित्वभित्र समाहित रहेको हुनु कति आवश्यक छ.....’ इत्यादि-इत्यादि।

त्यसपछि त...झनै उदास रहन थाल्यो बलबहादुर।
एक साँझ.....बलबहादुरले चारैजना छोराहरुलाई बोलाएर परिश्रम र इमान्दारिता माथि केही भन्न चाह्यो। राजनीति र समाजलाई बुझाउने कोशिस गऱ्यो। भिखारी होइन योद्धा हुनुपर्छ भन्ने कुरा बुझाउन चाह्यो तर केही अस्पष्ट शब्दहरु बाहेक उप्रान्त बोल्न सकेन। त्यही साँझ.....तल बारीको पुच्छरमा गएर खुब रोयो बलबहादुर।

फेरि एकदिन.....बलबहादुरले घरमाथिको सत्तारुढ पार्टीको झण्डा उठाइराख्ने त्यो अग्लो बाँस उखेलेर टुक्रा-टुक्रा पार्दै आँगनमा थुपाऱ्यो र घरभित्रबाट पार्टीका पर्चाहरु पनि सोहोरेर त्यहीं थुपाऱ्यो र...डडाइदियो।

प्रिय पाठक!
त्यस दिनदेखि यता उ कहिल्यै कुनै पनि आइतबार बजार झरेन। उसको जेठा छोरा मात्र भारी बोकेर हाटहरु धाइरह्यो। बलबहादुरले गाउँघरतिर घुम्न पनि छोड्यो.....बारीमा काम गर्न पनि छोड्यो। उ दिनभरि घरमै झोक्राइरहन्थ्यो। फलतः दुइ-तीन महिना पनि नबित्दै बलबहादुर सुकेर सिट्ठा भयो र वर्षदिनभित्रमा त थला पनि परिहाल्यो। अस्पताल जान उ मानेन र डेढ वर्षको लामो अज्ञात रोग खपेपछि मृत्युसित पनि हाऱ्यो उ।।



निनादको निम्ति निनाद(२००१)बाट।।