Monday, April 25, 2011

रोटीको विडम्बना

विडम्बना एक

समय उसको यात्रामा लीन थियो।

केही बाँदरहरु धेरै बिरालोहरुका रोटी बाँट्ने प्रक्रियामा लागिपरेका थिए। तराजुका पल्लाहरुमा भएका रोटीहरु चोइटिँदै बाँदरहरुका मुख-मुखमा ठोसिएका दृश्यहरु हेर्नैमा मस्तराम थिए बिरालोहरु। एकदिन त रोटीका ती टुक्राहरु बराबर बाँटिएर तिनीहरुसम्म पनि पुग्नेनै छन् भन्ने आशा पनि धेरै-धेरै पुरानो थियो बिरालोहरुका। बिरालोहरु झुक्केका-झुक्केकै थिए तबसम्म।

धेरै-धेरै वर्षहरुपछि बिरालोहरुले बाँदरहुरको त्यो चालाकी बुझेछन् क्यारे ? त्यस दिनदेखि यता भने बिरालोहरुले बाँदरहुरमाथि विश्वास गर्नछाडे। तर बाँदरहरुसित के त्यस्तो जादु थियो कुन्नि ? कसरी हो कुन्नि, हरेक पाँच वर्षपछि देखापरेर बिरालोहरुलाई तराजु देखाई झक्काइछाड्थे र हरेकपल्टै रोटीका टुक्राहरु बिरालोहरुका हात-हातबाट फुत्केर बाँदरहरुकै मुखमा पुगेका हुन्थे।

यो निश्चित थियो कि बिरालोहरुले तराजुको लालचबाट निजात नपाएसम्म बाँदरहरुको रजाईं रहिरहनेछ।


विडम्बना दुइ

खरेडी अति भयानक थियो। यसैले जङ्गलमा पनि हरियाली थिएन। तरै पनि मान्छेको बारीमा चाहिँ गहुँ हरियै उम्रिएको थियो अनि वर्षौंअघि झैं रोटी खानपाउने कल्पनाले आच्छादित थिए उनीहरुको मन।

हरेक पाँच वर्षको अन्तरालपछि त्यो बस्तीमा एउटा गधा जङ्गलबाट निस्किआएऱ राजा बनाइदिने आग्रह गर्थ्थो मान्छेहरुसित।

मान्छेहरुले पनि उनीहरुको गहुँबारीमा नचरिदिने वाचा गराएर गधालाई राजा स्वीकार्थे र त्यो साल भने मनग्गे रोटी खानपाउने आशा साँच्थे। तर हिजका दिनहरुमा झैं कताबाट हो एउटा बाघ गर्जिँदै आएर मान्छेका गहुँबारीमा निर्धक्क चरिदिन्थ्यो। मान्छेहरु घरका झ्याल-ढोका थुनेर अचम्भ मान्दै बाघले गहुँ चरेको हेरिरहन्थे र आजसम्मै हेरिरहेछन्। उनीहरु बाघसित रिसाउँथे तर गधासित खुशी हुन्थे। अनि उहिले-उहिलेदेखिनै बाघको खोलभित्र त्यो गधा हाँसिरहन्छ। फगतः हाँसिरहन्छ।

कठै, मान्छेहरुले त्यो गधालाई चिनेर कहिले दण्ड दिने हो ?

निनादको निम्ति निनादबाट

No comments:

Post a Comment