Tuesday, May 3, 2011

प्रगमन

क्रन्दनहरुझैं निरीह थिए ती आवाजहरु।.....क्रमशः पोख्खिँदै, क्रमशः छरिइँदै अनि क्रमशः फिजिइँदै वरिपरिभरि, एउटा जुलुसको पदयात्रा हिंडिरहेको कहीं। एउटा चौराहमा त्यो आवाजको अदृश्य जुलुसलाई छेकेर केही नरभक्षीहरु उभिए। मुखबाट लगातार बगिरहेको रगतलाई खस्रो जिब्रोले चाट्दै त्यो आवाजको अदृश्य जुलुसलाई नरभक्षी नायकेले सम्बोधन गऱ्यो, ‘आकारमा आओ पाजीहरु!’

अकस्मात आवाज शान्त भयो अनि भयपूर्ण चकमन्नता छायो। धुवाँको एउटा बादल उठेर छरियो अनि छाँटिइदै गएपछि एउटा भयातुर जमात दृष्टिगोचर भयो। तिनीहरु घावै-घाउले भरिएका, हड्डी र छाला मात्र भएका, लुब्धा-नाङ्गा आकृतिहरु थिए जसलाई ‘मानिस’ भनिन्थ्यो। तिनीहरु सबैका आँखाहरु बन्द थिए अनि सीरहरु पनि झुकेका थिए। त्यो अदृश्य रहेर आवाज निकाल्नसक्ने मानिसहरुको चमत्कारी-शक्ति देखेर नरभक्षीहरु पनि हतप्रभ थिए। तत्क्षण नरभक्षीहरुका आँखाहरुले दन्किँदो आगो उगेल्न थाले। नरभक्षीहरुद्वारा गरिएका बर्बरता र क्रूरताहरुले हर्दम सताइएका मानिसहरुमा एउटा अन्जान डर निहित थियो...भनौं वस्तुतः मानिसहरुले डरको जीवनलाई बाँचिरहेका थिए। तथापि मानिसहरुले त्यति चमत्कार गर्न जानेका भए तापनि त्यो चौराहसम्मको पदयात्रा कहिल्यै गरेका थिएनन्.....झन् त्यस्तो विद्रोहको जुलुस उठाउनु त नसोंचिएको विषयनै थियो।

‘हे लुब्धाहरु, यो कुन अनर्थको पछि लागिरहेछौ?’...एक पाइला अघि सरेर प्रश्न गऱ्यो नरभक्षी-नायकेले।

मानिसहरु जड भए। पुनः तिनीहरुका घाउहरुबाट रगत बहनथाल्यो। रगतको दुर्गन्धले हावालाई पनि प्रदुषित पाऱ्यो...र त्यो प्रदुषित हावालाई सुँघेर खुशी भए नरभक्षीहरु। मानिसहरुका घाउहरुबाट जति रगत बहँदै गयो त्यतिनै तिनीहरुका घाउहरु पनि बढ्दै गए.....अनि नरभक्षीहरु बहेका ती रगत चाट्नलाई ठेल्लमठेल परे। हिज...कुनै दिन, जब पृथ्वीमा मानिसको राज थियो तब नरभक्षीहरुका अपराधहरु माफ भएका थिए...तर अहिले उनीहरुको राजमा त्यस्तो कुनै सम्भावना थिएन।

अन्ततः लुब्धा अनि घाउटे मानिसहरुको त्यो विद्रोही तर तुच्छ जमातलाई नरभक्षी-सम्राटअघि उभ्याइए। अति भव्य थियो त्यो महल.....मानिसहरुकै हाड, रगत र मासुले निर्मित थियो त्यो महल। मानिसहरुको स्मृतिमा हुनसक्छ त्यो बर्बरता, क्रूरता र शोषणका अमेट छापहरु दुःख्ने गरी बिझ्दा हुन् तर तिनीहरुमा आवाजको विलोपन-गाथा पनि प्राचीन नै हो। एकाधले बोलेका थिए विद्रोहका आवाजहरु.....फगतः शारीरिक मृत्यु मर्न बाध्य बनेका थिए। विद्रोहको एउटा आवाज बोलेर शारीरिक मृत्यु मर्नु त ठूलै कुरो थियो...इतिहासमा पनि नाम लेखिन्थ्यो। तर आजका मानिसहरुले इतिहासनै पढ्दैनन् यसैले ती महान आत्माहरुलाई पनि चिन्दैनन्। रुढ मानसिकताले विकलाङ्ग छन् आजका मानिसहरु। त्यसैले निरन्तर एउटा मानसिक मृत्युलाई बाँच्दैछन् पनि। त्यसबेला त मानिसहरु निश्चयनै बहुसङ्ख्यक थिए...आज कति अल्पसङ्ख्यक भइसके!

महलमा...नरभक्षी-सम्राटको शयनकक्ष बाहेक अन्य तमाम कक्षहरुमा धातुका ठूल्ठला पिपाहरु राखिएका छन् जहाँ मानिसका रगत टम्म भरिएको छ। नरभक्षी-सम्राटले मानिसहरुको अदृश्य रहनु भन्दा पनि बढी आवाज निकाल्नुलाई बतायो। दण्डको रुपमा त्यसले मानिसहरुलाई हाँस्न लगायो। त्यसले जान्दथ्यो कि मानिसहरुले हाँस्न बिर्सिसकेका छन्.....यसैले बिर्सिसकेको वा कहिल्यै नगरेको कुरो गर्न तिनीहरुले मानसिक प्रताडना भोग्नैपर्छ। मानिसहरुलाई मानसिक प्रताडना दिएर तिनीहरुका दयनीयता हेर्नु पनि नरभक्षीहरुको मनोरञ्जनकै बहाना थियो। अनि मानिसहरुले तिनीहरुको आज्ञा पालन गर्नैपर्छ किनकि तिनीहरु मानसिक रुपले नरभक्षीहरुका वशमा थिए। तर ‘हाँस्नु’ जस्तो जटिल दण्ड निभाउन कठिन मात्र होइन तर असम्भवनै थियो मानिसहरुको निम्ति।

‘हाँस’- नरभक्षी-सम्राटको भयानक आवाज उच्चियो।

तर मानिसहरु पटक्क हाँस्नसकेनन्। हाँस्ने प्रयासमा तिनीहरुका आँखाबाट आँसु निचोरिएर बगे। अनुहारभरि विभिन्न प्रकारका रेखाहरु अङ्कित भए.....तर अहँ हाणस्न भने पटक्कै सकेनन्।

‘हाँस.....सम्पूर्ण हाँस!’

मानिसहरुका भग्न अवस्था हेरेर नरभक्षी-सम्राट खुब खुशी भयो। त्यसको भयावह अट्टहासले व्याप्त त्यो कक्षमा मानिसहरु एक अंश पनि हाँस्न नसकेर बरु रोइरहेका थिए। आजसम्मको त्यो मृत्युसदृश बचाइमा मानिसहरुले पीडाको अनुभूतिलाई पनि बिर्सिसकेका थिए...तर आज भने तिनीहरुमा त्यसलाई अनुभूत गर्नसक्ने क्षमता पनि बाँचेको त्यो सत्य कतै लुक्नसकेन। तथापि नरभक्षीहरुले त्यसलाई थाहा पाउन सकेनन् किनकि यसघडी तिनीहरु हाँस्नमै तल्लिन थिए। फलतः रुनुको त्यस अनन्त प्रक्रियाले मानिसहरुका आँखाका आँसु पनि सिद्धिए.....र त्यपछि रगत बहन सुरु भयो। अनि ती लाचार नरभक्षीहरुले चाहिं त्यही रगत चाट्न थाले। तर मानिसका रगत त कहिले हो रङ्गहीन र स्वादहीन भइसकेको थियो। अनैतिकता, स्वार्थता, लोभ, ईर्ष्या र भौतिक मनोरञ्जनका तत्वहरुमा फिटिएर मानिसले आफ्नो मौलिक रगतलाई गुमाएका हुन्। वस्तुतः मानिसहरु जीवनका तमाम स्पर्शबाट पलायन हुँदै गए अनि लम्पसार परे...र तिनीहरुका ज्योतिहीन आँखाहरु बन्द भए। नरभक्षीहरुका बेपर्वाह अट्टहास मात्र चुलिँदै गए त्यहाँभरि।

बस् अचानक...त्यही प्रक्रियामा ती नरभक्षीहरुका दाह्राहरु, सीङहरु, नङ्ग्राहरु भुईंभरि खस्दै गए। अनि.....जब तिनीहरुका आवाज पनि अचानकनै रुवाइमा परिणत भए, तिनीहरु झस्किए र एकार्काप्रति हेराहेर गर्नलागे। अनि.....तिनीहरु पनि त्यसबेला त फगतः लुब्धा मानिसहरुस झैं देखापरे...अति दयनीय र अति निरीह पनि! अब यहाँ यो प्रमाणित हुन्छ कि संसारमा मानिसहरु अल्पसङ्ख्यक भएको कारण तिनीहरुको नाश भएर होइन.....तर आफ्नो मौज, लोभ र स्वार्थसिद्धिको निम्ति नरभक्षीहरुमा परिणत हुँदै गइरहेछन्। मानिसहरुले दया, धर्म, प्रेम र कर्तव्य जस्ता अमूल्य निधिहरु केवल पैसासित साटिसकेका छन्। अनि.....नरभक्षी बनिसकेपछि तिनीहरु सत्ता र शक्ति-सञ्चालनतिर उन्मुख बनेका छन्।

भईँभरि छरिएका नरभक्षीका नक्कली वस्तुहरु पुनः धारण गरेपश्चात तिनीहरु पुनः नरभक्षीहरुझैं देखिए।

‘यिनीहरु कसैको आँखामा दृष्टि-शक्ति त बाँचेको छैन?’

तिनीहरुको असली रुपको रहस्य मानिसहरुमा खुल्यो कि भन्ने त्रासले सशङ्कित भएर नरभक्षी-सम्राटले मानिसका आँखामा दृष्टि-शक्ति खोज्ने आज्ञा दियो। नरभक्षी सेवकहरुले आशा बमोजिम मानिसहरुलाई ओल्टाइ-पल्टाइ हेरे। एकाध मानिसहरुका आँखाहरुमा एकांश ज्योति थियो र...तिनीहरुका आँखाहरुबाट रगतको बहाइ पनि रोकिएको थिएन। त्यसैले तिनीहरुलाई नरभक्षी-सम्राट सम्मुख उभ्याइए।

‘जीवन भनेको के हो?’.....नरभक्षी-सम्राटले सोध्यो।
‘शताब्दीअघि बाँचेका थियौं। दशकौंअघि कथा सुनेका थियौं...त्यसको।’

मानिसको मुखबाट निस्केको आवाज सुनेर नरभक्षी-सम्राट चनाखो/आशङ्कित भयो.....र भन्यो, ‘यिनीहरुले सम्पूर्णरुपमा आवाज गुमाएको छैनन्। जीवनको स्मृति अझसम्म पनि बोकिराखेका रहेछन्।’

नरभक्षी-सेवकहरुबीच निस्तब्धता छायो। आश्चर्य पोतियो। तिनीहरुले आजसम्म कायम राखेको प्रभुसत्ता मानिसहरुको ‘जीवन’सम्मुख खतरामा जाकिनसक्छ। यसैले आफ्नो सत्तालाई हरतरहले बचाइराख्न मानिसहरुबाट ‘जीवन’को आग्रहलाई समाप्त गर्नैपर्छ- यो कुरा तिनीहरुले जान्दछन्। यहाँ... जीवन भन्नाले सास फेर्नु र चल्मलाउनु मात्र नबुझेर आफ्नो अस्तित्वको सही पहिचान र त्यसका मूल्यहरुको लागि कार्य अनि सङ्घर्ष गर्नुलाई बुझ्न पर्दछ।

‘हाम्रो परिचय जान्दछौ?’- प्रश्न।
‘तिमीहरु?.....तिमीहरु मानिसबाट झरेका भक्षकहरु हौ। कुशल प्रशासकहरु त पटक्कै होइनौ।’

मानिसहरुमा विद्रोहको भावना सम्पूर्णरुपले नसिद्धिएको तथ्य असहनीय भयो नरभक्षीहरुलाई। अन्ततः नरभक्षी-सम्राटले मानिसहरुको चेतनाको माप लिने विचार गऱ्यो....तर आफ्नो उत्तेजनालाई दबाएर जिज्ञासालाई प्राधान्य दिँदै।

‘आजको यो अदृश्य जुलुसलाई के अर्थ्याउनु त.....?’
‘हामी युद्धरत छौं।’
‘मृत्युमा पनि?’

मानिसहरु केही बोलेनन्। तिनीहरुलाई यो डर भयो कि कतै तिनीहरुको पोल खुल्यो भने खतरा अझै बढनसक्छ। अर्कोतिर...नरभक्षी-सम्राटलाई पनि मानिसको चेतना-शक्ति उनीहरुको ताजसत्ता र नश्लप्रति खतराजनक लाग्यो। त्यसको मनमा चिन्ता बास बस्यो। तर मानिसहरुले जे-जति बोलिरहेका थिए.....केवल तन्द्रावश बोलिरहेका थिए जसको बोध तिनीहरुको चेतनामा कतै थिएन।

‘लौ यो सिंहासन तिमीहरुको हातमा सुम्पियौं!’- त्यसो भन्दै गर्दा नरभ्7-सम्राटका आँखाहरु चम्किरहेका थिए।

मानिसहरु ट्वाल्ल परे। सिंहासन र प्रशासन जस्ता कुराहरु तिनीहरुको निम्ति अन्जान जिसाहरुझैं थिए। निर्बल मानिसहरुले तिनीहरुका चेतनामा बल गरे..... तर तिनीहरुले कुनै त्यस्तो बोधनै गर्नसकेनन् जहाँ उनीहरुको अवस्थाले परिवर्तनको मुलुक देक्नसकोस्। त्यो थाहा पाएर नरभक्षी-सम्राटले अट्टहास गर्नथाल्यो...किनकि अब यो प्रमाणित भइसकेको थियो कि मानिसहरुको त्यो अबोधता नरभक्षीहरुको सिंहासन र प्रशासनको लागि बाधक थिएन। नरभक्षी-सम्राटको सिको गर्दै अरि नरभक्षीहरु पनि अट्टहास गर्न थाले।

तर.........अचानक-
‘नहाँस मूर्खहरु! मानिसको विनाशनै तँहरुको पनि विनाश हो’, अचानकनै त्यहाँ शून्यमा एउटा आवाज गिञ्जियो।

कक्षमा निस्तभ्दता व्याप्त भयो। नरभक्षीहरुले एकार्काप्रति हेराहेर गरे। मानिसहरुले त्यो आवाजनै तिनीहरुको आत्मा भनेर चिने.....तर आत्माले तिनीहरुसित सम्बन्ध विच्छेद गरेको शताब्दी बितिसकेको थियो। त्यही आत्माको स्मृरणमा तिनीहरुका आँखाहरुबाट रहलपहल रगत पनि चुहेर सकिए। अनि त्यसपछि त्यहाँ एउटा डरलाग्दो निस्तब्धता मात्र व्याप्तिँदै गयो।

मानिसहरुको विनाशले नरभक्षीहरुको पनि विनाश हुने कुरा नरभक्षी-सम्राटले बुझेन। एउटा द्विविधाबीचनै त्यसले त्यसका सेवकहरुलाई मानिसहरुभित्र बाँचेको रगत पनि निचोरेर निकाल्न अह्राएर बाहिर निस्क्यो। तिनीहरु बस्ने त्यो धरती अति बन्जर थियो....हरियाली र जीवन नभएको कहीं पनि। माटोमा पनि केवल रगतको आर्द्रता मात्र थियो। मानिसहरुको राज्यकालमा स्थापित सुन्दरता र हरियाली साँच्चै कहाँ हराए कुन्नि? आजसम्म नरभक्षीहरुको वर्चस्व र नश्लको रक्षा गर्नलाई अनेकौं मानिसहरु बली चढिसकेका छन्। नरभक्षीहरुको जीवनश्रोत नै मानिसहरुमाथि आश्रित भएको हुनाले तिनीहरुको खात्मानै नरभक्षीहरु स्वयंको पनि सम्बन्धमा पनि खतरापूर्ण थियो।

नरभक्षी-सम्राट फर्केर पुनः महवभित्र प्रवेश गऱ्यो। सबै मानिसहरु निश्चल लडिरहेका थिए।

‘मानिसहरुको शरीरमा अब एक थोपा पनि रगत बाँकी रहेन’- रिपोर्ट सुनाइयो।

मानिसहरुको शारीरिक मृत्यु अथवा तिनीहरुको विघटनले नरभक्षीहरुका जीवन र भविष्य अन्धकारमय थियो भन्ने कुरा अब बुझ्यो नरभक्षी-सम्राटले। अनि प्रतिफलको कल्पनाले थर्कमान भइउठ्यो त्यो। तिनीहरुको आफ्नो नश्ल, जीवन र सत्ताको रक्षार्थ मानिसहरुको नितान्त आवश्यकता थियो....जसको निम्ति मानिसहरुलाई जीवित राख्न र तिनीहरुको वंश वृद्धि गर्न पनि आवश्यक थियो।

अन्ततः मानिसहरुलाई तिनीहरुका बस्ती-बस्तीमा सुरक्षित पुऱ्याउने आदेश दियो त्यसले.....र तिनीहरुको उपचारको र सुरक्षाको पनि व्यवस्था गऱ्यो।




त्यसरी एउटा अनिश्चित काल बितेर गयो। मानिसहरुबाट फेरि-फेरि त्यस्तो विद्रोही जुलुस निकालिएको थाहा भएन। अनि जब नरभक्षीहरुको भण्डारमा रगत सिद्धियो तब नरभक्षी-सम्राटले आफ्ना सेवकहरुलाई मानिसहरुको बस्तीमा पठायो। तर नरभक्षी सेवकहरुले मानिसको बस्तीमा पुगेर पनि मात्र आफू सरह नरभक्षीहरु देखे.....जहाँ तिनीहरुको अट्टहास गुञ्जिँदै थिए। सम्भवतः पहिला त्यहाँ छाडिएका मानिसहरु पनि नरभक्षीहरुमा परिणत भइसकेका थिए। तिनीहरुले एकार्कालाई घरिघरि भोकाएका आँखाहरुले हेर्दथे अतः तिनीहरु आक्रामक रुपमा उभिरहेका थिए।

तब के मानिसहरु कहीं पनि रहेनन्?.....अनि अब नरभक्षीहरुले बाँच्नको निम्ति के उपाय खोज्नपर्ने हो? फगतः तिनीहरुले आफैलाई धिक्कारे?

ती अपरिचित नरभक्षीहरुलाई त्यहाँ देखेर त्यस बस्तीका नरभक्षीहरुका आँखाहरु चम्किए...अनि तत्क्षण तिनीहरुमाथि आक्रमण गरे। यसरी तिनीहरुले पनि आफ्नै महल निर्माण गरे। सिंसाहनको निम्ति कुटाकुट परे, अनि अन्तमा सधैँझैं सबैभन्दा बलवानले सबैलाई पछारेर जबरजस्ती सिंहासनमा बस्यो। त्यसको आज्ञाको विरोध र उल्ङ्घनगर्नेलाई नरभक्षीका नक्कली अङ्गहरु खोसेर निर्धो मानिसमै परिवर्तन गरिदिने झम्की दियो। सबै जराए सायद.....त्यसपछि सबै चुपचाप बसे, सन्तुष्ट बसे।

ती नरभक्षीहरुले धेरै वर्षसम्म मानिसका बस्ती खोजे तर कहीं भेट्टाएनन्। त्यसपछि तिनीहरुले पनि नरभक्षीहरुकै बस्ती-बस्तीमा आक्रमण गर्नथाले।।

No comments:

Post a Comment